भर्खरै :

‘मकै व्यापारी’ ले उठाएका प्रश्न

घुस खानु, अन्याय अत्याचार गर्नु, भ्रष्टाचार गर्नु ठूलाठालूको काम होला तर सामान्य नेपाली जनता स्वाभिमान र इज्जतका कारण भिख मागेर हिँड्दैनन् । उनीहरू दयालु र दानी स्वभावका हुन्छन् । उपत्यकामा माग्नेथाङ्ने र ‘बमभोल’ हरू अधिकांश भारतीय र रोहिंगिया मुसलमानहरू देखिएका छन् । यो कुरा नबुझी काठमाडौँ महानगरपालिकाद्वारा सार्वजनिक स्थलमा भिक्षा माग्न निषेध गरिएको सूचना जारी गरिएलगत्तै कतिले, ‘जनताले भिख माग्न नपाउने हो भने देशले पनि दाताको सम्मेलन गरीगरी भिख माग्न पाउँदैन’ भन्दै थिए । त्यसको पहिलो सिकार भने फुटपाथमा मकै पोलेर बेच्ने नेपालीहरू भए । तिनीहरूलाई लछारपछार पारेर उनीहरूको जो भएको सामान (मकै) खोसियो । उक्त कारुणिक घटनापछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको लोकप्रियता स्वाट्टै घटेको छ । नेपाल प्रहरीको घुस्याहा व्यवहार र ज्यादती पनि छताछुल्ल भएको छ । फुटपाथमा सामान बेच्ने चलन विश्वव्यापी भएको हुँदा, नेपालका गरिब दुःखीले फुटपाथमा सामान बेच्न नपाउने तर यहीँकै धनीमानीले फुटपाथ मिच्न पाउने चलन सह्य हुँदैन भन्ने कुराको बहस पनि सुरु हुन थालेको छ । ‘जनताले जीवननिर्वाहका लागि सडकमा सामान बेच्न नहुने कुरा त मानिएला, तर नेताले सदनमा बसेर एमसीसीमार्फत देशै बेच्ने कुरा कसरी मान्न सकिन्छ ?’ भन्ने जोडदार प्रश्न पनि सामान्य जनताले गर्न थालेका छन् । अझ कतिले त सामाजिक सञ्जालमा ‘गाउँमा बाँदरबाट जोगाउन नसकिएको मकै सहरमा बालेनबाट जोगाउन सकिएन’ भन्ने खालको आक्रोशसमेत पोखेका छन् । जनताका यी प्रश्न र आक्रोशलाई अस्वाभाविक पनि मान्न सकिँदैन ।
वास्तवमा सहरको शोभा बढाउनका लागि फुटपाथमा सामान बेच्ने र भिख माग्ने काम बन्द गर्नु नराम्रो होइन । तर, त्यसो गर्नुभन्दा पहिला तिनीहरूलाई सूचना दिने, सचेत गराउने र विकल्पको बन्दोबस्त गर्नेतर्फ योजना बनाउनु राम्रो हो । यो एउटामात्र काम होइन, अरू पनि छन् । अनि काठमाडौँ महानगरपालिका एक्लैले मात्र गर्ने पनि होइन । फोहोरमैला व्यवस्थापन, खानेपानी वितरण र हैजा नियन्त्रणका सन्दर्भमा उपत्यकाका सबै मेयर, प्रमुख जिल्ला अधिकारी र अन्य सरोकारवाला बसेर योजना बनाउनुपर्छ । यी कुराहरू उपत्यकामा व्यवस्थित भएपछि यसको सिको देशका अन्य स्थानीय सरकारले पनि गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *