भर्खरै :

सत्तासीन दलकै नेताहरूभित्र असन्तोषै असन्तोष

सत्तासीन दलका नेताहरू आफ्नै दलका नेता तथा कार्यकर्ताको घेरामा छन् । सरकारको नेतृत्व गरिरहेको दल नेकाका नेताहरू आफ्नै सरकारप्रति सन्तुष्ट छैनन् । नेकाको संस्थापन पक्षविरूद्ध असन्तुष्ट नेताहरूले देशभर रचनात्मक विरोधमा लाग्ने बताएका छन् । स्थानीय तहको निर्वाचनको टिकट वितरणमा आफ्नो पक्षलाई वेवास्ता गरिएको निष्कर्ष निकाल्दै नेकाका नेता शेखर कोइरालाको नेतृत्वमा छुट्टै भेलाको आयोजना गरिएको हो । नेकाको सरकारले जनजीविकाको विषयमा सम्बोधन गर्न नसकेको, जनतालाई राहत दिन सरकार असफल भएको, नीतिगत भ्रष्टाचारलाई बढावा दिएको, परराष्ट्र नीति राम्रोसँग चलाउन नसकेको, नेकाका सभापति गठबन्धनको सभापतिजस्तो बनेको आरोप असन्तुष्ट पक्षको हो । सारमा सभापति देउवाले पार्टी र सरकारको सञ्चालन गर्न असफल भएको उनीहरूको दाबी हो ।
गठबन्धनमा सामेल अर्को दल जसपा पनि फुटको सङ्घारमा छ । जसपाका नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराईको विचार मिलेका छैनन् । उनीहरू एकले अर्कोलाई कारबाही गर्न गृहकार्यमा जुटेका छन् । समझदारी राखेर नै पार्टी टुक्राउने कुरा पनि उनीहरू गर्छन् । उनीहरूको विवादबीच मन्त्री हेरफेर गर्ने कुरा पनि चर्चामा आएको छ । उपेन्द्र पक्षधर नेताहरू भट्टराईलाई पाखा लगाउने पक्षमा देखिन्छन् । भट्टराई पक्षका नेताहरूलाई मन्त्री पद दिएर आफूतिर तान्ने प्रयासमा यादव लागेको देखिन्छ । सारमा जसपा पनि सङ्कटमै देखिन्छ ।
एमालेबाट अलग भएको एकीकृत समाजवादीको हालत पनि त्यस्तै छ । मन्त्रीहरू हेरफेर गर्ने कुरा उठेदेखि एकीकृत समाजवादीभित्र खिचलो उठेको हो । समाजवादीका नेताहरू दोधारमा छन् । कति नेताहरूले अर्कै दलमा जाने धम्की दिन थालेका छन् । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्री पद छोड्नेबारे पनि चर्चामा आएको छ । पूर्व सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको आक्रोश अहिले पनि सेलाएको छैन । स्थानीय तहको निर्वाचनमा नेका र माओवादी केन्द्रबाट धोका पाएको बताउने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै दलका नेताहरूको असन्तोषको स्वरले अनुहार उज्यालो देखिँदैन ।
माओवादी केन्द्रभित्र पनि नेताहरू असन्तुष्ट छन् । अर्थमन्त्री जनार्दन शर्माको विरोध भइरहेको छ । सरकारले चित्त बुझ्ने गरी काम गर्न नसकेको उनीहरूको आरोप छ । यसरी सत्तासीन दलका नेताहरूको विरोध आफ्नै दलका नेताहरूले गरिरहेका छन् । नेपाली जनताको विरोध त छँदै छ । यसरी सरकारको विरोध बढ्नुको कारण सत्तासीन दलका नेताहरू दलगत र व्यक्तिगत स्वार्थमा केन्द्रित हुनु हो । ती नेताहरू देश र जनताप्रति समर्पित नभएको र जनतालाई राहत हुने कुनै काम गर्न नसकेको कारण विरोध बढेको हो ।

Leave a Reply

Your email address will not be published.