भर्खरै :

प्रचण्डको भारत भ्रमण : प्रचार र यथार्थ

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
(प्रचण्ड) २०७९ असार ३१ गते शुक्रबार भारत गए । उनका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्ड भारतीय जनता पार्टीद्वारा आयोजित ‘नेपाल–भारत सम्बन्धका विभिन्न आयाम’ विषयक कार्यक्रममा सहभागी हुन भारत गएका हुन् । उनका अनुसार करिब साढेदुई महिनाअघि नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले प्रचण्डलाई भारत भ्रमणको निम्ता दिएकाले प्रचण्डको यो भ्रमण पूर्वनिर्धारित हो । तर, उनकै पार्टीका कार्यकर्ताहरूले प्रचण्डको यो भ्रमणबारे पहिले जानकारी नभएको बताउँदै छन् ।
नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने दिन टाढा छैन । निर्वाचन आयोगले मंसिर २ गतेलाई निर्वाचनको मिति प्रस्ताव गरिसक्यो । सरकारद्वारा घोषणा हुनमात्रै बाँकी छ । यसकारण, निर्वाचनको पूर्वसन्ध्यामा भएको दाहालको भारत भ्रमण आशङ्काको घेराभित्र पर्नु स्वाभाविक हो । भ्रमणको चाँजोपाँजो मिलाउन प्रचण्डकी छोरी गङ्गा दाहाल तीन साताअघि नै दिल्ली पुगेको समाचार पनि प्रकाशित भयो । यसबाट प्रचण्डले आउँदो निर्वाचनमा जित्न भारतका शासकहरूलाई रिझाउन चाहेको पुष्टि हुन्छ । किनभने, नेपालका शासक दलहरूमा आफू बलियो हुन भारतको ‘आशीर्वाद’ पाउनुपर्छ भन्ने मानसिकता छ ।
प्रचण्ड दिल्ली पुगेपछि भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले, भाजपाका अध्यक्ष जेपी नडडसँग भेट गरे भने भारतीय प्रम मोदीले भेट्ने समय दिएनन् । भारतीय प्रम मोदीसँग भेट्ने चाहना पूरा नभएपछि प्रचण्ड निराश भएको समाचार छ । प्रचण्डको भारतीय अधिकारी तथा नेताहरूसँगको भेटघाटमा भारतस्थित नेपाली राजदूतावासका कुनै अधिकारीलाई पनि संलग्न गराइएन । नेपालका पूर्वराजदूत निलाम्बर आचार्यले दलका नेताहरूसँगको भेट पार्टी तहमा भएपनि सरकारी अधिकारीहरूसँगको भेटमा दूतावासका अधिकारीहरूलाई संलग्न नगराइनु गलत भएको टिप्पणी गरे ।
असार २६ गते आइतबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानछाओको नेतृत्वमा नेपालमा चिनियाँ टोलीको उच्चस्तरीय भ्रमण भयो । असार २७ गते सोमबार साँझ लिउले प्रचण्डसँगको भेटमा नेपालको आन्तरिक मामिलामा चीनबाट हस्तक्षेप नहुने र नेपालका सबै राजनीतिक दलसँग सुमधुर सम्बन्ध बनाउने उल्लेख गरेको समाचार छ । उनले नेपालमा चीनविरोधी गतिविधि हुन नदिन यहाँका राजनीतिक दलहरूले आफ्नो फैसला आफै गर्नुपर्ने उल्लेख गर्दै बेल्ट एन्ड रोड इनिसियटीभ (बीआरआई) लाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
चारदिने सो भ्रमण सकाएर बुधबार चिनियाँ टोली फर्केलगत्तै प्रचण्ड भारत भ्रमण जानु पूर्वनिर्धारित होइन बरु प्रायोजित भएको अनुमान गर्नेहरू पनि धेरै छन् । यहीबेला प्रधानमन्त्रीपत्नी आरजु राणा पनि भारतमै छिन् । उनी उपचार गर्ने निहुँमा असार २६ गते दिल्ली गएकी थिइन् । नेपाली दूतावासले शनिबार बिहान आयोजना गरेको ‘बे्रकफस्ट’ बैठकमा प्रचण्डसँग उनको भेट भयो । नेपालका पूर्वप्रधानमन्त्री प्रचण्ड र वर्तमान प्रधानमन्त्रीपत्नी एकैसाथ भारतमा पुग्नुले नेपाली जनतामा आशङ्का उब्जाएको छ । देउवापत्नी आरजु उपचारको निम्ति मात्र भारत गएकी होइनन् ।
प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएको बेला सन् २०१६ सेप्टेम्बर १५–१८ (विसं २०७३ भदौ ३० देखि असोज २) मा भारत भ्रमणमा गएका थिए । त्यसबेला प्रचण्डले भारतीय प्रम नरेन्द्र मोदीसँगको २५ बुँदे संयुक्त विज्ञप्तीमार्फत नेपालको सुरक्षा र परराष्ट्रनीति भारतको हातमा सुम्पेका थिए भने नेपाललाई भुटानको स्थितिमा पु¥याएका थिए । उक्त संयुक्त वक्तव्यको बुँदा ११ मा “संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा एक अर्कामा घनिष्ठ समन्वय गरी काम गर्ने र प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरूमा दुवै देशले समान धारणा राख्नेमा दुवै प्रधानमन्त्रीले विश्वास गर्दछन्” भन्ने उल्लेख छ । यसले नेपालको स्वनिर्णय गर्ने अधिकार कुण्ठित हुनुृका साथै नेपालको परराष्ट्र नीति कमजोर बन्न पुगेको थियो । मुखले जति नै क्रान्तिकारी कुरा गरेपनि अन्ततः प्रचण्ड भारतभक्त रहेको यो दृष्टान्तले पनि प्रमाणित गर्दछ ।
प्रचण्ड नेतृत्वको माओवादीले वि.सं २०५२ सालमा नेपालमा कथित जनयुद्ध छेड्दा भारतकै सहयोग लिएको घामजत्तिकै छर्लङ्ग छ । द्वन्द्वकालमा माओवादी नेताहरूलाई भारतले नै आश्रय दिएको र हतियार पठाएको थियो । ‘जनयुद्ध’ थालनी गरेको करिब ३ महिनापछि नै प्रचण्ड भारत छिरेका थिए । माओवादीका नेताहरूले सीमापारी सिलिगुडी, दिल्ली, गाजियावाद, नोयडा, पन्जाव, चेन्नई, देहरादुन, मुम्बई आदि स्थानहरूमा लगातार ८ वर्ष बिताए । प्रचण्डले आफ्ना दुइटा छोरीको बिहे जलपाइगुडी र जालन्धरमा गराए । छोरा प्रकाश पनि उतै हुर्केबढेका थिए । २०५३ असारदेखि २०६१ असारसम्मको करिब ८ वर्षमा माओवादीका केन्द्रीय स्तरका ठूला बैठक र भेला भारतीय सहरहरूमै भएका थिए । माओवादी विद्रोहको समर्थनमा पहिलो चोटी सबभन्दा ठूलो जुलुस ‘सोलिडारिटी फोरम टु सपोर्ट द पिपल्स वार इन नेपाल’ द्वारा २०५५ फागुन १ गते भारतको राजधानी दिल्लीमा निस्किएको थियो । यसबाट भारतीय विस्तारवादकै समर्थन र सहयोगमा नेपालमा माओवादी आन्दोलन चर्केको अनुमान गर्न सकिन्छ । प्रचण्ड र बाबुराम भट्टराईलगायत माओवादीका शीर्ष नेताहरू त्यसबेला भारतीय भूमिमै बसेका थिए । भारतस्थित हेडक्वार्टरको निर्देशनमा फिल्ड कमिसार, कमान्डर र छापामारहरूले नेपालमा ‘जनयुद्ध’ का गतिविधिहरू सञ्चालन गर्थे । यो कुरा सुधीर शर्माको ‘प्रयोगशाला’ पुस्तकमा स्पष्ट लेखिएको छ ।
माओवादीले ‘जनयुद्ध’ को थालनी गर्दा देउवा सरकारसमक्ष ४० बुँदे माग पेश गरेको थियो । जसमा भारतसँग गरिएका सन् १९५० को मैत्री सन्धि लगायतका असमान सन्धि सम्झौता खारेज गरिनुपर्ने, नेपाल–भारत खुला सीमा नियन्त्रण र व्यवस्थित गरिनुपर्ने, गोर्खा भर्ती केन्द्र बन्द गरिनुपर्ने, भारतीय कामदारलाई ‘वर्क परमिट’ लिएर मात्रै काममा लगाइनुपर्ने, छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिकाको आयातमा रोक लगाउनुपर्ने जस्ता विषय उल्लेख थिए । तर, व्यवहारमा माओवादीले यी विषयलाई कहिल्यै कार्यान्वयन गरेन । प्रचण्ड र बाबुराम भट्टराईकै नेतृत्वमा सरकार सञ्चालन भयो । तर, यी विषयबारे भारतीय पक्षसँग कहिल्यै छलफल गरिएन । यसकारण, कथित माओवादी द्वन्द्व भारतकै सहयोगमा भएको प्रस्ट हुन्छ । भारतीय संरक्षणमा सञ्चालन भएको माओवादी द्वन्द्वले नेपालमा जनमुखी परिणाम दिएन । प्रचण्ड, बाबुराम भट्टराई लगायतका माओवादी नेताहरूलाई सरकारमा पु¥यायो । परिणामस्वरूप देशको सार्वभौमिकता एक एक पाइला गरी विदेशीको हातमा पुग्दै छ । अहिले भएको प्रचण्डको भ्रमण पनि सत्ता स्वार्थकै निम्ति हो । सत्ता स्वार्थको निम्ति शासक दलका नेताहरूले देशको सार्वभौमिकतामाथि आघात पु¥याउँदै छन् । नेपाली जनता सचेत हुनु जरुरी छ ।
२०७९ साउन १ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *