भर्खरै :

‘लू’ देशभक्त नेपालीहरूको कथा

म जन्मेको हुर्केको भक्तपुरमा हो । मेरो परिश्रमस्थल पनि भक्तपुर नै हो । मलाई तराई विदेश जतिकै टाढा लाग्छ । तर, तराई मेरो देशको माटो हो । मेरो कमजोरी तराई र हिमालको आर्थिक, सामाजिक र सांस्कृतिक धरोहरहरूको जीवन्त अनुभव टीभीमा बाहेक अन्य कही गर्न सकेको छैन ।
मलाई सरल अनि वाक्यहरूको बनोट शिल्पले भरिपूर्ण आख्यानहरू मनपर्छ । ‘लू’ का वाक्यहरू उस्तै छन्, सरल, मिठास र अर्थपूर्ण । मलाई मुराकामी जति प्रिय लाग्छ, त्योभन्दा बढी प्रिय मलाई नयनराज पाण्डेको ‘लू’ लागेको छ । ‘लू’ उनको प्रथम आख्यान हो ।
मलाई ‘लू’ ले तराईको बासिन्दा बनाएको थियो । एक हप्ताको ‘लू’ को अध्ययनले केही हदसम्म भए पनि तराईसँग अन्तरङ्ग गर्न पाएँ । बाल्यकालमा सुस्ता, टनकपुर बाँध पुग्दा जति आघात महसुस गरेको थिएँ, मैले पुनः त्यही अनुभव गरेँ, ‘लू’ पढ्दा ।
‘लू’ ले सीमावर्ती क्षेत्रको हरेक सामाजिक, राजनीतिक, कूटनीतिक, आर्थिक, भौगोलिक समस्या चुनौती र अवसरको कथालाई राम्ररी समेटेको छ । उक्त पुस्तकले तमाम अल्पसङ्ख्यक नेपाली मुसलमान समुदायको कथा हो जो आफ्नै भूमिमा हरेक दिन पराया हुन परेको छ ।
‘लू’ ती सम्पूर्ण देशभक्त नेपालीहरूको कथा हो । जो आफ्नो बलबुत्तामा एसएसवी र सीमा रक्षाको लागि पर्खाल भई उभिएका छन् ।
‘लू’ नेपाली प्रशासन र राजनीति र क्षेत्रीय राजनीति गर्ने नेताहरूको कमजोरीको कथा हो, जसका कारण तराईमा बसोबास गर्ने नेपालीहरूको जीवनस्तरमा केही फरक पार्न सकेको छैन ।
‘लू’ ती नेपाली समाजको कथा हो, जो आफ्नो व्यक्तिगत दुश्मनी टाढा राखी परेको बेला एक आपसलाई सहयोग गर्ने गर्दछ ।
केही मुख्य लाग्ने पात्रहरूको सुकोमल प्रेमको कथा वरपर यी सब विषयहरू उठाउन सक्नु नयनराज पाण्डेको लेखनशक्तिको अद्भूत नमुना हो ।
काठमाडौँको प्युखा टोलमा जन्मिएका नयनराज पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रका पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने प्रसिद्ध उपन्यासकार हुन् । उनी विशेषरूपमा तराईका भुइँमान्छेहरूको कथा लेख्छ्न् । उलार, लू, घामकिरी र सल्लीपिर उपन्यास उनका चर्चित उपन्यासमा पर्दछन् भने निदाएँ जगदम्बा, खोरभित्रको जोकर र चकलेट नामक कथासङ्ग्रह पनि चर्चित छन् ।
(बुक क्लब भक्तपुरको आयोजनामा लेखक नयनराज पाण्डेसँगको अन्तरसंवादमा लेखकको चर्चित पुस्तक ‘लू’ बारे प्रस्तुत समीक्षाको अंश)

Leave a Reply

Your email address will not be published.