अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
पूर्वराजा महेन्द्रलाई ‘तानाशाह’ भनिन्छ र उनका क्रियाकलापहरूलाई लिएर कतिपयले अनेक निन्दा पनि गर्ने गर्छन् । उनले दलहरूमाथि प्रतिबन्ध लगाएर निरङ्कुश पञ्चायती व्यवस्था ल्याए । जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी जेल हाले । उनको शासनकालमा अनेक काण्डहरू भए । पञ्चायती व्यवस्थाको विरोध गर्ने थुप्रै देशभक्त नागरिकहरू मारिए इत्यादि । राजा महेन्द्र महत्वाकाङ्क्षी भएकाले उनले गर्न नहुने कामहरू गरे । जनताको राजनैतिक र मौलिक हकहरू खोसे ।
पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था ल्याइयो । त्यसले पनि काम दिइएन भन्दै अब विकासको बाधक राजतन्त्रलाई ठानियो । विकास, समृद्धि र सुशासनमा ‘क्रान्ति’ ल्याउने भनेर निर्धानिमुखा र सोझासिधी जनतालाई उकासेर ‘जनयुद्ध’ मार्फत हजारौँलाई मर्न बाध्य पारियो । अरबौँको भौतिक सम्पत्ति नष्ट गरियो । तर, व्यवस्था, नेता, सरकार जेसुकै फेर्दा पनि देशले आफ्नै खुट्टामा उभिएर विकास गर्न पाएन । आफ्नै माटोमा उब्जेको खान पाएन । गणतन्त्र र सङ्घीयतासँगै स्थानीय तह सक्रिय भएपछि त भ्रष्टाचारले देशका सबै अङ्गअङ्गमा यसरी आक्रमण ग¥यो कि ठूलै उपचारात्मक व्यवस्था नगरिएसम्म अब यसले देशलाई मृत्युको मुखमा नपु¥याई नछाड्ने देखिन्छ । यस्तै कुराको सन्दर्भ चल्दा एकजना बुद्धिजीवी भन्नुहुन्थ्यो, “बरु प्रशान्त महासागरको पानी उघाएर अर्कोतिर पोखाउन सकिएला, हाम्रो देशको भ्रष्टाचार निर्मूल पार्ने कुनै सम्भावना छैन ।” नभन्दै, सङ्घीयताले अनेक नवराजाहरूको सङ्ख्या ह्वात्तै बढाएका कारण देशको विकास खर्च ‘राजनीतिक खर्च’ मा खर्च हुन थालेको छ । नेतागणलाई उपलब्ध गराइने सेवा, सुविधा र तिनले बाँचेको विलासी जीवनशैलीले सीमा नाघेको छ ।
महाभारतमा युधिष्ठिरलाई यक्षले गरेको एउटा प्रश्न छ : ‘संसारमा आश्चर्य के हो ?’ उत्तरमा युधिष्ठिर भन्छन्, “दिनदिनै मानिसहरू मरिरहेका देखिन्छन् । तर, बाँकी मानिस लोभपापसहित बाँचिरहने इच्छा गर्छन् ! योभन्दा अर्को आश्चर्य छैन ।”
छिमेकी देश श्रीलङ्कामा नेतागणले निर्घात कुटाइ खाएको कुरा सामाजिक सञ्जालमा देखिएकै हो । अन्त्यमा ‘राष्ट्रपति निवास’ जनताले कब्जा गरेपछि राष्ट्रपति नै देश छाडेर भाग्नुपरेको कुरा पनि थाहा पाइएकै हो । तर, यो कुराले हाम्रा नेताका लाखौँ चेतना प्वालमध्ये एउटा छिद्र पनि खुलेको छैन ¤ उनीहरू झन्झन् धुन्धकारी शैलीमा आफ्नो सङ्ख्या र आफ्ना लागि सुविधा थप्ने ध्याउन्नमा आँखै नहेरी लागेका छन् ! जनता पनि ब्वाँसोले कन्याएको गाईजस्तो सन्चो मानेर चुपचापसँग नेताको सीमाहीन भ्रष्टाचार, मतिहीन क्रियाकलाप र गतिहीन व्यवहार आनन्दसँग हेर्नमै मग्न छन् । उनीहरूसँग विकल्प नै नभएजस्तो छ । सञ्चारमाध्यममा दिनदिनै भ्रष्टाचारका नयाँ–नयाँ र अझ डरलाग्दा कुराहरू प्रसारण–प्रकाशन हुन्छन् । तर, तिनलाई कुनै ‘खास’ मान्नुको साटो देशको दिनचर्याको रूपमा स्वीकारेर सामान्य ठानिन्छ ।
संसद्मा नेमकिपाका प्रेम सुवालको प्रतिनिधित्व छ । उहाँ हरेक बैठकमा सुरिलो स्वर, प्रस्ट विचार र निर्भीक शैलीमा देश र जनताको पक्षमा तर्क राख्नुहुन्छ । तर, ‘एक्लो बृहस्पति झूटा’ भनेझैँ एकजना असल व्यक्तिको असल विचारलाई खराबहरूको झुन्डले निस्तेज पारिदिएको अवस्था छ । हुन त अर्का सांसद भीम रावल पनि सांसद सुवालकै जसरी देश र जनताको पक्षमा कुरा राख्नुहुन्छ । तर, उहाँ स्वयं खराबहरूको समूहबाट बाहिर निस्कन सक्नुभएको छैन ।
जनता लुटिएका छन् । देश खोक्रिएको छ । देश बेचिएको छ । देश बेहोस र अधमरो अवस्थामा छ । यसलाई जगाउने, बचाउने अभियान कहिले थालिने हो ! देश, त्यो समयको प्रतीक्षामा अधीर छ ।
Leave a Reply