भर्खरै :

मानिस : साहित्य र कलाका सर्जक

मानिस : साहित्य र कलाका सर्जक

मानिसले विकासको क्रममै बोली बोल्न जान्यो होला र कालान्तरमा भाषा । पहिले अस्पष्ट बोली र पछि पछि एकाक्षरी र दुई वा तीन अक्षरका शब्द उच्चारण गर्न जाने । प्राचीन र पाषाण युगबाट मध्यपाषाण युगमा पुग्दा मानिसको ज्यावलजस्तै बोली र भाषा पनि विकास हुँदै गयो । नयाँ पाषाण युगमा जसरी मानिसका ज्यावलहरू चिप्लो र धारिलो वा आवश्यकताअनुसार बनाउन जानेजस्तै भाषा र अभिव्यक्तिमा धेरै प्रगति गरे होलान् ।
मानिसले शिकारको लामो कष्टकर अवस्थामै अनेक पशुपक्षीको बारे अनुभव हासिल गरे होलान्, पशुपालनको अवस्थामा पुग्दा पशु–पक्षीका धेरै क्रियाकलापहरू जाने पशुपक्षीको नक्कल गर्दा गर्दै मानिसले खिचा प्याखँ (कुकुर नाच), मयुर नाच, सिंह नाच, भालु नाच, घोडा नाच आदि जाने होलान् ।
सुरुमा मनको आवश्यकताअनुसार वस्तु र भावबारे इसारा र पछि बोलीले अभिव्यक्ति गर्न जाने र आजको जस्तो कर्ता, कर्म र क्रियासहित वाक्य आउन जानेका होओइनन् । रुख, ढुङ्गा, आगो, पानी, मासु, रगत, तल, माथि, सूर्य, चन्द्र, तारा, बादल, आँधी, हावा, पशु, पक्षीबारेका शब्दहरू उच्चारणको अभ्यासमार्फत बने होलान् । तर, प्रकृतिमा देखिने झरना, खहरे खोला खोल्सा, सिरीसिरी बहने हावा आदिले मानिसमा प्रभाव पार्नु स्वाभाविक हो ।
सभ्यताको विकाससँगसँगै मानिसहरूको बीच आवत–जावत भयो, यातायात, पहाड चढ्ने र चौतारीहरूको प्रयोग, परिश्रम गर्दाको पसिना र थकाइ मार्दा चराले जस्तै मानिसले सुसेल्न जाने, त्यही विस्तारै लय र गीतको निम्ति राजमार्ग खुल्यो होला ।
सुख, दुःख, रिस, क्रोध, विरहजस्ता भावनाको अभिव्यक्ति र अभिनय वन मानिसको पनि हुन्थ्यो । सभ्य समाजमा त्यस्ता भावनालाई उनीहरूले अझ सशक्त ढङ्गले अभिव्यक्त गर्दै गए । आफन्तको मृत्युमा आज पनि मानिसहरू कथा हालेर विरह व्यथालाई लयबद्ध अभिव्यक्त गर्छन्, मिथिला क्षेत्रमा दुःख वा सुखमा महिलाहरू मनको भाव आज पनि गीतमा अभिव्यक्त गर्छन् । रिस, क्रोध र झगडाको भाषा पनि सामान्य कुराकानी र अभिव्यक्तिभन्दा फरक हुने सर्वविदित छ । त्यस्तै अभिव्यक्ति पछि पछि काव्यमा शोक गीत, सुख सन्देश, क्रोध, रिस र आक्रोशको अभिव्यक्ति नाटकहरूमा व्यक्त भए ।
मानिसले सभ्यताको सुरुदेखि नै सरल वार्तालापभन्दा लयबद्ध र सुन्दर शब्दहरू मिलाई मनको भावना पोख्ने र अरूलाई आकर्षण गर्न जाने । सरल गीतबाटै काव्यहरू बने, सरल वार्तालापहरू एक–एक गरी गीति नाटकहरू देखिए । त्यही सिलसिला रामायण र महाभारत वा अन्य भाषाहरूमा समेत अनेक काव्य र महाकाव्यहरू बने ।
भाषाको पूर्ण विकास नहुँदै वा भाषाबाट सूक्ष्म अभिव्यक्ति नहुँदासम्म मुकुण्डो नाच वा नवदुर्गा नाच, भैरव नाच आदि बाजाको तालमा अभिनय गरिन्छ । रातो, नीलो, हरियो, कालो, सेतो आदि रङ्गीन मुकुण्डोले पात्रको गुणलाई अभिव्यक्त गर्छ । मौन नाचको शिखर बालेले चुम्यो भने गीति नाच र प्रतीकको सशक्त उदाहरण पेचिङ्ग अपेरासम्म पुग्यो । सिनेमाले मनको भावना प्रस्तुत गर्छ । रङ्ग र छाया तथा भाषाबाटै फरक ढङ्गले अभिव्यक्त गर्नसक्छ भने, कतै आकाशवाणी र पेचिङ्ग अपेरामा गीतमार्फत पैतालामाथिको कसिएको सुरुवाल र हातमा लिएको कोर्राले पात्र घोडामा छ भन्ने बुझिन्छ भने नवदुर्गा, भैरव र देवी नाचको मुकुण्डोको रङ्गले पात्रको व्यक्तित्व बताउँछ ।
नेपालीभाषामा अनुदित शेक्सपियरका नाटकहरू, एगामेजन, एन्टोनी, राजा इडिपस, फाउन्ट, चुयाँजस्ता रचनाहरू सबै गीति नाटक र काव्यहरू हुन् । लेखनाथ, देवकोटा, सम र सिद्धिचरणका रचनाहरू त्यसैको सिलसिला हो ।
महाकाव्यलाई छन्द, रस, निश्चित सर्गमा बाँधिएको उपन्यास भनियो भने उपन्यासलाई गद्यमा लेखिएको महाकाव्य भन्नु उपयुक्त हुन्छ । त्यस्तै कविता र खण्डकाव्य एक निश्चित विषय र व्यक्तिको जीवनको एक अंश भनियो भने कथालाई एकै बसाइमा सकिने एक विषय वा व्यक्तिको एक झलक हो भनेमा फरक नपर्ला । त्यसो त महाकाव्य र उपन्यास, कविता र खण्डकाव्यसँग कथाको भेट पनि कम छैन ।
साहित्यका विविध विधाहरूबारे पुराना परिभाषा र मान्यताहरू एवं उद्देश्य आज धेरै भिन्न भइसकेको छ । सारमा, आज प्रगतिशील साहित्यका पक्षपातीहरूले पुरानो समाजको आर्थिक विषमता, वर्गभेद, मूल्य–मान्यता र संस्कृतिलाई उदाङ्गयाउने र त्यसलाई कमजोर पार्दा पार्दै नयाँ प्रगतिशील एवं वर्गविहीन र शोषणरहित समाजको निम्ति व्यापक जनमानसमा त्यस आदर्श समाजको निम्ति योग्य मानिस बन्न उत्साहित गर्ने उद्देश्य लिन्छन् ।
नाटकमा प्रमुख पात्रले लेखकको विचार र उद्देश्यलाई प्रतिबिम्बित गर्छ भने खलनायकले पुरानो, ह्रासोन्मुख, नाफाकै निम्ति गर्ने अरूलाई शोषण गर्ने आफ्नो जीवनको बाँच्ने पक्षको विचार र व्यवहारलाई प्रतिनिधित्व गर्छ । त्यसलाई मूल पात्रले तर्क र घटनाबाट पराजित गर्नेछ । यही कुरो महाकाव्य, खण्डकाव्य, उपन्यास र कथामा पनि लागु हुन्छ, गीत, प्रहसन र चित्रकलामा समेत लागु हुन्छ ।
मध्य पाषाण युगमा पशुपालन र खेतीपाती सुरु भएपछि मानिसको फुर्सतले बालुवा र माटोमा चित्र कोर्ने प्रयास गरे, गोलले मानिसलाई लेख्न झन् हौस्यायो होला, नयाँ पाषाण युगको तिखारिएको हतियारले चित्रकला र गुफाका चित्रकलाको सङ्घारमा मानिसलाई पु¥यायो होला । त्यसको छनक चिनियाँ अक्षरलिपि त्यसको प्रमाण होला । मानिस, सूर्य, चन्द्र, पानी, घोडा, हात्ती, पहाड आदिको चित्र कोर्दा कोर्दै मानिस साङ्केतिक लिपिमा पुगे ।
सुरुमा मानिसको कल्पना शक्तिभन्दा अनुभव गरेकै वा देखेकै विषयमा चित्रमा प्रतिबिम्बित गरे, पशु, पक्षी, शिकार, सर्प आदि गुफाहरूमा अङ्कित गरे । मेघगर्जन, आँधीबेहरी, बिजुली चम्काइ आदिको डर, त्रास र अज्ञानताको कारण मानिसले भूत–प्रेतको कल्पना गरे तथा सूर्य, चन्द्र, तारा, आगो, पानी आदिको सकारात्मक पक्षको कारण मनपर्ने अज्ञात शक्तिलाई ईश्वरको धमिलो कल्पना गरे ।
त्यस्तै त्यस्तै कल्पना, चित्रकारी र सुसेल्दै सुसेल्दा बनेका गीत र अभिव्यक्तिले साहित्य, कला र संस्कृतिको खाका तयार हुँदै गयो – मानिसजातिको शैशवकालमा ।
भौतिक आवश्यकताले मानिसका दुई समूहको भिडन्तमा हारेको पक्ष मारिँदै कालान्तरमा विजयी पक्षको दास बनाइयो । दास युग मानव सभ्यताको साहै क्रूर र अन्धकार अवधि भए पनि मानव सभ्यताका अनेकौँ ऐतिहासिक सम्पदाहरूको निर्माण भए । मानिसको विवेक र ज्ञानले मानिसमा भएको हिंसा र क्रूरतामा शिथिलता देखियो । तर, नाफा र अरूको लुटेर खाने असभ्यताको परम्परा आजसम्म साम्राज्य विस्तार गर्न चाहने साम्राज्यवादी र उपनिवेशवादी नीति र उद्देश्यमा विद्यमान छ । यसकारण, मानिसलाई पूर्ण बनाउन वा साँच्चै सभ्य बनाउन त्यस्ता असुरी शक्ति र उद्देश्यलाई विचार, नैतिकता, तर्क र व्यवहारले पराजित हुने खालको साहित्य र कलाको रचना गर्नु आवश्यक छ ।
यस अर्थमा एसिया, अफ्रिका, लाटिन अमेरिका तथा द्वीप समूहका देशहरूका भाषा, साहित्य र कलालाई नेपालका सबै भाषाहरूमा अनुवादबाट नेपाली साहित्यलाई समृद्ध पार्नु आवश्यक छ । युरोप र उत्तर अमेरिकी कामदार र सचेत जनताको ‘वालस्ट्रीट कब्जा गर’ जस्ता आन्दोलन र विश्व आर्थिक सङ्कटको कारण र परिणामबारे नेपाली जनतालाई साहित्यिक क्षेत्रबाट सुसूचित पार्नु आवश्यक छ ।
स्रोत : जनताको साहित्य, वर्ष ३९, बुलेटिन नं. ७, साउन २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *