भर्खरै :

जनतामा भिजेको संस्थामा जनताको विश्वास बढ्ने

जनतामा भिजेको संस्थामा जनताको विश्वास बढ्ने

हरेक सहकारी संस्थाले आफ्नो दायित्व र कर्तव्यबाट विचलित नभई इमानदारीपूर्वक काम गर्नुपर्छ । संस्थाका सबै सदस्यहरूलाई समाजप्रति समर्पित बनाउने, समाजसेवामा काम गर्ने प्रेरणा दिने र एउटै विचारमा उभ्याउने काममा संस्थाले सफलता पाउनुपर्छ । संस्थामा भएका, देखिएका कमी कमजोरी औँल्याउँदै प्रत्येक सदस्यलाई नियमित बचत गराउने, निर्धारित समयभित्र ऋण तिराउने तथा असल बचत असल ऋणी बनाउने काममा संस्थाले सफलता पाउनुपर्छ ।
संस्था सानो होस् या ठूलो निष्ठापूर्वक सञ्चालन हुनुपर्छ । संस्था सबैको साझा हो भन्ने भावना राखेर काम गर्नुपर्छ । समाज परिवर्तनको लागि संस्था र समाजका सदस्यहरूलाई परिचालन गर्ने, समाज सेवामा संलग्न गराउने, संस्थाबारे जानकारी दिने र बुझाउने काममा संस्था क्रियाशील हुनुपर्छ । समाजको निम्ति अर्थविना बिताएको सयौँ हजारौँ दिनभन्दा परिवर्तनको निम्ति अर्पण गरिएको दिन अर्थपूर्ण र वजनदार हुन्छ । प्रयोगमा नआउने पढेलेखेको ज्ञान दराजभित्रको सिङ्गारिएको सामानभन्दा फरक पर्दैन । जसरी राजनीतिक दलका नेता तथा कार्यकर्ता दलको सिद्धान्त र विचारबाट सुसूचित हुन्छ त्यसरी नै संस्थाका सदस्यहरू सहकारी सिद्धान्त, सहकारी मूल्य र मान्यताबारे सुसूचित हुुनुपर्छ । सामाजिक दायित्व, इमानदारिता, ऐक्यबद्धता, न्याय, समानता, प्रजातन्त्र, स्वउत्तरदायित्व र स्वावलम्बनको पक्ष भुल्यो भने संस्थाभित्र कसरी सहकारी मूल्य र मान्यता कायम हुन्छ ? स्वायत्तता र स्वतन्त्रता, समुदायप्रतिको चासो र आर्थिक सहभागिता भुल्यो भने कसरी सहकारी सिद्धान्त मानेको हुन्छ ?
हामी सबैमा सहकारी भावना हुनुपर्छ । हामी सबैले सामाजिक दायित्व बहन गर्नुपर्छ । संस्थामा प्रभावकारी नेतृत्व हुनुपर्छ । प्रशासक कुशल हुनुपर्छ । आन्तरिक स्रोत परिचालन हुनुपर्छ । कामको सकारात्मक फल आउनुपर्छ । दक्ष जनशक्ति तयार गर्दै जानुपर्छ । हरेक कार्यक्रममा सदस्य सहभागी हुनुपर्छ । संस्थाका सदस्य र समाजका सदस्यहरूसँग भिजिरहनुपर्छ । भनिन्छ, इमानदारीविना प्रसिद्ध व्यक्ति हुँदैन, बफादारीविना महापुरुष हुँदैन । जन्मजात कोही क्रान्तिकारी हुँदैन तर समयले क्रान्तिकारी या परिवर्तनशील बनाउँछ । जनतासँग भिजेको संस्था जनतामाझ परिचित हुन्छ, अनि जनताको विश्वास बढ्छ । एकताको सबैभन्दा दरिलो, दिगो र सम्भव भएको एक भरपर्दाे संस्था सहकारी हो । थोरै पुँजी, थोरै सीप, थोरै अनुभव, थोरै साधन भए पनि अघि बढाउन सकिने सहकारी संस्थामा धेरै सदस्य हुने हुँदा लगानी क्षमता बढी हुन्छ । धेरै जनाको बुद्धि, सीप, अनुभव आदानप्रदान हुने हुँदा धेरै काम गर्न सम्भव हुन्छ ।
निजी सम्पत्ति, निजी भावना, निजी स्वार्थ भएको यो पुँजीवादी व्यवस्थामा सामूहिक भावना र समुदायको हित हुने काम गर्नु त्यति सजिलो छैन । तर, चुप लागेर परिवर्तन हुँदैन । सहकारी संस्थाको आर्थिक संरचना समाजवादउन्मुख आर्थिक संरचना हो । यो सहकारीले कुनै जात, भाषा, धर्म र क्षेत्रको भेदभाव गर्दैन । सहकारीको अर्थ बित्तीय कारोबारमात्र होइन गरिब, किसानहरूको आवश्यकता पूरा गर्ने र देशको आर्थिक र सामाजिक स्थितिमा परिवर्तन ल्याउने एउटा माध्यम पनि हो । समाजमा व्याप्त अन्धविश्वास र कुरीति हटाएर जनतामा नागरिक भावना जगाउन, सांस्कृतिक स्तर उठाउन, राजनीतिक चेतना दिन संस्थाहरूले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । समाजमा देखिएका आपराधिक गतिविधि नियन्त्रण गर्न, चोरीचकारी, लुटपिट र हत्याहिंसाका गतिविधि रोक्नेतर्फ सहकारी संस्थाले भूमिका खेल्नुपर्छ ।
अहिले देश छाडेर विदेश जानेको लहरै चलेको छ । इजरायल, दक्षिण कोरिया, मलेसिया तथा खाडी मुलुकमा लाखौँ नेपाली युवाहरू पसिरहेका छन् । बाबुबाजेको आर्जेको घरजग्गा धितो राखेर, बेचेर या ऋण काढेर भए पनि विदेश जाने सङ्ख्या घटाएर या रोकेर नेपालमै रोजगारीको व्यवस्था गर्नेतर्फ सरकार लागेको देखिँदैन । स्वदेशमै युवाहरूलाई रोजगार सिर्जना गर्न व्यवसायमूलक या सीपमूलक तालिमको अभियान सञ्चालन गरेर सहकारीले रोजगारीको व्यवस्था गर्न नसक्ने होइन । मोटर र मोटरसाइकल वर्कसप, रेडियो, टीभी, रेफ्रिजेरेटर, प्लम्बर, विद्युत् जडान, विद्युतीय उपकरण मर्मत, सुन चाँदीका गहना बनाउने, श्रृङ्गारका सामान बनाउने, भाँडाकुँडा तथा कलाकृति बनाउने, घर निर्माण, रङ्गरोगन, गार्मेन्ट, गलैँचा, पश्मिना, जुत्ता, टोपी, पेटी, कम्प्युटर, सेटअप आदि तालिम दिएर स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रयास सहकारीले किन नगर्ने ?
सहकारीको यो दबुमा चिकित्सक, इन्जिनियर, संस्कृतिविद्, इतिहासकार, जलस्रोतविद्, शिक्षाविद्, सहकारीविज्ञ, राजनीतिज्ञ, मनोविज्ञ, धानविद्जस्ता व्यक्तित्व या विज्ञहरूलाई आमन्त्रण गरेर सर्वसाधारण जनता तथा संस्थाका सदस्यहरूलाई जानकारी दिने कार्य गरेर संस्थाले छुट्टै पहिचान कायम गरेको छ । सरकारले नदेखेका र नचिनेका तर जनताको जनजीवनसित भिजेका विभिन्न वाद्यवादक, नाचगुरु, संस्कृतिविद्, शिक्षाविद्, समाजसेवी, साहित्यकार, सफाइ मजदुर, स्वास्थ्यकर्मी, काष्ठकर्मी, लोँहकर्मीजस्ता अग्रजहरूको सम्मान गरेर यो संस्थाले जनताको विश्वास जित्ने कार्य गरेको छ । यहाँका सम्पदास्थल, ऐतिहासिक स्थल, धार्मिक स्थलजस्ता समुदायमा गएर बेलाबखत सरसफाइ गर्ने, देशघाती र जनविरोधी सन्धिसम्झौता, देशघाती नागरिकता विधेयक र नेपालको स्वाधीन र सार्वभौमसत्तामाथि आँच पु¥याउने एमसीसी सम्झौताको विरोध प्रदर्शन या सडक आन्दोलनमा सघाएर संस्था देश र जनताप्रति प्रतिबद्ध भएको अनुभूति भइरहेको छ । सम्पदाहरूको जीर्णाेद्धार तथा मर्मत गर्न र रोगको प्रकोप भइरहेको बेला स्थानीय तहबाटै अक्सिजन उत्पादन गर्ने भनपाको उद्देश्य पूरा गर्न दिइएको आर्थिक सहयोगले पनि संस्था जनताप्रति समर्पित भएको दर्शाउँछ । देशका विभिन्न सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूमा संस्थाका ज्येष्ठ नागरिकहरूलाई भ्रमण लगेर अनुभव र ज्ञान अभिवृद्धि गराउने, मनलाई हलुका, रमाइलो र स्वस्थ बनाउने संस्थाको अर्काे अनुकरणीय काम हो । देशका संस्कृतिविद् हरिराम जोशीद्वारा लिखित ‘मेरा अनुभूतिहरू’ कृति प्रकाशित गरेर अरू सहकारी संस्थाहरूलाई पनि ग्रन्थ प्रकाशन गराउने प्रेरणा दिइएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा लिखित ‘चिनियाँ जन–कम्युन’ पुस्तकको अन्तरक्रिया गरेर संस्थाले संस्थामा आबद्ध समिति, उपसमिति तथा कर्मचारीहरूलाई सहकारीको थप ज्ञान दिलाउने काम गरेको छ । संस्थाले यसरी नै सेवामूलक, सन्देशमूलक, चेतनामूलक कार्य गर्दै जाने विश्वास छ ।
समुदायमा आधारित यस्ता सहकारी संस्थालाई राज्यले उत्साहित गर्नुपर्ने हो, सुरक्षा गर्नुपर्ने हो । अप्ठेरो अवस्थामा सघाउनुपर्ने हो । आपराधिक क्रियाकलाप रोक्न राज्य अघि सर्नुपर्ने हो । तर, यहाँ सहकारी सदस्यहरूको करोडौँ रकम सञ्चालकहरूले बोकेर लगे पनि सरकारलाई मतलब हुँदैन । सरकारले कारबाहीको प्रक्रिया अघि बढाउँदैन । सरकारले गर्नुपर्ने काम सहकारीले गरिरहेको छ । तर पनि सरकार सहकारी संस्थालाई वक्रदृष्टिले हेर्छ, हेरिरहेको छ । यो सरकारको सहकारी र आम सहकारीकर्मीहरूमाथिको अपमान हो । अन्त्यमा यस संस्थाका सबै सदस्यहरूको संस्थाप्रति सद्भाव कायम भइरहोस् भन्ने कामना गर्दै बिदा हुन्छु ।
(शनिबार आयोजित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २५ औँ वार्षिक साधारण सभामा संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले व्यक्त गर्नुभएको मन्तव्य–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *