भर्खरै :

फिर्ता

फिर्ता

बर्नमा लेनिनले साम्राज्यवादको बारेमा किताब लेखे । लुटपाट गर्ने लताबिना पुँजीपतिहरू किन उँभो लाग्दैनन् भनी उनले किताबमा प्रस्ट पारे । उनीहरूले पराइ मुलुकहरू कब्जा गर्छन्, तिनलाई उपनिवेश बनाउँछन्, अरूको रगत चुसी चुसी मोटाउँछन् । आफ्नो लालचलाई लगाम लगाउन नसक्ने हुनाले उनीहरूले संसारलाई नै आपसमा बाँड्न ठूलोभन्दा ठूलो हिस्सा हत्याउन कोसिस गर्छन् । यो प्रक्रिया जारी रहुञ्जेल लुटपाट मच्चाइने लडाइँहरू भइरहनेछन् । साम्राज्यवादका कारण जनसाधारणको अवस्था सङ्कटग्रस्त हुनेछ । तर, मजदुर वर्गको चेतना र शक्ति पनि बढिरहेको छ । समाजवादी क्रान्तिको घडी नजिकिँदै छ ।
यस्तो किताब लेख्न समग्र विश्वको इतिहास र विश्वको जनजीवनलाई बुझ्न आवश्यक थियो । यस किताबको तयारीको क्रममा लेनिनले अत्यन्त धेरै किताबहरु अध्ययन गर्नुप¥यो ।
बर्नदेखि लेनिन र क्रुप्सकाया ज्यूरिख आए । सुरूमा दुई हप्तामात्रै बस्ने मन थियो । तर, कामले गर्दा पूरा एक वर्ष त्यहीँ रोकिनुप¥यो । ज्युरिखको पुस्तकालय धेरै गतिलो थियो । सहर पनि नराम्रो थिएन । ठूलो चहल–पहल धेरै कलकारखाना र मजदुरहरूको ठूलो उपस्थिति… ।
लेनिन साँझसम्म पुस्तकालयमा बसिरहन्थे । दिनमा केहीबेरलाई कोठामा आउँथे, खाना खान्थे र फेरि गइहाल्थे ।
पुस्तकालय जाने साँघुरो सडकको किनारमा कटुसका अग्लाअग्ला रुख उभिएका थिए । त्यस वर्ष लेनिनले दिनको कम्तीमा चारचोटि ती कटुसका रूखमुनिबाट टाउन हल, प्राचीन गिर्जाघर हुँदै पुराना घरहरू नछिचोलेका सायदै कुनै दिन हुँदा हुन् ।
यहाँदेखि केही दूरीमा ज्यूरिख ताल थियो । त्यहाँ क्रुद्ध छालहरू उर्लिन्थे र गर्जिँदै किनारमा ठोकिन्थे । त्यसको नजिक जान पनि डर लाग्थ्यो । तर, छालहरू बसेपछि पानीको निलो सतह घामले टल्किन्थ्यो । त्यसबेला तालको सौन्दर्यले मनै हथ्र्यो । स्वीजरल्यान्डको प्राकृतिक सौन्दर्यले लेनिन मुग्ध हुन्थे । तैपनि, मातृभूमिको सम्झनाले उनलाई हरबखत सताइरहन्थ्यो । ओहो, तिनताका उनी रूसको यादमा कति व्यथित रहन्थे ।
एक दिन दिउँसोको खानापछि लेनिन पुस्तकालय फर्किन तयार भएका थिए । त्यसै बेला कसैले जोड–जोडसँग ढोका ढकढक्यायो । आगन्तुक एक प्रवासी थियो । उत्तेजनामा अनुमतिको प्रतीक्षा पनि नगरी गनगन गर्दै ऊ सिधै कोठाभित्र पस्यो ।
तपाईँले सुन्नुभयो ? सुन्नुभएन ? रूसमा क्रान्ति भएको छ । आगन्तुकले हडबडाउँदै भन्यो ।
लेनिनले फ्याट्ट टोपी उठाए । क्रुप्सकायाले हिँड्दैहिँड्दै कोट लगाइन् । तीनैजना तालतिर लागे । तालमा आकाश घोप्टिएजस्तो देखिन्थ्यो । गर्वले शिर उठाउँदै सेता हाँस पानीमा तैरिरहेका थिए ।
लेनिन पत्रिकाको स्ट्यान्डतिर हुत्तिए । यहाँ तालको किनारमा जतिबेला पनि ताजा पत्रिकाहरू टाँगिएका हुन्थे ।
लेनिनले व्यग्र भई पत्रिकाहरूमा छापिएका समाचारका शीर्षकहरूमा नजर दौडाए – “फेब्रुअरी, १९१७ । रूसमा क्रान्ति ।”
“आखिर भएरै छोड्यो,” लेनिनले उत्तेजना लुकाउन सकेनन् ।
उनी रुससँग घनिष्टरूपले जोडिएका थिए । उनले त्यहाँ बढ्दै गरेको क्रान्तिको नेतृत्व गरेका थिए । क्रान्ति नजिकै छ भन्ने उनले बुझेका थिए । तैपनि, मातृभूमिदेखि आएको खबरले उनलाई असाध्यै उत्तेजित गरायो ।
उता रूसमा निकै महत्वपूर्ण घटनाहरू घटिरहेका छन् भन्नेमा शङ्कै थिएन । अब जति सकिन्छ चाँडो घर फर्किनु थियो । मातृभूमि टेक्नु थियो । अझै पनि यही अडिनु मनासिब थिएन । जसरी हुन्छ तुरुन्त रूस फिर्नु थियो । आखिर उनको सम्पूर्ण जीवन, सम्पूर्ण श्रम यसैमा त अर्पित थियो । रूसमा हाल घटिरहेका घटनाका लागि समर्पित थियो । तर, यहाँबाट जाने पो कसरी ?
लेनिनको चैन हरायो । आँखाको निन्द्रा रित्तियो । उनी दुब्लाउन थाले ।
अन्ततः स्वीस साथीहरूको दौडधुप र प्रयत्नहरूले गर्दा रूसी प्रवासी क्रान्तिकारीहरूले निर्गमन मिसा पाई छाडे ।
गाडी छुट्न दुई घण्टा बाँकी थियो । लेनिन अब पराइ देशमा एकक्षण पनि रोकिन चाहन्नथे । यी दुई घण्टामा सामान मिलाउनु थियो । पुस्तकालयबाट ल्याएका किताबहरू फर्काउनु थियो । घरभाडा बुझाउनु थियो । तर पनि सबै काम पूरा भयो । निश्चित समयमा उनीहरू ज्यूरिखदेखि बर्नतर्फ लागे । बर्नदेखि जर्मनी जाने गाडी लिनु थियो । लेनिनसँगै अन्य प्रवासीहरू पनि मातृभूमितिर फर्किरहेका थिए ।
“सहायता र शरणको लागि धन्यवाद ।” स्वीजरल्यान्डको धर्ती छोड्दै गर्दा लेनिनले स्वीश साथीहरूलाई आभार सन्देश पठाए ।
गाडी स्वीजरल्यान्डका मनमोहक तालहरू र सगर्व शिर ठड्याएका पहाडहरूलाई पछाडि छोड्दै, पुत्ताउँदै र छुकछुक गर्दै अगाडि बढिरहेको थियो ।
जर्मनीको भूमि पनि पार भयो । अगाडि बाल्टिक सागरको बिरसिलो विस्तार थियो । युद्धका कारण समुद्रमा जताततै सुरुङ बिछ्याइएको थियो । र पनि जसोतसो एक मालबाहक जहाजमा उनीहरू स्वीडेन पुगे र त्यहाँबाट फिनल्यान्ड गए । उफ, यात्रा कति लामो र खतरनाक थियो । तर, अब चाँडै पेत्रोग्राद आउँदै थियो । १९१४ मा जर्मनीसँग युद्ध सुरू हुँदा पिटर्सबर्गको नाम पेत्रोग्राद राखियो । गाडीको झ्यालबाट जङ्गल देखिन्थ्यो । सेतो बरफ पूरै पग्लिसकेको थिएन । लेउका टाटाहरूले ढाकेको दलदलमा जताततै कालो पानी टल्किरहेको थियो ।
“राती पेत्रोग्राद पुग्दा सबै सुतिरहेका हुने होलान्,” क्रुप्सकाया बोलिन् ।
ल्याम्पपोस्टहरूको मधुरो उज्यालोमा ढुङ्गाका भवनहरूबिच ठूल्ठूला धमिला आकार देखिन थाले । ती गोदाम, डिपो आदि थिए । गाडीको रफ्तार कम भयो । फिनल्यान्डको रेल स्टेसन अब टाढा थिएन ।
रात्री निस्तब्धतालाई चिर्दै इन्जिनले सिठी बजायो । रेल प्लेटफर्ममा रोकियो । इन्जिनले चर्को आवाज निकाल्दै बाफ छोडिरहेको थियो । लौ, के भएको होला ? यहाँ सङ्गीत किन ? प्लेटफर्ममा मोर्सेईको धुन बजिरहेको थियो ।
“सलामी दिन सबै सावधान हुनू !” आदेश सुनियो ।
प्लेटफर्म मान्छेले अटेसमटेस थियो । त्यहाँ आउनेहरूमा पेत्रोग्रादका मजदुर थिए । लालगार्डका सैनिक थिए र क्रोनस्तादका नाविकहरू थिए ।
“सावधान !”
एकाएक पूर्ण निस्तब्धता छायो । लाल सैनिक र नाविकहरू सलामी दिनको लागि लाइन बाँधेर उभिए ।
लेनिन आफ्नो डिब्बाको ढोकामा आए । उनी आश्चर्यचकित थिए ।
“साथीहरू… ।”
“लेनिन जिन्दावाद ! लडाइँ रोकियोस् ! क्रान्ति जिन्दावाद !” जवाफमा आकाश गुञ्जायमान भयो ।
प्लेटफर्मबाहिर रेल स्टेसनअगाडिको चोकमा पनि हजारौँ स्वरहरूले यी नारा दोहो¥याए । चोकमा जनसागर उर्लिएको थियो । प्लडलाइटहरूको उज्यालोमा झन्डाहरू आगोको ज्वालाजस्तै फहरिँदै थिए ।
स्टेसनबाहिर एउटा हतियारबन्द गाडी उभिएको थियो । त्यसका तोपहरू चुपचाप थिए । त्यसले पनि पार्टी र मजदुर वर्गका नेतालाई स्वागत गरिरहेको थियो । मजदुर र सैनिकहरूले लेनिनलाई त्यस गाडीमा चढाए । असङ्ख्य मैत्रीपूर्ण हात उनीतर्फ बढे । असङ्ख्य आँखाहरू मुस्कुराए ।
लेनिनलाई त्यहाँ उपस्थित सबैजनालाई, युद्ध र विपत्तिले सन्तप्त ती मजदुर साथीहरूलाई अँगालो हालुँजस्तो भयो ।
“साथीहरू,” लेनिनले भने ।
तपाईँहरूले क्रान्ति गर्नुभएको छ, जारको सत्ता उल्टिएको छ । तर, सत्ता पुँजीपतिहरूले कब्जा गरेका छन् । उनीहरू हामीमाथि राज गर्न चाहन्छन् । हामीलाई त कामदार वर्गको राज चाहिन्छ । हामी दिनको आठ घण्टा कामको अवधि चाहन्छौँ । हामी किसानहरूलाई जमिन, भोकाहरूलाई रोटी, संसारका लागि शान्ति हासिल गर्न चाहन्छौँ । हामी समाजवादी क्रान्ति चाहन्छौँ ।”
“हो हो, लेनिन जिन्दावाद !” जनसमूह चिच्यायो । फिनल्यान्ड स्टेसनअगाडिको चोकको वातावरण जगमगाएको थियो । मानौँ, यो रात नभएर खुसीयालीपूर्ण वसन्तको सुनौलो बिहानी हो ।
अलिबेरको घुमघामपछि हतियारबन्द गाडी गुड्यो । लेनिन सधैभरिलाई घर फर्किएका थिए ।
(मारिया प्रिलेजातद्वारा लिखित ‘लेनिन कथा’ लेनिनकै जीवनसँग सम्बन्धित संस्मरणात्मक पुस्तक हो । यसलाई माधव अधिकारीले नेपालीमा अनुवाद गर्नुभएको छ । सोही पुस्तकको एक अंश यहाँ प्रस्तुत छ – सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *