भर्खरै :

नवदुर्गा नाच एक परिचर्चा

नवदुर्गा नाच एक परिचर्चा

नेपालकै एतिहासिक धरोहरको रूपमा जीवित देवता पूजिने लामो जात्राको रूपमा मानिने मानव समाजमा आधारित सांस्कृतिक नगर भक्तपुरको श्री नवदुर्गाको ङालाकेगु (माछा मार्ने) जात्रा पुस ३० गतेदेखि भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढी, त्वचाबाट वापे पाछाकिगु जात्राबाट शुभारम्भ हुनेछ । परापूर्वकालदेखि नै निरन्तर चल्दै आइरहेको नवदुर्गा देवगणको जात्रा भक्तपुर नगरपालिकामा मात्र ८ महिनाभित्र विभिन्न स्थानमा गरी २१ स्थानमा गरिन्छ । हरेक वर्षझैँ यस वर्ष माघ १ गते सूर्यमढी टोल परिक्रमा गरी माघ २ गते ङालाकेगु जात्रा हुनेछ । त्यस्तै माघ ३ गते तचपाल दत्तात्रय मन्दिर परिसरमा र ४ गते क्वाठण्डौ टोलमा ङालाकेगु जात्रा हुनेछ भने ५ गते गछेँ टोल परिक्रमा गरी ६ गते ङालाकेगु जात्रा हुनेछ ।
माघ १२ गते दथुत्वचा टोल परिक्रमा गरी १३ गते ङालाकेगु जात्रा हुनेछ । माघ १४ गते इनाचो टोल परिक्रमा गरी १५ गते ङालाकेगु जात्रा हुने र १६ गते गोल्मढीमा ङालाकेगु जात्र ा हुनेछ । माघ १७ गते याछेँ टोल परिक्रमा गरी १८ गते ङालाकेगु जात्रा हुनेछ ।
१९ गते काभ्रेको साँगामा बिहानै जाने र साँझ टोल परिक्रमा गरी नवदुर्गाकोे पूजाआजा हुने र २० गते ङालाकेगु जात्रा सम्पन्न गरी पुनःभक्तपुर फर्किनेछ । माघ २१ गते टौमढी टोल परिक्रमा गरी २२ गते टौमढीमा र २३ गते तालाकोमा ङालाकेगु जात्रा हुनेछ । माघ २४ गते मुलाखुई (वंशगोपाल) मा टोल परिक्रमा गरी २५ गते ङालाकेगु जात्रा हुनेछ । माघ २६ गते गःहिटी टोल परिक्रमा गरी २७ गते ङालाकेगु जात्रा हुनेछ । माघ २८ गते क्वाछेँ टोल परिक्रमा गरी २९ गते क्वाछेँमा र फागुन १ गते टिबुक्छेँमा ङालाकेगु जात्रा हुनेछ । फागुन २ गते लायकु गोरचाँ टोल परिक्रमा गरी फागुन ३ गते ङालाकेगु जात्रा हुनेछ । त्यस्तै फागुन ४ गते खौमा टोल परिक्रमा गरी फागुन ५ गते ङालाकेगु जात्रा हुनेछ । फागुन ९ गते इटाछेँ टोल परिक्रमा गरी १० गते ङालाकेगु जात्रा हुनेछ ।
फागुन १२ गतेदेखि ५ दिनसम्म नाला र धुलिखेल र श्रीखण्डपुरमा नवदुर्गा देवगण लग्ने र त्यहाँ विभिन्न स्थानमा नवदुर्गाको पूजाआजा गर्नुका साथै ङालाकेगु जात्रासमेत हुनेछ । यसरी नै तिथिमितिको आधारमा निरन्तररूपमा जात्रा सञ्चालन हुने गर्छ । त्यस्तै पाहाँ च¥हेपछि बालाखु टोलमा र त्यसपछि मातातीर्थ औँसीतिर काभ्रेको बनेपा र पनौती नगरपालिकामा पनि ङालाकेगु जात्रा हुने गर्छ । त्यसपछि क्रमशः तुलाछेँ, चोछेँ र अन्तिममा सितिनखा पर्वको आठ दिनपछि इच्छु टोलमा ङालाकेगु जात्रा गरी यस वर्षको ङालाकेगु जात्रा सम्पन्न हुने गर्छ ।
यस जात्रा सञ्चालन गर्न विभिन्न नेवारी जातिहरूमा जतिसुकै समस्याहरू भए पनि जात्रालाई वर्तमान अवस्थासम्म निरन्तर सञ्चालन गर्न उजाजु (वनमाला) जातिको महत्वपूर्ण भूमिका रहेको छ । नवदुर्गा जात्रामा निरन्तर लागेर वनमाला जाति शिक्षा तथा आर्थिक क्षेत्रमा पिछडिएको गुनासो देवगणहरूको रहेको छ । हरेक वर्ष निरन्तररूपमा टोलटोलमा भक्तजनहरूको श्रद्धा र आस्थाको पूजा प्रसाद ग्रहण गरी नवदुर्गा नाच तथा ङालाकेगु जात्रा सञ्चालन गरिन्छ ।
मल्लकालबाट सञ्चालन भएको भनिए तापनि यसको कुनै ठोस तथ्य प्राप्त हुन सकेको छैन । यस नवदुर्गाको जात्राले मानव समाजको विकासक्रम तथा मानव समाजको सभ्यताको सन्देश दिइरहेको पाइन्छ । कुनै लिपिबद्ध लेख रचना नभएको कारण जात्राको महत्वमा कमी आइरहेको देखिन्छ । मातृ सत्तात्मककालदेखि देवीहरूको समूहबाट यस जात्रामा मानव समाजको बारेमा दिशानिर्देशन गराउन यस जात्रा सञ्चालनमा आएको विश्वास गरिन्छ । गीति नाटकको रूपमा यस जात्रामा खिं बाजा, तँ बाजा, कँश बाजा आदि प्रयोग हुन्छ । भैरव, महाकाली, बाराही, कुमारी, गुजेकाली, महालक्ष्मी, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, पुजारी नकीं, बालकुमारी, दुम्हा, सिम्हा, श्वेत भैरव आदि यस जात्राका देवगण हुन् । पाँच रङ्ग (रातो, कालो, सेतो, हरियो ,पहँेलो ) बाट विभिन्न किसिमको नाच प्रस्तुति हुन्छ । जात्रामा नारीप्रति अपहेलनाबाट नारीक्र्रोध, दानव नरसंहार, चेलीबेटीको विलाप, केटाकेटीको चकचके व्यवहार, दैनिक जीवनमा गर्नुपर्ने सरसफाइ, नेवार जातिमा हुने बेलविवाह, दाम्पत्य जीवनमा हुने रीतिरिवाज, मायाप्रेम आदिलाई विधिगतरूपमा दिशाबोध गरिरहेको पाइन्छ । श्वेत भैरवको ङालाकेगु जात्रामा नारी सुन्दरता, असत्यमाथि सत्यको विजय, सरसफाइको शिक्षा, खानपानबारे दिशाबोध गरिएको पाइन्छ । यस जात्रामा पेट दुखाउने नाच, खास्टो धुने नाच, मतिना (मायाप्रेम) नाच र विभिन्न प्रकारको नाटकीय नाच प्रदर्शन हुने गर्दछ ।
नवदुर्गाको द्यो ब्वय्केगु (प्रसाद ग्रहण) गर्ने जात्रामा भक्तजनहरूबाट नेवारी खानाका परिकार तयार गरी नवदुर्गा देवगणहरूलाई प्रसाद ग्रहण गराइन्छ । माछा, अण्डा, बारा, चतामारी, योमरी, भटमास, सम्हेबजी, मासुको परिकार, गेडागुडी, दही चिउरा साथै चौरासी व्यञ्जन पनि यस जात्रामा प्रदर्शन गर्ने गरिन्छ । हाँस, कुखुरा, राँगो, बोका र भेडा पञ्चबलि दिने गरेको पाइन्छ । साथै मुः बाहाँको रूपमा सुँगुर लखेटेर बाहाँ लिकेगु जात्रा मनाउने चलन रहेको छ । मानव समाजमा हुने व्रतबन्ध शुभविवाह र अन्य शुभकार्यमा यस नवदुर्गा देवगणलाई प्रसादग्रहण (द्यो ब्वय्केगु कार्य) गर्दा आफ्नो सन्तान निरोगी हुने, गरेको काम सफल हुनुको साथै कुल स्थिर हुने जनविश्वास छ । कुनै दिन आफ्नो दिनदशा बिग्रेको बेला नवदुर्गाको अमूल्य प्रसादग्रहण गर्नेमध्ये दही, चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, कालो टीका (मोहनी) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुने परम्परा रहेको पाइन्छ । कुनै दिन आफ्नो नयाँ घर निर्माण गर्दा नवदुर्गा देवगण भित्याउँदा घरमा शान्ति हुने, कुनै डर त्रासबाट मुक्त हुने हुँदा नवदुर्गा देवगण घरमा भित्याउने चलन रहेको पाइन्छ । यसै आधारमा यस श्री नवदुर्गाको जात्रा भक्तपुरमा मात्र सीमित नभई जिल्ला बाहिर पशुपति टोखा, गोकर्ण र साँखु ,चाँगुनारायण, ठिमी, साँगा, नाला, धुलिखेल, बनेपा, खम्पु, पनौती गरी विभिन्न स्थानमा सञ्चालन हुने गर्दछ । अन्तमा, यस जात्राबारे नयाँ पिँढीहरूलाई जनचेतना दिने उद्देश्यका साथ मानव जीवनमा आधारित ऐतिहासिक महत्व बोकेको सांस्कृतिक धरोहरलाई जोगाउन सम्बन्धित निकाय र जनचासोको आवश्यक पहल गरी संरक्षण गराउनुपर्ने देखिन्छ ।
(लेखक नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *