भर्खरै :

भिड जतातिर लाग्छ त्यतै नेमकिपा एकोहोरिँदैन

भिड जतातिर लाग्छ त्यतै नेमकिपा एकोहोरिँदैन

नवनिर्वाचित उपसभामुख अप्सरा चापागाईंप्रति नेमकिपाको तर्फबाट बधाई तथा शुभकामना । नेमकिपाका श्रद्धेय अध्यक्ष रोहितले एक प्रसङ्गमा भन्नुभएको मलाई याद आयो – राजनीति ‘मास हिस्टेरिया’ होइन । सबैले होस गुमाउँदा हामीले पनि गुमाउनुुपर्ने । यहाँ होस नगुमेका पनि छन् । त्यो नेमकिपा हो । ‘बादशाहको नयाँ लुगा’ Emperor’s New Cloth मा एउटा बालक पर्याप्त भयो ।
गत मङ्सिर ४ मा भएको निर्वाचनपश्चात् हामी यो प्रदेशसभामा आइपुगेका छौँ । निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना ग¥यो । नेमकिपा कुनै पनि अनैतिक तथा असैद्धान्तिक गठबन्धनमा सामेल नभई एक्लै चुनाव लड्यो । नेमकिपाले कसैको वैसाखी टेकेर होइन जनताको भरमा चुनाव लड्यो । अप्रजातान्त्रिक तथा असंवैधानिक गठजोडविरूद्ध निर्वाचन घोषणापत्रको आधारमा नेमकिपाले राजनीतिक तथा वैचारिक सङ्घर्ष ग¥यो ।
नेमकिपा सत्ताकेन्द्रित राजनीतिको विरूद्धमा छ । जसरी भए पनि निर्वाचन जित्ने र जसरी पनि सरकारमा पुग्ने पुँजीवादी मानसिकताबाट नेमकिपा टाढा रहँदै आएको जगमा जाहेर छ । सत्ताको फोहरी पुँजीवादी खेलकै कारण जनताको आक्रोश, अविश्वास तथा घृणा बढ्दो छ । २०७४ सालको निर्वाचनमा पनि तथाकथित वाम गठबन्धन बनेकै थियो । यस प्रदेशमा पनि दुईतिहाइ बहुमतसहितको सरकार गठन भएको थियो । “अब ३० वर्ष कसैले हल्लाउन सक्दैन” भन्ने दाबी शासक दलले ग¥यो । “तीन वर्ष टिकाएर देखाऊ” हामीले हाँक दियौँ । नभन्दै पाँच वर्षमा दर्जनौँ मन्त्री र तीन मुख्यमन्त्री बेहो¥यौँ । सिद्धान्त, विचार, आदर्श तथा नैतिकता मिल्काएर जतिसुकै चर्को कुरा गरे पनि परिणाम शून्य नै बन्नेछ । विगतको अनुभवले यही बताउँछ ।
तेल के हेर्नु तेलको धारा हेर्नु, छोरा के हेर्नु छोराको साथ हेर्नु । यो पुरानो कथन आज यहाँ पनि सान्दर्भिक छ । मुखले वामपन्थी भन्ने अनि दक्षिणपन्थीको बुइँ चढ्ने, यो कुन माक्र्सवाद हो ? माक्र्स या माओले यो चर्तिकला देख्नुहुन्थ्यो भने कि त डाँको छोडेर रूनु हुन्थ्यो होला कि त पेट मिचीमिची हाँस्नु हुन्थ्यो होला । याद राखौँ, सिद्धान्तच्युत बन्नु र हिमालयमा चिप्लेटी खेल्नु उस्तै हो ¤ सिद्धान्तको मूल्यमा प्राप्त हुने शक्ति या सत्ता क्षणभङ्गुर हुनेछ र कालान्तरमा गलपासो या आत्मघाती साबित हुनेछ । गएको पाँच वर्षको कार्यकालमा नेमकिपाले बाग्मती प्रदेशसभामा पनि प्रखर प्रतिपक्षको भूमिका सशक्त ढङ्गमा निर्वाह गरेको यथार्थ कसैले नकार्न सक्दैन । यो आत्मश्लाघा होइन आत्मगौरव हो । ‘नेमकिपा नहुँदो हो त यहाँ प्रतिपक्ष नै हुने थिएन’, यही सदनमा बारम्बार उठेकै कुरा हो । हामीले भागबन्डामा कहिल्यै भाग लिएनौँ । हामीले दलीय फाइदा–बेफाइदा या स्वार्थलाई प्राथमिकतामा राख्दै राखेनौँ । बरु, सरकार र सदनलाई रचनात्मक सुझाव दियौँ । कुनै पनि मुख्यमन्त्री या मन्त्रीहरूसँग हाम्रो व्यक्तिगत तिक्तता पनि परेन । यद्यपि, आवश्यक ठाउँमा सैद्धान्तिक विरोध गर्न हामी चुकेनौँ । हिजोका मुख्यमन्त्री, मन्त्रीहरूलाई भक्तपुरमा स्वागत गरी त्यहाँ भइरहेका संस्कृति एवम् सम्पदा संरक्षण, शिक्षा–स्वास्थ्य क्षेत्रका गतिविधि तथा नयाँ–नयाँ अभ्यासबारे गहन छलफल भएको त्यति पुरानो घटना होइन । हिजोका मुख्यमन्त्रीहरूले नेमकिपाका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ज्यूसँग भेटेर प्रदेश सरकारबाट जनसेवाका सम्भावित उपायबारे गर्नुभएका गम्भीर छलफलहरू आज यहाँ स्मरण गर्नु असान्दर्भिक नहोला । नेमकिपा विरोधको निम्ति विरोध होइन रचनात्मक कार्य तथा वैचारिक छलफलमा विश्वास गर्छ । देश र जनताको व्यापक हित तथा निःस्वार्थ सेवाबाहेक हाम्रो अर्को कुनै स्वार्थ छैन । हामी हरेक कुरा जनताको आँखाबाट हेर्छौँ । विचारको आँखाबाट हेर्दा ठीकलाई ठीक र गलतलाई गलत नै भन्छौँ । सत्ता–स्वार्थको चस्मा लगाएर रमाउने बालरोगबाट नेमकिपा मुक्त छ । राजनीतिलाई लेनदेन बनाई नवसम्भ्रान्त वर्ग बन्ने अवसरवादी मनोरोगबाट नेमकिपा मुक्त छ ।
प्रजातन्त्र पुनः स्थापना भएको ३३ वर्ष भयो । सर्प मर्छ तर पुच्छर हल्लिरहन्छ र माछा मर्छ तर आँखा खुला रहन्छ भन्ने कहावत आज हामी प्रत्यक्ष अनुभव गर्दै छौँ । पुँजीपति वर्गले मात्र होइन पुराना सामन्त, प्रतिक्रियावादी शक्तिहरूले आफ्नो गुमेको स्वर्ग फिर्ता लिन खोज्ने विश्वको राजनीतिक इतिहासले बताउँछ । आज हामी नेपाली जनता प्रत्यक्ष अनुभव गर्दै छौँ । राजनीतिक विश्लेषकहरू नेपालमा दक्षिणपन्थी प्रभाव बढ्दै गइरहेको बताउँछन् । भारतमा मोदी फासीवादको उदयसँगै नेपालमा प्रभाव पर्ने अनुमान गरिएको थियो । नेपाली राजनीतिलाई सधैँ अस्थिर बनाइराख्न चाहने, समाज छिन्नभिन्न र देश परनिर्भर नै बनाइराख्न खोज्नेहरू सक्रियता बढाउँदै छन् । भित्रैसम्म पुगेर राजनीतिक चलखेल तीव्र पार्दै छन् । शासकहरू तिनका ज्यामी बन्दै छन् । परिणामस्वरूप पछिल्लो समय एमसीसी, एसपीपी र नागरिकता विधेयक आएको हो । नेपाली संसद्मा लेण्डुप दोर्जे र जेलेन्स्कीहरू निर्वाचित भएर आउनुको पृष्ठभूमि यही हो । देशको प्रजातन्त्रमात्र होइन स्वाधीनता, अखण्डता तथा स्वतन्त्रता इतिहासमै सबैभन्दा ठूलो खतरामा पर्दै छ । हरेक सचेत नेपालीले गम्भीर ढङ्गमा सोच्ने बेला आएको छ । देशभक्त नेपाली जनतासँग मिलेर नेमकिपाले देशघाती एमसीसी, एसपीपी र नागरिकता विधेयकविरूद्ध सङ्घर्ष थप तीव्र पार्नेछ । सिक्किम या युक्रेनको दुर्भाग्य हाम्रो निम्ति स्वीकार्य छैन ।
नेपाल विद्युत् प्राधिकरणले गत पुस १४ गते जारी गरेको सूचनाबमोजिम काठमाडौँ उपत्यका र काभ्रेमा विद्युत् प्रसारणलाइन तथा सवस्टेसन निर्माण हुने बताइएको छ । भक्तपुरको चानपा ७ मा पनि प्रस्ताव गरिएको उल्लेख छ । यदि त्यो एमसीसी प्रोजेक्टअन्तर्गत हो भने जनता विरोधमा उत्रने छन् । बेलैमा विद्युत् प्राधिकरणले सत्यतथ्य प्रकाशित गर्न आवश्यक छ । नेपाली भूमि विदेशीको क्रिडास्थल या युद्धमैदान बनाउने सोचविरूद्ध हामी सङ्घर्षरत रहने छौँ । विश्वासको मत लिँदै गर्दा एमसीसी, एसपीपी, नागरिकता विधेयकप्रति मुख्यमन्त्री र गठबन्धनको धारणा के हो ? देशको अस्तित्वको सवालमा मौन बसेर कर्तव्य कसरी पूरा हुन्छ ? मूल विषयवस्तुमा विश्वस्त नबनाई विश्वासको मत माग्नु त आज नगद भोलि उधारो भनेझैँ होइन र ?
हाम्रो अध्ययन र अनुभवले बताएसम्म नेपालमा विद्यमान संसदीय व्यवस्था वेस्टमिनिस्टर मोडलको राजनीतिक व्यवस्था हो । यसअन्तर्गत बहुमत प्राप्त दलले सरकार गठन गर्छ र अल्पमत प्रतिपक्षमा बस्छ । त्यो व्यवहारमा लागु भएन र प्रमुख प्रतिपक्षमा बस्नुपर्नेले सरकारको समर्थन गरेको पनि देखियो । सत्ताको भाग मागेको पनि चर्चा चल्यो । यसले नेपालको राजनीति पश्चिमा शैलीबाट टाढिँदै पूर्वीय राजनीतिक शैली या चिन्तनतिर अग्रसर भएको हो कि भन्ने राजनीतिक वृत्तमा चर्चा सुरू भएको छ । छिमेकी मित्रराष्ट्र चीनले संसारमा बेग्लै राजनीतिक अभ्यास गर्दै छ । चीनको द्रुत उन्नति–प्रगतिको कारण त्यसैलाई बताइन्छ । चीनमा चिनियाँ कम्युनिस्ट पार्टीले सत्ताको बागडोर सम्हालेको छ भने अन्य आठ वटा पार्टीले सहयोगी दलको भूमिका निर्वाह गर्छन् । समाजवादलाई दीगो बनाउँदै देशको विकासका नयाँ–नयाँ उपाय सुझाउने, राजनीतिक चिन्तनमा मद्दत पु¥याउने, राष्ट्रिय–अन्तर्राष्ट्रिय दृष्टिकोण निर्माण आदि कार्यमा ती दलले चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय, सहकार्य तथा सहयोग गर्दछन् । त्यही पूर्वीय राजनीतिक अभ्यासतिर जाने निर्णय नेपाली काङ्ग्रेस, राप्रपालगायतका पार्टीले गरेका हुन् कि भन्ने जिज्ञासा राजनीतिशास्त्रका विद्यार्थीहरू तथा जानकारहरू राख्दै छन् । यदि सच्चाइ त्यही हो भने जहिले पनि हामी छलफल गर्न तयार छौँ ।
विश्वासको मत माग्नु हुने मुख्यमन्त्री शालिकराम जम्मकटेलप्रति व्यक्तिगत केही गुनासा छैनन् । विगत पाँच वर्षमा उहाँका जोशिला भाषण धेरै सुन्यौँ । यो पटक भने काम गर्छु भन्दै हुनुहुन्छ । उहाँले फोनमा र भेटमा पनि मत माग्नुभयो । उहाँले पार्टीलाई पत्र नै पठाउँछु पनि भन्नुभयो । उहाँको पहिलो पत्र नै अपहरणमा परेछ क्या रे ¤ यसमा उहाँको व्यक्तिगत दोष देख्दिनँ तर त्यो घटनालाई सावधानी अपनाउनुपर्छ भन्ने पूर्वसङ्केतको रूपमा लिएर काम गर्नुभए उचित हुने पहिलो सुझाव दिन्छु । उहाँ र उहाँका साथीहरूले सँगै एक ठाउँमा जाने, मिलेर काम गर्ने प्रस्ताव राख्नुभयो । हामीलाई विश्वास छ एकदिन अवश्य त्यो दिन आउनेछ जुन दिन सारा नेपाली जनता अगाडि बढ्ने छन् । त्यो यात्रा बहुसङ्ख्यक कामदार जनताको व्यवस्था स्थापनाको निम्ति हुनेछ, त्यो यात्रा समाजवादी व्यवस्थातर्फको यात्रा हुनेछ । पुँजीवादी व्यवस्थाको यो भ्रमको संसारमा अल्मलिने इच्छा हामीलाई छैन । पुँजीपति वर्गको झिलीमिली चौतारीमा आराम गर्ने लोभ र सोच हामीमा छैन । मित्र नै भए पनि त्यस्तो गल्ती गर्नेलाई साथ दिन हाम्रो नैतिकताले दिँदैन । बरु हामी त भन्छौँ, जाऔँ यो भ्रमको दुनियाँमा नबसी आमूल परिवर्तनको मार्गमा हिँडौँ, फोहर दुर्गन्धित पोखरीमा होइन कञ्चन तलाउमा पौडी खेलौँला र कसैले कतै भनेको सुनेको थिएँ – अत्यन्त दूषित पानीमा खेलेर रमाउने प्राणी मनुष्य हुन सक्दैन ।
हाम्रो वर्तमान व्यवस्था बहुदलीय व्यवस्था हो । यसले निर्दलीयताको परिकल्पना गरेको छैन । मुखले बहुदल भन्ने व्यवहारमा पञ्चायती निर्दलीयता प्रदर्शन गर्नु प्रजातन्त्रको मर्म होइन । मान्छे पूर्ण नहुने हुनाले गल्ती गर्छ । त्यस्तो गल्ती हुँदा औँल्याउने र सच्याउने आवश्यक भएकैले विपक्षको बन्दोबस्त गरिएको हो । जनताको आदेशबमोजिम नेमकिपा विपक्षमा बस्छ । भिड जतातिर लाग्छ त्यतै एकोहोरिने समस्या नेमकिपासँग छैन । दुई डुङ्गामा पाइला टेक्नु राजनीतिक बेइमानी हो भन्ने ठम्याइ नेमकिपा राख्छ ।
जाँदाजाँदै मनमा एउटा कुरा साँचेर राख्न मित्रवत् तवरले सुझाउँछौँ– क्ष्लतभनचष्तथ यच जयलभकतथ ष्क मयष्लन तजभ चष्नजत तजष्लन, भखभल धजभल लय यलभ ष्क धबतअजष्लन अर्थात् कोही कसैले नदेखे पनि या नदेखेझैँ गरे पनि सही तथा सत्य कर्म गर्नु नै इमानदारी हो । हामी त यसमा सदा अडिग रहन्छौँ र जिम्मेवारी सम्हाल्न तयार मुख्यमन्त्री र मित्रहरू पनि रहने झिनो आशा साँचेका छौँ । अध्यक्ष माओले भन्नुभएको थियो, “शत्रुले प्रशंसा गरे होस गर्नु ।” अर्को भनाइ छ – ‘‘शत्रुले प्रशंसा गर्छ तर मित्रले आलोचना” तसर्थ, यो पटक हामी आलोचक बन्ने छौँ । संसदीय प्रजातन्त्रको सौन्दर्य भनेकै आलोचना, विरोध तथा प्रतिपक्ष हो । हाम्रो संविधानले प्रतिपक्षविहीन संसद् कल्पना गरेको छैन । हामी संविधान लत्याएर स्वार्थ पूर्ति गर्दैनौँ । हामी प्रतिपक्षी आवाज बन्नेछौँ । कामदार जनताका वास्तविक वारेसको भूमिका निर्वाह गर्नेछौँ र कुहिएका अण्डा भएका टोकरीमा सबै अण्डा नमिसाई तीन वटा भए पनि चोखो, सद्दे बाँकी राख्नेछौँ । कुनै दिन देश र जनताका निम्ति त्यो झनै उपयोगी तथा महत्वपूर्ण हुनेछ । तसर्थ, नेमकिपाको मत विपक्षमा ।
(बाग्मती प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राख्नुभएको विश्वासको मतको प्रस्तावमाथि माघ ३ गते भएको छलफलमा भाग लिँदै नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले राख्नुभएको विचार– सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *