समाजवादउन्मुख राज्य व्यवस्थाको आधारमा बजेट ल्याउनुपर्छ
- जेष्ठ १०, २०८३
निर्वाचनबाट समाजवाद आउँदैन भन्ने कुरामा नेपाल मजदुर किसान पार्टीको धारणा स्पष्ट छ । पुँजीवादी निर्वाचन स्वच्छ र निष्पक्ष नहुने कुरामा पनि नेमकिपा स्पस्ट छ । पुँजीवादी सरकारको भागबन्डा पाउन सत्तासीन दलका नेताहरू अनेक छलछाम र अनैतिक काम गर्छन् भन्ने कुरा व्यवहारले देखाइरहेको छ । पदकै निम्ति प्रमुख प्रतिपक्षमा रहेको नेका प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सरकारको समर्थन गर्न पुग्यो । नेपाल मजदुर किसान पार्टी त्यस्तो द्वैधचरित्रको राजनीति गर्दैन । नेमकिपा पद र कुर्सीको निम्ति राजनीति गर्दैन । नेमकिपाले पुँजीवादी व्यवस्थाले बहुमत जनताको सेवा गर्दैन, गरिरहेको छैन भन्ने जनतामाझ पु¥याउन निर्वाचनलाई उपयोग गरिरहेको हो । नेमकिपाले पञ्चायती व्यवस्थादेखि या पार्टीको स्थापनाकालदेखि प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर देश र जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार चुनावलाई उपयोग गर्दै आएको हो ।
नेपाली सम्पत्ति र पुँजी विदेशमा लान नपाउने ऐनकानुन तत्काल बनाउन आवश्यक छ भन्ने धारणा नेमकिपाको हो । नेपाली पुँजी विदेशमा राख्नुको सट्टा विकासमा देशकै राष्ट्रिय पुँजीपतिमार्फत देशका लागि आवश्यक उद्योग तथा कलकारखाना सञ्चालनमा जोड दिनुपर्ने धारणा पनि नेमकिपाको हो । व्यक्तिको सम्पत्ति सिमाङ्कन जरुरी छ । प्रजातन्त्रको मूल्य र मान्यताविपरीत या प्रजातन्त्रविरोधी तीन प्रतिशतको मत सीमा खारेज गराउन, कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो र पच्छिम सेतीलगायत असमान सन्धि सम्झौता तथा सन् १९५० को असमान सन्धि खारेज गराउन नेमकिपा सङ्घर्षरत छ । देशमा भ्रष्टाचारी, कालाबजारिया, तस्कर, कानुन हातमा लिएर गुण्डागर्दी गर्ने, आतङ्क मच्चाउने, उच्छृङ्खल गतिविधि गर्ने, चोरी चकारी गर्ने कार्यको नेमकिपा विरोध गर्छ । अन्धविश्वास, कुरीति, विकृति, विसङ्गति अन्त्य गर्न र गराउन नेमकिपाका नेता र कार्यकर्ताहरू जनचेतना जगाउने अभियानलाई अझ निरन्तरता दिन आवश्यक छ ।
नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती केन्द्र खारेज गराई स्वदेशमै रोजगारीको बन्दोबस्त गराउन नेमकिपा सङ्घर्षरत छ । अपराधीहरूको पक्ष लिने, अपराधी र अपराधलाई संरक्षण गर्ने दल र दलका नेताहरूविरुद्ध पनि नेमकिपाले आवाज उठाइरहेको छ । प्रगतिशील कर लागु गरेर देशको आयस्रोत बढाउनुपर्छ भन्ने मान्यता नेमकिपाको हो । तर, सत्तासीन दलका नेताहरू ठूलठूला धनाढ्यहरूलाई करमा मिनाहा गर्छन्, भ्रष्टाचारी र कमिसनखोरहरूको संरक्षण गर्छन् । महिला बेचबिखन गर्ने, बालबालिका बेपत्ता पार्ने, अपहरण गरेर पैसा असुल्ने, रोजगारी र यथेष्ट पैसा कमाउने प्रलोभन देखाएर महिलालाई बेश्यालयमा पु¥याउने आपराधिक र निन्दनीय कामको पनि नेमकिपाले विरोध गरिरहेको छ । देशलाई सिक्किम बनाउन खोज्ने ‘नेपाली लेन्डुपहरू’ लाई जनतामाझ उदाङ्ग्याएर देशभक्तिको भावना विकास गराउने काममा नेमकिपाका नेता तथा कार्यकर्ता लागिपरेका छन् । नेमकिपाका यी विचार, अवधारणा र गतिविधिहरू सबै देश र जनतासित सम्बन्धित छन्, देश र जनताप्रति समर्पित भएर नेमकिपा लागिरहेको यथार्थ हो ।
Leave a Reply