भर्खरै :

‘ठाडोभाकाको लोक–सांस्कृतिक इतिहास’ पढ्दा

‘ठाडोभाकाको लोक–सांस्कृतिक इतिहास’ पढ्दा

पुस्तक परिचय

विभिन्न जनजाति, भाषाभाषी, धर्मावलम्बीहरूको यो देशमा आ–आफ्नो विभिन्न भाकामा गीत, नाचगान, वाद्यवादन, रीतिरिवाज, भेषभूषा, कला, संस्कृति र चालचलन छन् । मौलिक संस्कृतिका प्रतिपादक, प्रवद्र्धक देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङबाट ठाडोभाकामा सुरु गरिएको यो लोक संस्कृतिलाई जीवन्तता दिन बौद्धसिं गुरुङ र उनका उत्तराधिकारी मोतीलाल गुरुङले योगदान गरेका थिए । यसलाई गण्डकी प्रदेश लमजुङ जिल्लाको दुराडाँडाका नेपाली लोक साहित्यका एक साधक र अन्वेषक लालबहादुर भुजेलले २०७५ वैशाख १ मा पहिलो संस्करणको रूपमा ‘ठाडोभाकाको लोक–सांस्कृतिक इतिहास’ पुस्तक प्रकाशन गरे । ठाडो भाकामा गीत गाउने गायक गायिकाहरूको अभाव भइरहेको बेला ठाडोभाकाको विभिन्न गीतसहित प्रकाशित यो अनुसन्धानमूलक ग्रन्थले ठाडोभाकाबारे सबैलाई सुसूचित पार्ने काम गरेको छ ।
दोहोरी गीतको जननी मानिने ठाडोभाकामा पारखीहरू गाएर, नाचेर, सुनेर र हेरेर मन्त्रमुग्ध हुन्थे । संस्कृतिकर्मी, कवि, कलाकार, गायक, सङ्गीतकर्मी रहेको जन्मथलो लमजुङमा गाइने एक विशिष्ट विधा हो ठाडोभाका । यस गीतको आरम्भ केटाले गर्छ र केटी पक्षले छोप्ने प्रयास गर्छ । केटीतिर गीत उठाउने–छोप्ने र केटातिरबाट ‘होला देरो यसै माया जाल’ वा ‘हो भन्छु र यसै माया जाल’ भनेर गाइने विधा हो ठाडोभाका । वि.सं. १९५४ सालतिर लमजुङ जिल्लाको हाँडीखोला, ठूलो वर्धनमा जन्मेका देउबहादुर दुरा र कास्की रबैडाँडामा वि.सं. १९४७ मा जन्मिएका पञ्चसुब्बा गुरुङबिचको ठाडोभाकाबाट यो गीतको जुहारी चलेको प्रसङ्ग पुस्तकमा उल्लेख छ । यो गीतको मुख्य विशेषता नै गीत उठाउने र छोप्ने हो । पुस्तकमा उल्लेख भएअनुसार गीतमा ठाडो सवाल–जवाफ हुँदैन, अनुनय–विनय शैलीमा सभ्य ढङ्गले गीत गाइन्छ । छेडछाड या होच्याउनै परे पनि नम्र र सहिष्णु ढङ्गले हुन्छ ।
ठाडोभाकाका गीतहरू दुर्गम भेगका निश्चित जातजाति, वर्ग समुदाय, हाटबजार, गोठाला–खेताला, घाँस दाउरा गर्दा, गाउँ बेसी बीउबिजन छर्दा, काट्दा गाउने गरेको आकलन गरिएको छ । यो गीत धवलागिरि सुन्दर भेगबाट विक्रम संवत् १९१४ तिर ‘ठाडोधारा ठकुरीको, तेर्साे भाका खसको’ भन्ने गीत अलाप्दै बौद्धसिं गुरुङ हंसपुर आइपुगेको बताइएको छ । बौद्धसिं गुरुङले गाएको सो गीतको अनुशरण गर्दै मोतीलाल गुरुङले निरन्तरता दिएको पाइन्छ । यसरी नै ठाडोभाकाप्रति उत्साहित र उत्प्रेरित भएर अन्य त्यस्तै गायक गुरुङहरूले साथ दिएर गीतले जीवन्तता पाएको वर्णन छ । सुन्दा कर्णप्रिय लाग्ने, भोक प्यास भाग्ने, गाउँ–घरमा घाँस दाउरा, भारापर्ममा गाइने यो लोक संस्कृतिको मौलिक स्वरलाई निरन्तरता दिनुपर्ने अध्ययन अनुसन्धान तथा खोजीनीति गर्ने स्रष्टाहरूको माग छ । लोक गायन र लोक संस्कृतिमा अब्बल मानिने लमजुङ जिल्लाका गुरुङ, दुरा र अन्य जनजातिले ठाडोभाकामा गीत गाउँथे । लोकदोहोरी, झ्याउरे गीतको मूल मानिने ठाडोभाकाको गीतको उद्मस्थल एवम् गीत सङ्गीतको उर्वर क्षेत्र लमजुङ मानिएको छ ।
पुस्तकमा ठाडोभाकाका गीतहरू पनि छन् । गीतको एक अंश यहाँ प्रस्तुत छ–
‘हा…..हा…..जो आउँछन् भक्तपुरमा, यसको विशेषता, नाम चलेको जुजुधौ, ऐतिहासिक सहरमा घुम्ने गर्छन्, माग पु¥याउन गा¥हो भो ।’
हा…. ‘माग पु¥याउन गा¥हो भो ।’
हा… भन्छ र यसै मायाजाल, माग पु¥याउन गा¥हो भो ।’
यसरी नै गीतमा ‘राजनीति छ अस्थिर, खोइ सरकारी नीति ?’ ‘दलालले झुक्याएर मुम्बई, कोलकत्ता, दिल्ली, चेली परे बिचल्ली’, ‘परापूर्व कालमा मान्छे मान्छेबिच विषमता, म ठूलो र तँ सानो भएन समता’, ‘गुरुङको बच्चा, उमेर कच्चा, दाउरेले रुख ढाली गिँड्यो’, दुई चार कक्षा के पढेको लाहुरे हुन भनी हिँड्यो, दस नङ्ग्राले खियाएको धन दौतल साँचियो, छोरो मात्तियो ।’ जस्ता होला देरो यसै मायाजाल, छोरो मात्तियो बोलका गीतहरू पुस्तकमा सङ्ग्रह गरिएका छन् । त्यस्तै सरकारी अस्पतालमा डाक्टरहरू भाग्छन्, क्लिनिक खोली डाक्दछन्,’ ‘जसले गर्छ चाकडी–चाप्लुसी उसैसँग हुन्छ हाकिम खुसी’, ‘स्वदेशमै उब्जनीको बढी सम्भावना, तर पनि आयात गर्ने बढ्यो कुभावना’, ‘कुप्रथा र कुसंस्कार, महिला हिंसा बारम्बार, बलात्कारको शिकार,’ ‘मधेसमा दहेजको विकराल होड, माइतीलाई गलगाँड’ आदि गीतहरू ग्रन्थमा रहेका छन् ।
बौद्धसिं गुरुङले ठाडोभाकामा सृजना गरेको रचना नै सम्भवतः ठाडोभाकाको पहिलो गीत भएको स्रष्टाहरूको विश्लेषण छ । उनकै साथ सङ्गत पाएर मोतीलाल गुरुङ ठाडोभाका गीतका अनुयायी बने । गुरुङ पहिरनमा सजिएर, मादल ठोकेर, भाव–भङ्गी, हाउभाउ गर्दै कम्मर मर्काउँदै बसउठ गरी नाचगान हुन्थ्यो– ठाडोभाकाको गीतमा । गीतमा अँध्यारा–उज्याला मोड, ग्रामीण जनजीवनमा आइपर्ने सुखद र दुःखद घटना, हृदयस्पर्शी मन, कारुणिक विछोड र मिलनको सङ्गम, कठोर र असमान विभेदकारी अवस्था, समाजमा विद्यमान अराजकता, विकृति, कुसंस्कार, अन्धविश्वास र रुढिवादी मानसिकताका स्वरहरू पाइन्छ । युवा–युवतीमा विदेशी मोह, विश्वासपात्रबाटै घात प्रतिघात, जीवनका अनेक वेदना, जन्मभूमिप्रतिको मोह आदि विषयमा गीत रचेर, गाएर, सुनाएर ठाडोभाकाको लोक संस्कृतिलाई जीवन्तता दिने प्रयास नेपाली लोकसाहित्यका एक साधक, अन्वेषक लालबहादुर भुजेलको प्रयास सराहनीय छ । तर, लेखक भुजेल हाल ठाडोभाकाका गीत गाउने गायक गायिकाहरूको कमीले चिन्तित छन् । कतै यो गीत पनि कुनै दिन सङ्कटमा पर्ने त होइन भन्ने उनको चिन्ता अस्वाभाविक होइन ।
ठाडोभाका देशकै संस्कृति र सभ्यताको परिचायक हो । यस्ता ठाडोभाकाका गीतहरूलाई जीवन्तता दिन बरोबर सांस्कृतिक कार्यक्रमहरू गरिरहनुपर्ने देखिन्छ । गायक गायिकाहरूले बजाउने मादल, मजुरा, सारङ्गी, बाँसुरी (मुरली), घुँघरा, कल्ली तथा लाउने पोशाकको व्यवस्था गर्नुपर्ने देखिन्छ । ठाडोभाकाका गीतलाई स्थानीय तहको पाठ्यक्रममा समावेश गरेर, बेलाबखत गीत प्रतियोगिता गरेर पनि जनतामाझ ठाडो भाकालाई चिनाउन सकिन्छ ।
स्व. देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङद्वारा सृजना गरी निश्चित भेग र जाति सम्प्रदायमा प्रचलित, मनमोहक तर लोपोन्मुख ठाडोभाका विधाले एउटा छुट्टै पहिचान र दुर्लभ लोक संस्कृति मुखरित हुनु राम्रो पक्ष हो । लमजुङका बासिन्दाहरूको मौलिक पहिचानको रूपमा परिचित रहरलाग्दो, रसिलो र गीतको पारखीको मन जित्ने ठाडो भाकाका गीतलाई जीवन्तता दिने प्रयास स्वागतयोग्य छ । भौगोलिक, ऐतिहासिक, धार्मिक, लोकजीवनका मर्मस्पर्शी पारा, सरल, स्पष्ट र लोकभाकाको सदा शङ्खनाद गर्दै लोक संस्कृतिलाई शिरोधार्य गर्नु आवश्यक छ ।
लेखक, अनुसन्धाता लालबहादुर भुजेलको यो ‘ठाडोभाकाको लोक–सांस्कृतिक इतिहास’ अनुसन्धान ग्रन्थ हो । लेखक भुजेलले यस्तै लोक संस्कृतिको गाथासम्बन्धी अनुसन्धानमूलक ग्रन्थहरू प्रकाशित गर्दै जाने आशा गर्नु स्वाभाविक हो । लेखक भुजेल र पुस्तक प्रकाशित गर्ने चाँगुनारायण साहित्यिक समाजप्रति साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *