भर्खरै :

भविष्यको इतिहास

भविष्यको इतिहास

कविता
समय परिस्थितिले
बदलिएको यो परिवेश,
कसैले नचिताएको
घटना, परिघटनाहरू
यो समाजमा
घरी घरी देख्न पाइँदोरहेछ ।
भेडा बाखाले त घाँस खान्छ
जातै घाँस खाने
सबैलाई थाहा भएकै हो ।
आज बदलिएको परिवेशमा
कुकुरले पनि घाँस खाएको देख्दा
जो कोहीलाई अचम्म लाग्छ !
भूतले वर्तमानलाई
अगाडि बढ्न बाटो देखाउँछ,
वर्तमानले भविष्यलाई
त्यसैले
इतिहासका पानाहरू नै
भविष्यका ऐना बनिदिन्छन् ।
इतिहासकारहरूले
समय र परिस्थितिलाई
आफ्नै अनुकूलतामा
ढाकछोप गरी इतिहास कोछ भने
त्यो मात्र कोरा इतिहास बन्छ ।
कुकुरले घाँस खाएको
कसले पो पत्याउला र !
आजको समयमा
सत्य कुरा त तीतै लाग्छ ।
यही अभिलेख
भोलिको इतिहास बन्छ
समय र परिस्थितिलाई
सृजना गरेको परिवेशमा
घटेको घटना नै
सत्यताको इतिहास बन्छ ।

२०७९–९–२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *