भर्खरै :

भविष्यतिर हेरौँ !

भविष्यतिर हेरौँ !

कथा
बिहानको ९–१० बजे नै कौसीमा न्यानो घाम झुल्किसकेको थियो । नजिकको पोखरीको डिलमा टोल–छिमेकका मानिसहरू कुराकानीमा व्यस्त थिए । आवास क्षेत्रका घर–घरका स–साना नानीहरूलाई विद्यालय पठाउन अभिभावकहरू व्यस्त थिए । सडकमा विद्यालय जाने छात्र–छात्राहरू र शिक्षक–शिक्षिकाहरूको आवतजावत पनि बाक्लिँदै थियो । सुवास कोठाबाट निस्केर कौसीबाट बाहिरका गतिविधि नियाल्दै थिए । छर–छिमेकीहरू झ्याल र कौसीबाट हातको सङ्केतले अभिवादन आदानप्रदान गर्दै थिए । घरका आमा र बुहारीहरू कराएरै ‘भाउजू सञ्चै हुनुहुन्छ’ वा ‘चिया खानुभयो ?’ वा ‘खाना खानुभयो’ जस्ता व्यावहारिक भलाकुसारी हुन्थ्यो ।
‘श्रीमान्जी, के अवलोकन गर्दै हुनुहुन्छ, बिहानैदेखि ?’ समाले व्यङ्ग्यात्मक शैलीमा भन्दै कौसीमा प्रवेश गरिन् र सुवासको हात समाइन् । ‘के हेर्नु, समाज ! बज्यै र आमाहरू नातिनातिनाहरूलाई बालउद्यान र प्राथमिक विद्यालय पु¥याउँदै छन् । शिक्षक–शिक्षिकाहरू फटाफट आ–आफ्ना विद्यालय र कलेजतिर लम्कँदै छन् । सँगैसँगै विद्यार्थी पनि देखिन्छन् ।’
‘यो त सत्य हो, यो हाम्रो समाजको एक झलक हो ! यसमा दुईमत छैन ।’ समा एकछिन हँसिलो मुहारले श्रीमान्तिर हेर्दै प्रश्न गर्छिन् – ‘हजुर ! केही गम्भीर पनि त हुनुहुन्छ, होइन त ?’
‘हो, समा ! आफ्नो मुख आफैले देख्न सकिन्न ऐनाविना ! हेर त समा, आकाश त सफा छ होइन ?’ सुवासले समाको प्रश्नमा प्रतिप्रश्न ग¥यो ।
‘भित्र जाऔँ’ भन्दै समाले श्रीमान्को हात समातेर कोठामा लगिन्, सुवासलाई बेन्चमा बसालिन् र आफू खाटमा बसिन् । ‘के मलाई एउटा प्रश्न सोध्न अनुमति दिनुहुन्छ, श्रीमान् ?’ ठट्टा मिसिएको स्वरमा समाले भनिन् । ‘अवश्य ! खुसीसाथ’, सुवासले उत्तर दियो ।
एकै छिनमा समा गम्भीर भएर सुवासको हात समाएर खाटमा आफू नजिक बसालिन् र भनिन्, ‘लकडाउन छ, सबै यातायात र हवाई सेवा बन्द छ, औषधि सिधिएको दुई हप्ता भयो, डाक्टरहरू अतालिएका छन्, सम्भवतः म धेरै दिन तपाईँको सहयोगी बनिरहन सक्दिनँ हुँला, यसकारण बिन्ती छ– तपाईँ आफूलाई मन परेकी केटीसँग विवाह गर्नुस् र मलाई सन्तोष र शान्तिपूर्वक जान दिनुस् ।’ समाले बरर आँसु झार्दै सुवासको हात बेसरी समाइन् ।
सुवासले आफ्नो सानो रूमालले समाको आँसु पुछ्यो र समाको हात समाई सम्झाउँदै भन्यो, ‘संसारमा धेरै कुरा छिटछिटो परिवर्तन हुँदै छ । रेडियो, टीभी र मोबाइलले औषधि बजारमा आउने भन्ने खबर दिन बेर छैन । तिमी किन निराश हुन्छौ ? समा ! आशावादी बन्ने प्रयास गर !’
‘तपाईँ मलाई मेरो प्रश्नको सकारात्मक उत्तर दिनुस् न !’ समाले जिद्दी गरिन् ।
“समा, के तिमी ४० वर्षअघिकै कुरा सम्झँदै छौ ?” सुवासले प्रश्न ग¥यो ।
‘होइन, म सन् २०२२ को कुरा गर्दै छु । मैले तपाईँलाई जीवनमा सुख दिन सकिनँ, त्यसैले अहिले मलाई आगोले पोलेजस्तै मनमा चहराइरहेछ ! म अभागी रहेछु !’ समा फेरि बरर आँसु खसाल्दै सुवासको दुवै हात समातेर रून थालिन् ।
“समा, तिमी युगलाई किन मूल्याङ्कन गर्दैनौ ? तिमी भाग्यमानी छौ ! तिमीले कति युवा–युवतीलाई २१ औँ शताब्दीको योग्य पुस्ता तयार गर्न योगदान ग¥यौ ! तिमीले आफ्नै घर र समाजको लागि एक छोरी र एक छोरा दियौ – हाम्रो देशको मात्रै होइन मानव समाजकै सेवाको निम्ति ! नयाँ पुस्ता हामीभन्दा झन् योग्य हुनेछन् र उनीहरूले समाज र जनताको लागि योगदान गर्नेछन् ! तिमी चित्त नदुखाउनू, पिर नगर्नू !’ सुवासले सम्झाउँदै मनाउने कोसिस ग¥यो ।
“अब म समाजको निम्ति काम लाग्ने भइनँ, छिटो जान पाए मलाई पनि आराम हुनेछ, सबैलाई बोझ हुन चाहन्न । मेरो इच्छा पूरा गर्ने वचन दिनुस् ! मेरो बिन्ती छ ।”, समाले भनिन् ।
“समा, हामीले आफूलाई होइन हामीभन्दा कष्ट र दुःखमा बाँचिरहेका जनताको बारे सोच्ने गरौँ ! हामीभन्दा माथि सुखले बसेका छन् जसले समाजको ठूलो सम्पत्ति हत्याएर बस्नेहरूसँग नदाजौँ ! समाज हिजोभन्दा आज सजिलो हुँदै छ ! भोलि आजभन्दा राम्रो हुनेछ ! तिमी नआत्तिनू ।” सुवासले सम्झाउने प्रयास ग¥यो ।
समाले रूँदै भनिन्, “भारतीय नागरिक भएर, म दिल्ली गएर औषधि गर्ने मेरो इच्छा छैन ।” “समा, आफ्नै देशमा एक दिन राम्रो र स्तरीय अस्पताल बन्नेछन्” – सुवासले विश्वास दिलायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *