भर्खरै :

असफल डिसेम्बर विद्रोहभित्रका सफल कथाहरू – २

असफल डिसेम्बर विद्रोहभित्रका सफल कथाहरू – २
पुस्तक चर्चा
विद्रोहका नायकहरू
चर्चित डिसेम्बर विद्रोहमा शोषितपीडित जनताको प्रत्यक्ष सहभागिता थिएन । जारतन्त्रकै सत्ताको वरिपरि रहेका पढेलेखेका उच्च ओहोदाका सैनिकहरू थिए, उनीहरूकै अगुवाइमा त्यस विद्रोहको योजनाको अङ्कुरण भएको थियो । ती अगुवा सैनिकहरूमध्ये धेरैजसो रुसी सेनाले नेपोलियनका सिपाहीँहरूलाई धपाउने क्रममा युरोपका विभिन्न देशहरूसम्म पुगेका थिए । त्यसै पनि तात्कालीन समयमा फ्रान्सेली भाषा र संस्कृतिप्रति रुसका कुलीनवर्ग गर्व गर्थे । फ्रान्सेली भाषा, साहित्य र संस्कृतिको लागि त्यतिबेला फ्रान्स युरोपका लागि केन्द्र मानिन्थ्यो । साँच्चिकै तिनीहरू युरोपमा पुग्दा उनीहरूले त्यहाँ विज्ञानको विकास, आधुनिकताको झिलिमिली र उदार राजनीतिको वातावरणको अनुभव गर्थे । साँच्चिकै उनीहरूले आफ्नो देश पश्चिम युरोपका देशहरूको दाँजोमा पिछिडिएकै महसुस गरे ।
पुस्तकमा बयान गरिएजस्तै परिवर्तनको लागि विद्रोहमा होमिएका अगुवा सैनिक अफिसरहरू थिए – सेर्गेइ त्रुबेत्स्कोइ, निकिता मोराभ्योम, येभगेनी ओब्लेन्स्की, सेर्गेइ भोल्कोनस्की, सेर्गेइ मुराभ्योम, पाभेल पेस्तेल, प्योतर काखोभ्स्की, मिखाइल वेस्तुभेज । यी विद्रोहीहरूमा कोही गणतन्त्रवादी थिए भने धेरै संवैधानिक राजतन्त्रका पक्षधर थिए । सायद, उनीहरू धेरै जार राजासँग धेरै निकट भएका कारण नै संवैधानिक राजतन्त्रका पक्षधर हुन पुगे । संवैधानिक राजतन्त्रवादी र गणतन्त्रवादीको दुई खेमाका विचारले गर्दा मुक्ति सङ्घ नै विभाजित भएको थियो । दक्षिणको सङ्घमा गणतन्त्रवादीको बहुमत थियो भने उत्तरी सङ्घमा संवैधानिक राजतन्त्रवादीको प्रभाव थियो । डिसेम्बर महिनाको विद्रोहमा सहभागी भएकाले समग्रमा यी विद्रोहीहरूलाई डिसेम्ब्रीस्ट (The Decembrists, Russia’s First Revolutionaries) भनियो ।
विद्रोहका नायकहरूमा पेशेवर सैनिक अफिसरहरूमात्र थिएनन् । बरु, कोन्द्राती रिलेयभजस्ता गैरसैनिक पनि थिए जो सैनिक, शिक्षक, कवि, अदालतमा न्यायाधीशको सहयोगी, व्यापारिक कम्पनीको जागिरे हुँदै गोप्य समाजका सदस्य र प्रमुखमध्येका एक थिए ।
डिसेम्बर विद्रोहका यी अगुवाहरूमध्ये प्रभावशाली र अन्यभन्दा पाको मिखाइल सेर्गेइभिच लुलिन थिए । लुलिन डिसेम्बर विद्रोहको चार महिनापछि पक्राउ परेका थिए । उनी जार सम्राट अलेक्जेन्डरका निकट र प्रियपात्र थिए । उनी अध्ययनशील र स्वतन्त्ररूपले घुमफिर गरी नयाँ नयाँ कुराको जानकारी पाउन उत्सुक व्यक्तित्व पनि थिए । फ्रान्सको यात्रा र बसाइँमा उनले सेन्टसाइमनजस्ता काल्पनिक समाजवादी विचारकहरूलगायत अन्य बौद्धिक व्यक्तित्वहरूसँग पनि सत्सगत गर्ने मौका पाएका थिए । साइबेरियाको दोस्रो जेलजीवनकै क्रममा उनले डिसेम्बर विद्रोहका बारेमा पुस्तक लेख्ने प्रयास गरे । उनलाई लागेको थियो दश वर्ष बितिसक्दा पनि डिसेम्बर विद्रोहको बारेमा केही लेखिएको थिएन । यहि कुरालाई मनन गरी पुस्तक लेख्ने जमर्को गरे लुलिनने । तर, जारका गुप्तचरहरूले त्यसको सुइको पाएपछि जारकै आदेशमा उनको हत्या हुन्छ ।
विद्रोहसँग पुश्किन, टोल्सटोय र हर्जेनको साइनो
रुस विश्व साहित्यमा अग्रस्थानमा रहेको देश मानिन्छ । पुश्किन, टोल्सटोय, गोर्की, चेखोब, दोस्तोभस्की रुसी साहित्यलाई धनी बनाउने केही साहित्यकारहरू हुन् । कवि पुश्किनलाई आधुनिक रुसी भाषा र साहित्यका पिता मानिन्छ । डिसेम्बर विद्रोहको बेला उनी २६ वर्षका जवान र कुलीनवर्गबिच प्रख्यात कवि भइसकेका थिए । उनका धेरैजसो साथीहरू डिसेम्बर विद्रोहमा सहभागी भएकाले उनी पनि प्रत्यक्षरूपमा जोडिएका थिए । भनिन्छ, पुश्किन पिटर महानका वंशज र नातापातासँग जोडिन पुग्छ । त्यसैले होला जार राजासँग पुश्किन आँखामा आँखा जुधाएर कुरा गर्थे रे । तर, पुश्किन सुझबुझका साथ देशमा परिवर्तन ल्याउनुपर्छ भन्ने भावनाले नै आफूलाई विद्रोहमा सहभागी भएका थिए । पुस्तकमा चर्चा गरिएअनुसार डिसेम्बर विद्रोहपछि जन्मिएका लेभ टोल्सटोयको विश्वविख्यात उपन्यास ‘युद्ध र शान्ति’ यही डिसेम्बर विद्रोहसँग साइनो राख्छ भन्ने जानकारीको रहस्योघाट्न यो पुस्तकले गरेको छ ।
डिसेम्बर विद्रोहलाई केन्द्रमा राखेर साहित्य रचनामा (उपन्यास) लागेका टोल्सटोयले आफ्नो कथा योजनालाई तीन भागमा बाँडेका थिए – पहिलो, विद्रोहको पृष्ठभूमि, दोस्रो, विद्रोहको वर्णन र तेस्रो, साइबेरियामा निर्वासनपछि फर्केका डिसेम्बरवादीहरूको जीवनचर्या । तर, दोस्रो र तेस्रो योजनाअनुसार उनी अगाडि जान नै पाएनन् र विद्रोहको पृष्ठभूमिले नै ‘युद्ध र शान्ति’ तयार भयो । टोल्सटोय दोस्रो र तेस्रो भाग लेख्न उनी किन अगाडि जान सकेनन् भन्नेबारे पुस्तकमा गरिएको चर्चाले पाठकलाई सोचनीय बनाएको छ ।
अलेक्जेन्डर हर्जेल रुसमा समाजवादी विचारका पिता मानिन्छ । नेपोलियनले रुसमा आक्रमण गरेको साल सन् १८१२ को अप्रिलमा जन्मेका हर्जेल डिसेम्बर विद्रोहका बेला १३ वर्ष भएकाले उनले यसमा सक्रिय सहभागिता त जनाउन पाएका थिएनन् । तर, आफ्नो जीवन राम्रो र पवित्र कामको लगि समर्पित गर्नुपर्छ भन्ने दर्शनबाट प्रेरित भएका हर्जेल पछि आएर डिसेम्बर विद्रोहको अभिलेखीकरण गर्ने पहिलो व्यक्तित्व बने । पुस्तकमा हर्जेलको विवरणले रुसमा पछि हुने समाजवादी आन्दोलनहरूलाई कसरी ऊर्जा थप्न सक्यो भने जानकारी पाठकहरूले सहजै पाउँछन् ।
असफल विद्रोहले दिएको उज्यालो सन्देश
डिसेम्बर विद्रोह सफल त हुन सकेन । केही सय विद्रोहीहरू मारिए, मुख्य अगुवाहरूले फाँसीको सजाय पाए । धेरैलाई साइबेरियाको कठोर निर्वासनमा पठाइए । कोहीले बीस वर्ष त कोहीले ३० वर्षसम्मको निर्वासनको सजाय भोगे । जेलबाट रिहा भइसकेर पनि धेरैले निरङ्कुश जारको कठोर निगरानीमा परे भने कसैले आफ्नो पुरानो प्रतिबद्धताअनुसार जारकै विरुद्धमा कार्यरत भएकाले फेरि निर्वासनको सजाय पाए । अगुवा विद्रोहीहरूमध्ये एकाधले बाहेक सबैे आफ्नो विचारमा अडिग देखिए । साइबेरियाको कठोर जीवनलाई विद्रोहीहरूले सहजै आत्मसात गरेर उत्साहका साथ सृजनशील कार्यमा आफूहरूलाई समाहित गरे, नयाँ जीवनको थालनी गरेको विवरण ज्यादै रोचक, उत्साहजनक र प्रेरणादायी छ । साथै, हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने कथनलाई विद्राहीहरूले चरितार्थ गरेको विवरण पुस्तकले दिन्छ ।
साइबेरियाको कठोर हावापानीमा पनि नयाँ–नयाँ बीउबिजन र बालीको प्रयोग गरी खेतीपातीको सुरुवात गरेको, साथीभाइहरूलाई पठन–पाठनको वातावरण दिन विद्यालयको स्थापना गरेको, बौद्धिक छलफलको परम्पराको थालनी गरेको र डिसेम्बरवादीहरूकै कारणले साइबेरियामा पहलो पुस्ताका बुद्धिजीवीहरूको उदय भएको तथ्य पुस्तकको सातौँ अध्यायमा चर्चा गरिएको छ । निर्वासनमा परेका विद्रोहीहरूले देखाएको साहस र नैतिकवान जीवनका बारेमा मात्र पुस्तकमा चर्चा सीमित छैन । कैदमा परेका विद्रोहीहरूमध्ये धेरै अविवाहित भएका तर विवाहित केहीका महिलाहरूले महिनौँ महिनौँ लगाएर घरबार छोडेर साइबेरियामा आफ्ना श्रीमान्हरूको सेवामा आफूलाई समर्पित गर्ने साहसिक क्रान्तिकारी महिलाहरूका कथाका विवरणहरू पुस्तकमा समावेश गरिएका छन् । पुस्तकको यस अध्यायले क्रान्तिको बाटोमा होमिने जो कोहीलाई ऊर्जा र उत्साह प्रदान गर्छ भन्ने सन्देश पाठकहरूले पाउँछन् ।
पुस्तकमा विभाजन गरिएका १२ अध्यायहरूमा उही घटना र प्रसङ्ग धेरै ठाउँमा दोहोरिँदा पाठकहरू अलमलमा पर्नु स्वाभाविक हो । सायद हतारमा पुस्तक प्रकाशन भएकोले ठाउँ–ठाउँमा मुद्रण गल्तीहरू देखिन्छन् । पुस्तक आकारमा सानो छ, तर यसले दिएको विवरण अति गहकिलो र महत्वपूर्ण छ । यस पुस्तक प्रकाशनले नेपालको समाजवादी आन्दोलन र परिवर्तनको लागि होमिने जो कोहीलाई नयाँ ऊर्जा दिनुको साथै दिशा निर्देश पनि गर्छ । त्यसैले, नेपालको कम्युनिस्ट आन्दोलनको साहित्यको भण्डारमा यो पुस्तक एक गहकिलो खुराक हुने आशा गर्न सकिन्छ । त्यसैले, लेखक भुलक्कड र प्रकाशक नेपाल क्रान्तिकारी युवा सङ्घलाई साधुवाद !
– समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *