भर्खरै :

“जनमतलाई नगरको विकास र समृद्धिमा रूपान्तरण गर्न प्रयासरत छौँ”

“जनमतलाई नगरको विकास र समृद्धिमा रूपान्तरण गर्न प्रयासरत छौँ”
नेपालभाषा तःमुंज्याले ४३ वर्षदेखि साहित्य र संस्कृतिको माध्यमबाट देश र जनताको सेवा गर्दै आएको छ । यस सम्मेलनले आगामी दिनमा थप प्रभावकारी ढङ्गले काम गर्न ऊर्जा मिलोस् भनी नेपालभाषा साहित्य तःमुज्या परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि देश र जनताको सेवा गर्दै आएको छ । भक्तपुर आजको अवस्थासम्म पुग्न धेरैले प्रत्यक्ष अप्रत्यक्ष योगदान गर्नुभएको छ । हामी निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचन घोषणापत्रअनुसार काम गर्दै छौँ । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हामी दोस्रो कार्यकालका निम्ति पुनःनिर्वाचित भयौँ । अहिले १ वर्ष ४ महिना बितिसकेको छ । यस अवधिमा पहिलो कार्यकालमा सुरु गरेका कैयौँ योजनालाई निरन्तरता दिँदै घोषणापत्रमार्फत जनतालाई दिएको वचन एक एक गरी पूरा गर्दै छौँ ।
ख्वप विश्वविद्यालय स्थापनाको लागि जोड दिने, नयाँ कलेजहरूको स्थापना गर्ने, पहिलेदेखि सञ्चालित कलेजहरूमा नयाँ नयाँ कार्यक्रमहरू सञ्चालन गर्नेलगायत शिक्षासम्बन्धी निर्वाचन घोषणापत्रमा उल्लेखित हाम्रा प्रतिबद्धताहरू हुन् ।
शैक्षिक सुधारमा जोड
ख्वप विश्वविद्यालय सञ्चालनको लागि निरन्तर जोड दिइरहेका छौँ भने ख्वप कलेज अफ ल नयाँ कलेज स्थापना गरी कानुनमा स्नातक तह (बीएएलएलबी) को कक्षा सञ्चालन गर्दै छौँ । अन्य निजी कलेजहरूमा ११÷१२ लाख लिने ५ वर्षे पढाइको हामीले ४ लाख ७० हजारमा पढाइ रहेका छौँ । इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा, अर्थशास्त्रजस्ता विषयहरूमा स्नातकदेखि स्नातकोत्तर तहसम्म सम्पूर्ण नगरवासी विद्यार्थीहरूलाई छात्रवृत्तिमा पढाइरहेका छौँ । कुनै पनि नगरवासी विद्यार्थी गरिबीको कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहोस् भनी शैक्षिक ऋणको व्यवस्था गर्दै आएकोमा हाल ४५० जनाभन्दा बढी विद्यार्थीहरू रु. ५ लाखसम्मको शैक्षिक ऋणमा उच्च शिक्षा हासिल गरिरहेका छन् । प्रत्येक परिवार शिक्षित, सभ्य र सुसंस्कृत बनाउने र समाजलाई रूपान्तरण गर्ने सोचले कार्य गरिरहेका छौँ ।
पहिलेदखि सञ्चालनमा रहेका कलेजहरूमा नयाँ नयाँ विषयहरू स्वीकृति पाउन निरन्तर प्रयास गर्दै छौँ । तर, त्रि.वि हाम्रा कलेजहरूमा नयाँ कार्यक्रम सञ्चालनको लागि स्विकृति दिन तयार छैन । हाम्रा कलेजहरूमा सबै पूर्वाधारहरू छन् , सक्षम जनशक्ति छ, तापनि विभिन्न बहाना गर्दै स्वीकृति दिइरहेको छैन । यस्ता अनेकौँ कारणहरूले गर्दा वर्षको १ लाख १० हजार विद्यार्थी विदेशमा उच्च शिक्षा पढ्न गएका छन् । त्यसबाट झण्डै १ खर्ब रकम बाहिरिएको छ । भारतमा भर्ना खुल्ने अवधिभर नेपालका विश्वविद्यालयहरूमा तालाबन्दी, हडताल, बन्द, तोडफोड हुन्छन् जब बाहिर जाने क्षमता भएका सबै  विद्यार्थीहरू विदेश जान्छन् तब आन्दोलनकारीहरूले सम्झौता गर्छन् र कलेज खोल्छन् । यहाँका प्राध्यापक, बुद्धिजीवीहरू र शासक दलका विद्यार्थी सङ्गठनहरू विद्यार्थी विदेश पठाउनुमा जिम्मेवार छन् ।
विदेशी सल्लाहकारको आधारमा पाठ्यक्रम बनाउने, पाठ्यपुस्तक लेख्ने, विदेशी विश्व विद्यालयबाट सम्बन्धनमा कलेजहरू सञ्चालन गर्न दिने व्यवस्थाले आज नेपाली विद्यार्थीहरू नेपालमै पढ्न चाहँदैनन् । नेपालको शिक्षा क्षेत्र ध्वस्त पार्नुमा साम्राज्यवादी शक्ति र त्यसको इसारामा चल्ने कथित बुद्धिजीवीहरू जिम्मेवार छन् । उनीहरूले आफ्नो बुद्धि र विवेक देश निर्माणमा लगाउनुभन्दा साम्राज्यवादीहरूमा बन्धक राखिसकेका छन् ।
सरकारले नयाँ कानुन बनाएर शिक्षासम्बन्धी नगरपालिकाको अधिकार खोस्न खोज्दै छ । नेपालको संविधान अनुसार १२ कक्षासम्मको सम्पूर्ण अधिकार स्थानीय तहको हो । हाल प्रस्तावित शिक्षा विधेयकले जि.शि.का. पुनः स्थापना गरेर पञ्चायतकालीन शिक्षा नीति लागू गर्न खोज्दै छ । शिक्षा विधेयक नेपालको संविधान र सङ्घीयताको भावनाविपरीत छ । यो कुनै पनि अर्थमा स्थानीय तहहरूका लागि स्वीकार्य हुनसक्दैन ।
स्वास्थ्यबारेको प्रतिबद्धता 
घरदैलो नर्सिङ, वडा वडामा क्रमशः स्वास्थ्य केन्द्र स्थापना गर्दैछौँ र १०० बेडको ख्वप अस्पताल सञ्चालनमा ल्याएका छौँ । ख्वप अस्पताललाई जनताको आफ्नै अस्पतालको रूपमा विकास गर्दै छौँ । उक्त अस्पतालले दैनिक ८/९ सय बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । गत आ.व. २०७९।८० मा ख्वप अस्पतालले देशका ७० जिल्लाका २ लाख २० हजार ४ सयभन्दा बढी नागरिकहरूलाई सेवा प्रदान ग¥यो । नगरवासीलाई निःशुल्क अक्सिजन र निःशुल्क रगतको व्यवस्था गर्दै छिटोछरिटो गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कोशिश गर्दै छौँ । सिटी स्क्यान, एमआरआइजस्ता उच्च स्तरको स्वास्थ्य उपकरण जडानका लागि हामी प्रयत्नरत छौँ । भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमै भएकोले हरेक किसिमको उपचार भक्तपुरमै सम्भव बनाउने हाम्रो तयारी हो । लामो समयसम्म रिफर सेन्टर भनी बदनाम भक्तपुर अस्पताल गत आ.व. मा उत्कृष्ट सेवा गरेर नेपाल प्रथम भयो भने, ३ वर्षअघि वाग्मती प्रदेशको उत्कृष्ट घोषणा भएको थियो ।
आ. व. २०७९।८०को रेकर्डअनुसार घरदैलो नर्सिङका नर्स बहिनीहरूले १३,३७० घर पुगेर ६२,१९० नागरिकसँग भेटघाट गरी स्वास्थ्यसम्बन्धी सामान्य जानकारी लिए भने ६,३५२ जनालाई विशेष उपचार प्रदान गरे । त्यस्तै ख्वप तिलगंगा अस्पतालले १ वर्षमा २८,०३८ जनालाई आँखाको साधारण उपचार प्रदान गर्नुका साथै ७१० जनाको मोतिविन्दुको शल्यक्रिया ग¥यो भने नगर आरोग्य केन्द्रले २८३० जनाको उपचार गरेको देखिन्छ ।
जनतालाई स्वस्थ राख्न नगरका ठाउँ ठाउँमा व्यायामशालाको व्यवस्था गर्दै आएकोमा हाम्रै प्रशिक्षकहरूबाट छिकोङ व्यायाम वडा वडामा सञ्चालन गर्दै छौँ । शरीरलाई स्वस्थ राख्न आफ्नो अनुकूल समयमा व्यायाम गर्न हामी सम्पूर्ण नगरवासीहरूमा आग्रह गर्दछौँ ।
भक्तपुरप्रति पक्षपातपूर्ण व्यवहार 
संविधानमा वित्त आयोगको व्यवस्था छ । त्यसको सिफारिस सबै स्थानीय तहलाई सङ्घ र प्रदेशले विभिन्न शीर्षकमा अनुदानको व्यवस्था गरिएको छ । विशेष, समपुरक र सशर्त  अनुदानको व्यवस्था भएकोमा चालू आ. व. २०८०/८१ को लागि वाग्मती प्रदेशबाट दिइने विशेष र समपुरक अनुदान भनपालाई शून्य बनाइयो । यो संविधान र कानुनविपरीत पूर्वाग्रही र पक्षपातको नमुना हो । यसबारे हामीले वित्त आयोगको बैठकमा कुरा उठायौँ । बैठकले आफ्नो कमजोरी भएकोे स्वीकार ग¥यो । यसरी भक्तपुरको विकासलाई पछि धकेल्न शासक दलहरूले विभिन्न पक्षपात र पूर्वाग्रही व्यवहार गर्दै छन् ।
हाम्रा चुनौतीहरू 
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले कर्मचारी राख्ने अधिकार स्थानीय तहलाई दिएको छैन । प्रदेश लोकसेवाबाट आएका कर्मचारीहरूको भरमा स्थानीय तह सञ्चालन गर्नुपर्ने अवस्था छ । यो स्थानीय स्वायत्त शासन ऐन २०५५ भन्दा प्रतिगामी छ । स्थानीय तहको अधिकार खोसेर प्रजातन्त्र बलियो हुनसक्दैन र स्थानीय तहमा सङ्घ वा प्रदेशले कर्मचारीको व्यवस्था गर्ने प्रणाली सङ्घीय भावनाविपरीत पनि छ ।
– चुनावी घोषणापत्रअनुसार हनुमन्ते खोला सुधारको क्रम जारी छ । भनपा २ सल्लाघारी र भनपा ७ हनुमानघाटमा गरी २ वटा  उपचार पोखरी निर्माणाधीन अवस्थामा छन् । खोला सुधार हाम्रो अर्काे चुनौती हो ।
– देको–मिवा आवास योजनाको जग्गा फिर्ता गर्ने क्रम जारी छ । त्यहाँ केही समस्याहरू देखिएकोमा सरोकारवालाहरूसँग छलफल गरी टुङ्ग्याउने प्रयास गर्दै छौँ । त्यसलाई यथाशिघ्र टुङ्ग्याउने प्रयास भइरहेको छ ।
– सङ्घ र प्रदेश सरकारहरूले संविधानबमोजिम बनाउनुपर्ने साझा अधिकार सूचीमा उल्लेखित कानुनहरू निर्माण नगर्नु अर्काे समस्या हो । स्थानीय तहहरूले कानुनको अभावमा कतिपय कार्यहरू गर्न बाधा भोगिरहेका छन् ।
– स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार जिल्लास्तरीय संरचनाहरू पालिकाअन्तर्गत आउनुपर्नेमा सङ्घ र प्रदेश सरकारले समय समयमा कानुन संशोधन गर्दै यथावत राख्ने प्रयास गरे । कृषि, मालपोत, नगर विकास, सिंचाइ, शिक्षा आदि संरचनाहरू यथावत राख्दा राज्यको खर्च निकै बढ्न गएको छ ।
सीपमूलक तालिमहरूः
प्रत्येक युवाहरूलाई सीप दिने उद्देश्यले भनपाले चिनियाँ भाषा, जापानी भाषा, कुक तालिम र सिलाइ बुनाइ तथा हेयर कटिङजस्ता थुप्रै विषयहरूको तालिम दिहरहेको छ । हरेक युवा सक्षम नागरिक बनेर देश र जनताको सेवामा समर्पित बनाउने हाम्रो उद्देश्य हो ।
सीमित बजेटबिच भनपाले संविधान र कानुनको परिधिभित्र रहेर जनताको साथ र सहयोगमा विकास निर्माण र सेवा क्षेत्रमा कार्य गरिआएको हुँदा आज देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू भनपाको कार्य हेर्न आइरहनुभएको छ । यो ख्वप मोडेलको रूपमा अहिले परिचित हुँदै छ । नेमकिपा र यसका कार्यकर्ताहरू तथा यहाँका जनताले दशकौँदेखि मेहनेत, परिश्रम गर्दै भक्तपुरलाई अगाडि बढाउन जुन अठोट गर्नु भयो त्यसको मूल्याङ्कन बिस्तारै हुँदै छ ।
भक्तपुरलाई थप उचाइमा पु¥याउन निरन्तर हातेमालो गर्दै अगाडि बढ्न आग्रह गर्छु । निर्वाचनमा जनताले दिएको मतलाई शक्तिमा बदलेर भक्तपुर नगरको विकास र समृद्धिमा रूपान्तरण गर्ने हाम्रो प्रशास जारी रहनेछ ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्तिक १० गते सम्पन्न ४३ औँ नेपालभाषा साहित्य तःमुंज्यामा दिनुभएको मन्तव्यको सार सङ्क्षेप–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *