भर्खरै :

विदेशी शक्तिको आडमा राजनीति गर्नु देश र जनताको हितमा नहुने

विदेशी शक्तिको आडमा राजनीति गर्नु देश र जनताको हितमा नहुने

काठमाडौँ, ५ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विदेशी शक्तिको आडमा देशमा राजनीति र राजनीतिक आन्दोलन गर्नु देश र जनताको हितमा नहुने बताउनुभएको छ ।
१२ बुँदे सहमतिमा हस्ताक्षर भएको १८ वर्ष र विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको अवस्थामा ‘देश सञ्चार’का सम्पादक युवराज घिमिरेसित कुराकानी गर्दै उहाँले १२ बुँदे सहमतिमा फरक मत राखेर नेमकिपाले हस्ताक्षर गरेको स्पष्ट पार्नुभयो ।
तत्कालीन माओवादीसँग १२ बुँदे सहमति गर्दै राजतन्त्रविरुद्ध आन्दोलन गर्ने सात राजनीतिक दलमध्ये नेमकिपा एउटा महत्वपूर्ण पार्टी भए तापनि १२ बुँदे सहमति नयाँ दिल्लीमा तयार हुनु र त्यसमा भएको ‘भरपर्दो अन्तर्राष्ट्रिय शक्ति’ शब्दावलीप्रति नेमकिपाको आपत्ति रहेको उहाँले बताउनुभयो ।
गणतन्त्र स्थापना भएयताको अवधिमा शासक नेताहरूले देशको लागि भन्दा पनि विदेशीको लागि बढी काम गरेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले अगाडि भन्नुभयो, “शासक नेताहरूमा विदेशीका लागि काम गर्ने तर देशका लागि नगर्ने प्रवृत्ति हाबी हुँदै गएको छ । अरूका लागि काम गर्नु भनेको दास बन्नु हो ।”
एमसीसी सम्झौता अमेरिकाको हिन्द–प्रशान्त रणनीतिकै एक अंश रहेको र त्यसमा भएका प्रावधानले भावी दिनमा अमेरिकी सेना नेपालमा बस्न आउन सक्ने बताउँदै अध्यक्ष बिजुक्छेँले सिद्धान्तच्युत भएका शासक दलहरूले विदेशी दबाबसामु झुकेर एमसीसी सम्झौतालाई सदनबाट पारित गरेका हुन् भन्नुभयो ।
एमाले–माओवादीजस्ता दलले कम्युनिस्टको नाममा नेपालका प्रगतिशील र कामदार जनतालाई धोका दिएको उहाँले बताउनुभयो । कम्युनिस्ट आचरणबाट ती दलहरू च्युत भइसकेको हुँदा ती दुवै दललाई नाम फेर्न अध्यक्ष बिजुक्छेँले सुझाव दिनुभयो ।
नेमकिपा जातीय सङ्घीयताको पक्षमा नरहेको बताउँदै उहाँले संविधान निर्माणको समयमा शासक पार्टीका संविधानसभा सदस्यहरूमा संविधान र सङ्घीयताबारे कम ज्ञान रहेको कारण अहिले समस्या आएको उल्लेख गर्नुभयो ।
प्रजातन्त्रमा राजतन्त्रवादी वा राजावादीहरूले पनि आफ्नो अभिव्यक्ति राख्ने स्वतन्त्रता रहेको बताउँदै उहाँले त्यसलाई बलपूर्वक रोक्छु भन्नु प्रजातन्त्रविपरीत हुन जाने बताउनुभयो ।
शासक दलका नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई गणतन्त्रबारे राम्ररी तालिम दिनेतर्फ ध्यानै नदिएको चर्चा गर्दै उहाँले सांसद बन्नेलाई संसद्को काम र मन्त्री बन्नेहरूलाई मन्त्रीको जिम्मेवारीबारे जानकारी नभएको उतिबेलै खुलासा भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *