भर्खरै :

पार्टी कार्यकर्ताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा सुसूचित हुनुपर्ने

पार्टी कार्यकर्ताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा सुसूचित हुनुपर्ने

ललितपुर, ३१ वैशाख । नेपाल क्रान्तिकारी महिला सङ्घ गोदावरीको आयोजनामा आइतबार गोदावरी ११ नं वडामा महिलाहरूमाझ २०६ औँ माक्र्स दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले भन्नुभयो, “पार्टीका श्रद्धेय अध्यक्ष रोहितले व्यापक कामदार जनताको सेवाको लागि कार्यकर्ताहरू पार्टीसँग जीवित सम्पर्कमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा सुसूचित हुनुपर्ने, आफ्नो व्यक्तिगत जीवनबारे पनि पार्टीमा जानकारी दिनुपर्ने, पार्टीभित्र प्रतिक्रियावादीहरू घुस्न सक्नेबारे सचेत हुनुपर्ने र अन्धविश्वासको विरोध गर्नुपर्ने निर्देशन दिनुभएको छ ।”
उहाँले पार्टी प्रकाशन, क्रान्तिकारी नेताहरूको जीवनी, विश्वका मजदुर र कम्युनिस्ट आन्दोलनहरूबारे अध्ययन र अन्तरक्रिया गर्ने, कार्यकर्ता, शुभेच्छुक र जनताको राजनीतिक र सांस्कृतिक स्तर उकास्ने कार्य प्रत्येक कार्यकर्ताको हो भन्नुभयो ।
केन्द्रीय सदस्य डंगोलले नेपाली काङ्ग्रेस विदेशी पुँजीको सेवा गर्ने, एमाले भाइ काङ्ग्रेस भएको र माओवादी पार्टी भारतको ‘ट्रोजन हर्स’ को रूपमा प्रयोग भएको उल्लेख गर्दै ती कम्युनिस्ट नामधारी पार्टीहरू तत्कालीन रुसको मेन्सेभिकजस्तै हो भन्दै नेमकिपा माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्तको रूपमा अँगाली कार्य गरिरहेको छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य एन. महर्जनले भारतीय दूतावासले नेपालमा २० करोड रूपैँयासम्मको योजना बनाई सिधैँ खर्च गर्ने र नेपालको दस हजार मेगावाट बिजुली भारतलाई दिने पुस १९ गतेको सम्झौता खारेज गर्नुपर्ने, नेपाली भूमि डुबानमा पर्ने गरी सिमानामा अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले एकतर्फी बनाएका बाँधहरू भत्काउनुपर्ने, नेपालको हितविपरीतका कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, मुगु कर्णाली, अरुण तेस्रो, तल्लो अरुण, अरुण चौथो, पश्चिम सेती, सेती नदी १, फुकोट कर्णाली, पञ्चेश्वरलगायतका सन्धि सम्झौता खारेज गर्नुपर्ने, नेपाली भूमि कालापानीमा बसेका भारतीय सेनालाई तत्काल हटाउनुपर्ने, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि खारेज गर्नुपर्ने, नेपाल–भारतबिचको खुला सीमा बन्द गरी नियमन गर्नु जरुरी भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुर जिल्ला समिति सदस्य लक्ष्मी देसारको सभापतित्वमा भएको कार्यक्रममा मनिता देसारले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *