भर्खरै :

११ औँ जनसाहित्य सम्मलेन- एक अठोट

–चिन्मय
गणेशमान सिँह झोँक्की रहेछन् । जनतालाई ‘भेँडा’ भनिदिए । आज यो आवाज जहाँतहीँका शासकका मुखबाट सुनिन्छ । सञ्चारको उपलब्धताले यसलाई सुश्रव्य बनाइदिएको छ । अमेरिकाको चुनावबाट डोनल्ड ट्रम्पजस्तो मुखाले व्यक्ति राष्ट्रपति भए । महात्मा गान्धीका हत्याराहरुका चेला मोदी भारतीय चुनावबाट प्रधानमन्त्री भए । केपी ओलीले ‘हामी वामपन्थी होइनौँ है’ भन्दाभन्दै पनि नेपाली जनताले ‘यसपटक वामपन्थी गठबन्धन’लाई भनी जिताए ।
के साँच्चै जनता ‘भेँडा’ नै हुन् त ? यो अहम् प्रश्न हो आजको दुनियाँमा । वास्तवमा हिजो सामन्तीकालबाट सत्ताको जुठोपुरो खाईपाई आएका नेपाली शासकका सन्तानहरू राजनीतिमा आए । पढेलेखेका मानिसहरूले चाकडी–चाप्लुसीजस्ता अनेक उपाय लगाएर सत्ताको न्यानोमा हात सेकाए । तर यी सबै गतिविधिबाट टाढा बसेका हिजोका रैतीहरू गाउँका किसान र सहरी मजदुरहरू प्रजातन्त्रपछि आमजनता बनेका छन् । अपवादलाई छोड्ने हो भने उनीहरूलाई अझै पनि जीवन धान्न धौधौ छ । शासकहरूले आमजनतालाई ‘भेँडा’बाट उठाउन चाहेका भए नेपाल अर्कै भइसक्ने थियो । किनभने हिजो अफिम खाएर अनेक अन्धविश्वासमा जकडिएका नेपाली जनताका दौँतरी चिनियाँ जनता आज संसारलाई बाटो देखाउने भइसके । नेपालमा पनि त्यहीँ समयमा प्रजातन्त्र आएको हो । खै त जनतालाई सक्षम बनाएको ? वास्तवमा जनतालाई सक्षम, सचेत र सुव्यवस्थित बनाउनु शासकहरूको लक्ष्य नै थिएन भन्ने यसले देखाउँछ । उल्टो जनताको यो सोझोपना (यसैलाई उनीहरू जनताको ‘भेँडोपन’ भन्छन्) उनीहरूको लागि हरेक चुनावमा सञ्जीवनी बुटी बन्ने गर्छ । जनताको अशिक्षा र गरिबीलाई खरिदेर उनीहरू चुनावपछि अबीर मालाका दाबेदार बन्ने गर्छन् । त्यसैले जनताले आफूलाई उकास्न जरुरी छ । माथिबाट कोही आएर उदार गर्ने औतारी कथा झुट्टा हुन् ।
गणेशमानको भनाईलाई खिज्याइरहेछ–टोखाको जनसाहित्य सम्मेलनले बितेका ११ वर्षदेखि । भ्यालेन्टाइन डेमा त्रिचन्द्र कलेजमा डान्स पार्टी गर्ने कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, त्यस्तै सोही दिनमा लभ लेटर लेखन प्रतियोगिता गर्ने एमालेको विद्यार्थी संगठन अनेरास्ववियु आफ्ना अभिभावकको अमृतवाणीलाई कार्यान्वयन गर्न कम्मर कसेर लागि परिरहेको यो समयमा जनस्तरमा साहित्य सम्मेलन हुनु शासकका लागि हाँक हो । शासकहरू जनतालाई हल्काफुल्का खालका मनोरञ्जन कार्यक्रममा अल्झाउन चाहन्छन् । एकबारको जुनीमा मोजमस्ती नै त जीवन हो भन्ने ब्रोइलर जीवन–दर्शनबाट जनतालाई दीक्षित बनाउन चाहन्छन् । तर यता गणेशमानको शालिकअगाडि टोखाका ‘रैती’हरू आफ्नो र आउँदो पुस्तालाई उठाउन साहित्य सम्मेलन गरिरहेछन् प्रजातन्त्र दिवसको मेसो पारेर । एडुवार्डो ग्यालियानोले लेखेका छन्, ‘हामी जनता एम्नेसियाले ग्रस्त छौँ ।’ यता टोखाका लाछीहरूमा प्रत्येक साल सम्झिने गरिन्छ शहीदका सपनाहरू । देशमा व्याप्त एम्नेसियाबाट बौरिन गाह्रो छ । तर असम्भव छैन भनिरहेछ जनसाहित्य सम्मेलन ।
यो वर्ष पनि ‘आदर्श समाज निर्माणका लागि जनसाहित्य’ भन्ने नारालाई साकार पार्न टोखाको तपलाछीमा जनसाहित्य सम्मेलन सम्पन्न भयो । वक्ताहरूले आ–आफ्ना क्षेत्रका विषयमा एकप्रकारले कक्षा दिनुभयो । काठमाडौँसंगै टाँसिएर पनि टोखामा विभिन्न विषयका विज्ञ शिक्षक, विद्वान, साहित्यकार, कलाकारको कमी भएको दुखेसो पोखियो । शासक दलका मानिसहरूले काठमाडौँबाट मानिस झिकाएर कार्यक्रम गरेको बताइयो । त्यस्तै कसैले शिवपुरी निकुञ्जको नाकैमुनि अवस्थित टोखाको ऐतिहासिक महत्व दर्शाउँदै टोखा कुनै बेला रसुवा जाने बाटोको मुख्य नाका भएको दाबी गर्नुभयो । लिच्छवीकालमा बनेको मन्दिर अगाडि रहेको राणाकालमा बनाइएको डबलीमा कलिला विद्यार्थीदेखि पाका साहित्यकारहरूले कविता, गजल, कथा, गीत सुनाउँदै गर्दा दर्शकदीर्घाबाट प्रतिक्रियाको करतल ध्वनि गुञ्जायमान गराउन कञ्जुस्याईँ गरिएन । नयाँ कुरा थाहा पाउन र सिक्न सबैमा पर्याप्त उत्सुकता र उत्साह दुवै देखिन्थ्यो ।
सहभागी दर्शकहरूको अनुशासनको तारिफ भयो । नयाँ पुस्ताका रचनाहरूमा ओतप्रोत देशभक्तिको भावनालाई मलजल गर्ने काम भयो । २००७ को क्रान्तिको स्मरण गर्दै शहीदहरूलाई नमन गरियो । अनेकथरी राजनीतिक परिवर्तन आए पनि जनताको जीवनस्तर उकास्ने आमूल परिवर्तन नभएकाले जनताले धैर्य गर्दै संघर्षलाई अघि बढाउनुपर्ने विचारहरू आए । वर्षको एकपटक हुने जनसाहित्य सम्मेलनलाई परिष्कार गर्न वर्षभरि धेरै साहित्यिक गोष्ठीहरू आयोजना गर्नुपर्ने आवश्यकता औँल्याइयो । उपस्थित साहित्यका अग्रज गुरुहरूले नयाँ पुस्तामा साहित्यचेत भर्नलाई अर्को अठोट लिनुपर्नेमा आशा लिएको पाइयो । व्यक्तिको वैचारिक र मनोवैज्ञानिक विकासको लागि साहित्य आवश्यक भए पनि साहित्य दुईथरी हुने निष्कर्ष वक्ताहरूले व्यक्त गर्नुभयो । जनताको साहित्यले जनतालाई शिक्षित र शक्तिशाली बनाउने र प्रतिक्रियावादी साहित्यले जनतालाई कमजोर पार्ने बताइयो । यसमा शङ्कै छैन, जनसाहित्य सम्मेलनले जनताको साहित्यलाई धारिलो बनाइरहेको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका चार हरफबाट शुरु गर्नुभएका एक साहित्यमर्मज्ञले निकै घतलाग्दो विचार व्यक्त गर्नुभयो । साँच्चै हामी अग्रजहरूले खनेको बाटोमा हिँडिरहेका छौँ । कार्यक्रमको महत्ता उजिल्याउँदै यसलाई एकलव्य–प्रयास भनी नामकरण गर्नुभयो । साहित्यको तौल ढिलो थाहा हुने हुँदा लागिरहनुपर्ने बताउँदा रवीन्द्रनाथ टेगोरको कविता “ जोदी तोर दाक सुने केउ ना आसे तोबे यक्ला चोलो रे….” को झल्को भयो । वर्तमान राजनीतिप्रति तीव्र कटाक्ष आयो, हाम्रा खेलाडी विदेश गई जितेर आउँदा नेताहरू विदेश गई हारेर किन आउँछन् ? वक्ताहरूको शब्दमा ‘गरिबी निवारणमा असफल पूँजीवादी मोडेल पश्चिमा भएको र सफल पूर्वीय समाजवादी मोडेल’ नै नेपाली अर्थतन्त्रको दिशा भएकाले अग्रजले बनाइदिएको बाटोलाई चौडा बनाई लम्किनुपर्ने भावना सबैमा भरिएको अनुभूत भयो ।
समाजको जीवन एउटा रिले दौड हो । शासकहरूले समाजको पाङ्ग्रालाई रोक्न अनेक च्याँखे थाप्छन् । जनता सचेत हुने सबै सुविस्ता दुर्लभ बनाउँछन् । जस्तो शिक्षा, पुस्तक आदि महँग्याउँछन् । आजभोलि त साहित्य सम्मलेनहरू पनि ठूल्ठूला रेष्टुँरा र बन्द हलहरूमा हुन थालेका छन् । आम जनतालाई बर्जित त्यस्ता कार्यक्रममा बुद्धिविलासको मात्रा धेरै हुन्छ । यस्तो घडीमा जनसाहित्य सम्मेलन गर्नु आमजनताको मजबुत अठोट हो । आफ्नो मोर्चा खोल्नु सराबर हो । सचेत बन्ने एक अभियान । अभियान अझ जोडतोडले अघि बढाउनुपर्छ । यस्तो अभियानको सिको यो देशका प्रत्येक गाउँहरूले गर्दै जानुपर्छ । शासकहरू अताल्लिनेछन् । जनतालाई ‘भेँडा’ बनाउने उनीहरूको अघोषित अभियान कुँजिदै जानेछ । आम जनताका दिन नजिकिँदै जानेछन् ।
(टोखामा एघारौं जनसाहित्य सम्मेलन गएको फागुन ७ गते सम्पन्न भएको थियो ।)
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *