भर्खरै :

क्युवाको पक्षमा संसार

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकमा क्युवाको माथिको आर्थिक र वित्तीय नाकाबन्दी सम्बन्धमा बिहीबारबाट छलफल सुरू भएको छ । यो विषयमा सुरक्षा परिषद्को बैठकमा औपचारिक रूपमा छलफल भएको २७ औं पटक हो । क्युवामाथि संरा अमेरिका नेतृत्वको नाकाबन्दी सम्बन्धमा भएका ती हरेक छलफलमा संरा अमेरिका एक्लै एकातिर र बाँकी विश्व अर्कोतिर हुने गरेका थिए । यो पटक पनि अन्ततः क्युवाको पक्षमा अत्याधिक बहुमत देशका प्रतिनिधिले मतदान गर्नेछन् । अघिल्लो पटकको निर्वाचनमा जस्तै यो पटकको निर्वाचन पनि संरा अमेरिका र इजरायलमात्र क्युवामाथिको नाकाबन्दीको पक्षमा उभिनेछन् ।
सुरक्षा परिषद्को बैठकमा यो विषयमा छलफल हुनुअघि नै संरा अमेरिकाले क्युवामाथिको नाकाबन्दीलाई अझ निरन्तरता दिने बद्नियतले क्यारिबियाली टापु देशको विषयमा अनेकन भ्रामक प्रचारबाजी गरेको थियो । आफ्नै महावाणिज्य दूतावासभित्र पत्रकारको हत्या गरी लास समेत टुक्रा टुक्रा पारी बेपत्ता बनाएको साउदी अरबको सरकारविरुद्ध केही बोल्न नसक्ने संरा अमेरिकी सरकारले यो पटक पनि विगतका वर्षजस्तै क्युवाको मानव अधिकारको मुद्दालाई अनावश्यक रुपमा उछाल्यो । मानव अधिकार र प्रजातन्त्र संरा अमेरिकाको लागि कुनै पनि देशलाई आफ्नो प्रभुत्व स्वीकार्न बाध्य पार्ने अस्त्रमात्र भएको कुरा संसारसामु आज लुकेको छैन । आज क्युवाको सन्दर्भमा पनि ट्रम्प सरकारले यो खिया लागिसकेको हतियार फेरि उठाएको छ ।
तर बितेका ६ दसकदेखि लगातार साम्राज्यवादी अत्याचारको सामना गर्दै आएको क्युवाप्रति संसारमा ऐक्यबद्धताको लहर उठेको छ । विकासोन्मुख र सानो भूगोलको देश भएका कारण एसिया, अफ्रिका, ल्याटिन अमेरिकालगायत तेस्रो विश्वका देश क्युवाको पक्षमा उभिंदै आएका छन् । त्यस्तै संसारका विकसित देशहरूसमेत आज क्युवाप्रति ऐक्यबद्धता व्यक्त गर्दै आएका छन् । क्युवाप्रतिको ऐक्यबद्धता मूलतः साम्राज्यवादको विरोध हो । क्यारिबियाली र ल्याटिन अमेरिकालाई आफ्नो आँगन ठान्ने र आँगनमा आफूले जे पनि गर्नसक्ने मुन्रो सिद्धान्तलाई आज पनि संरा अमेरिकी शासक वर्गले निरन्तरता दिइरहेको छ । तर संसारमा धेरै ठूलठूला परिवर्तन समयक्रमले निम्त्याइसकेको छ । मुन्रो सिद्धान्तको म्याद नाघेको विदेशनीतिले संरा अमेरिकालाई विश्वबाट एक्ल्याउनेछ ।
संरा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो दोस्रो कार्यकालको अन्त्यतिर क्युवासँगको कूटनीतिक सम्बन्ध सुधार ल्याउने पहल गरेका थिए । उनले भनेका थिए,“क्युवामाथिको ६ दसक लामो नाकाबन्दीले कुनै परिणाम दिनसकेन ।” यही यथार्थबोधले ओबामालाई क्युवासँग सम्बन्ध विकासको लागि हात फैलाउन अभिप्रेरित ग¥यो । तर ट्रम्प सरकार बनेयता संरा अमेरिकाको विदेशनीतिमा ठूलो अस्थिरता र अराजकता आएको स्वयं अमेरिकी उच्च अधिकारीहरूले बताइरहेका छन् । ट्रम्पको सन्काहा कूटनीतिक नीतिले संरा अमेरिकी जनतामात्र होइनन्, संसारमै एक प्रकारको अन्योल छाएको छ । तिनै ट्रम्पले अघिल्लो सरकारले क्युवाप्रति अँगालेको नीति त्याग्दै इतिहासले गलत प्रमाणित गरिसकेको नाकाबन्दीको नीति र कूटनीतिक विषमतालाई निरन्तरता दिन खोजिरहेको छ । यसले संरा अमेरिकी ट्रम्प सरकारको आत्मघाती विदेश नीति फेरि एकपल्ट संसारसामु उजागर गरेको छ ।
क्युवामाथिको नाकाबन्दी संसारकै लागि कलङ्क हो । क्युवाली जनताले नाकाबन्दीकै कारण भोग्नुपरेका समस्या मानवताविरोधी अपराध हो । क्युवाली जनताले आफ्नो परिस्थितिअनुसारको राजनीतिक व्यवस्था र सरकार चुन्न पाउने उनीहरूको अधिकार हो । त्यो अधिकारलाई कसैले आफ्नो साम्राज्यवादी स्वार्थ पूर्ति गर्न अस्वीकार गर्नसक्दैन । निःसन्देह यो पटकको चुनावमा पनि संसार क्युवाको पक्षमा उभिनेछ । क्युवाप्रतिको ऐक्यबद्धता अझ व्यापक बन्दै जानेछ । संरा अमेरिकाले क्युवामाथिको नाकाबन्दीको सन्दर्भमा विश्वको अभिमतलाई स्वीकार्नुपर्छ । क्युवामाथिको नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *