भर्खरै :

विदेशीसँग मागेर सुविधा भोग्नु जतिको छुद्र काम अरु हुन नसक्ने

काठमाडांै, ४ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विदेशीसँग मागेर सुविधा भोग्नु जतिको छुद्र काम अरु हुन नसक्ने बताउनुभएको छ ।
मङ्गलबार बिहान रेडियो अन्नपूर्ण नेपालको मूलप्रवाह कार्यक्रममा पत्रकार ठाकुर बेलबासेसँग समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी गर्ने सिलसिलामा उहाँले खराब सल्लाहकारहरूका कुरा सुनेर राष्ट्रपतिको लागि अठार करोड रुपैयाँको गाडी खरिद गर्नु ठीक नभएको बताउनुभयो ।
“जनताको पैसा फजुल खर्चमा लगाउनु ठीक होइन । आफ्नो बुद्धिले भन्दा पनि विदेशी दलालको बुद्धिमा लागेर यस्तो निर्णय गर्नु हुन्न ।”, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “आफूलाई कम्युनिष्ट भन्ने सरकारले देशलाई कङ्गाल बनाउने यस्ता काम गर्न सुहाउँदैन, प्रधानमन्त्री र मन्त्रीहरू ठगैठगको घेरामा छन् । ठगैठगको घेरामा परेका दरबारहरू कसरी सही बाटोमा जानसक्ला ?”
चीन र भारतसँग नेपालको पछिल्लो बदलिएको सम्बन्ध अन्तर्राष्ट्रिय परिस्थितिको स्वाभाविक परिणामको रुपमा विश्लेषण गर्दै अध्यक्ष बिजुक्छेंले अन्तर्राष्ट्रिय सम्बन्धमा आएको सुधार वर्तमान सरकारको बुद्धिले नभएको बताउनुभयो ।
“असारमा पानी पार्छु, कसैले भन्नुपर्दैन । असारमा पानी पर्नु स्वाभाविक परिणाम हो ।”, उहाँको भनाइ थियो ।
उहाँले भारतसँग खुला सिमाना र भारतीय दलालहरू नेपाल आएर काम गर्ने अवस्था रहेसम्म देशको भाग्य बदलिने कुनै सङ्केत आफूले नदेखेको बताउनुभयो ।
पुँजीवादी राजनीतिक विकृतिबारे जनताले झन् झन् बुझ्न थालेपछि आफ्नो राजनीतिक साख जोगाउन पुँजीवादी पार्टीले राजनीतिमा थप पैसा खर्च गरेर आक्रामक रुपमा आइरहेको उहाँको विश्लेषण थियो ।
“पुँजीवादी पार्टीहरूले चुनावमा धेरै पैसा खर्च गर्न थाल्नुको अर्थ उनीहरूको मिति पुग्दैछ भनी बुझ्दा फरक पर्दैन ।”, अध्यक्ष बिजुक्छेंको भनाइ थियो । उहाँले भन्नुभयो, “संसारको पुँजीवादी राजनीति कहीं पनि सुखद् छैन, पुँजीवादी व्यवस्था डुब्दै जानेछ । त्यसको विकल्प छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *