भर्खरै :

गम्भीर चौबाटोमा सम्बन्ध

चाङ त्वशेन
चीन र संरा अमेरिकाबीचको सम्बन्ध यतिबेला गम्भीर चौबाटोमा उभिएको छ । दुई देशबीच प्रतिस्पर्धा र समस्या पनि बढिरहेको छ । यस्तो अवस्थामा उनीहरूले द्वन्द्वको बाटो लिन्छन् वा आपसी प्रतिस्पर्धा र मतभिन्नताको व्यवस्थापन र नियन्त्रण गर्छन् ? दुई देशबीचको सम्बन्धलाई नयाँ ढाँचामा अघि बढाउन के उनीहरूले संवाद र सहकार्यको बाटो चुन्नेछन् ?
आपसी व्यापार विवादलाई दुवै देशले अझ बढाउन चाहेका छैनन् भन्ने कुरा अहिले बुझ्न सकिन्छ । व्यापार युद्धको आकार बढ्दै जाँदा त्यसले दुई देशले आर्थिक क्षतिमा बेहोर्नुपर्ने छैन, आपसी आर्थिक सम्बन्धमा समेत घातक प्रभाव पार्नेछ । चीन–संरा अमेरिका सम्बन्धमा लामो समयको गतिरोध दुई देशबीचको द्वन्द्वको स्रोत बन्न सक्दछ । चीन र संरा अमेरिका दुवैले आपसमा संवादलाई जारी राख्नुपर्दछ । उनीहरूले राजनीतिक र आर्थिक मामिलालाई अलग अलग सञ्चालन गर्नुपर्दछ । दुई देशले स्वतन्त्र र न्यायपूर्ण व्यापार तथा आपसी आदानप्रदान तथा प्रगतिको लागि नयाँ सहमति पनि गर्न आवश्यक छ । व्यापार विवादको समस्या समाधान गर्न चीनले खुलापनलाई अझ विस्तार गर्नुपर्दछ, आर्थिक पुनःसंरचनाको सहज बनाउँदै जानुपर्दछ र बहुपक्षवादलाई निरन्तरता दिनुपर्दछ । संरा अमेरिकाले पनि एकपक्षवाद वा संरक्षणवादी नीतिलाई त्याग्नुपर्दछ ।
ताइवानको प्रश्नलाई सही तरिकाले समाधान गर्न आवश्यक छ । ताइवान चीनका प्रमुख चासोका विषयमध्ये पर्दछ । चीन र संरा अमेरिकाबीचको सम्बन्धमा ताइवान सधैं एउटा संवेदनशील विषय बन्दै आइरहेको छ । ताइवान टापुमा स्थिरता कायम रहेमात्र यो विषयमा स्थिरता रहनेछ । चीन र संरा अमेरिकाबीच भएको संयुक्त तीन वक्तव्यमा आधारित रहेर संरा अमेरिकाले एक चीन नीतिप्रति प्रतिबद्ध रहनुपर्दछ । एक चीन नीतिलाई चुनौती दिने वा ताइवानसँग औपचारिक सम्बन्ध विकास गर्ने कुनै पनि प्रकारको काम प्रयास भए चीन–संरा अमेरिका सम्बन्धले भयावह परिणाम भोग्नुपर्ने हुन्छ ।
दक्षिण चीन सागरमा दुई देशबीचको तनावको व्यवस्थापन र नियन्त्रण पनि अत्यावश्यक र महत्वपूर्ण काम हो । चिनियाँ टापु र गल्छीहरू नजीक संरा अमेरिकाले कथित जलयात्राको स्वतन्त्रताको नाममा गर्दै आएका गतिविधि र रेखदेखले निम्त्याएका भीषण द्वन्द्वको व्यवस्थापन निकट भविष्यमै गर्न आवश्यक छ । यस्ता गतिविधिले कुनै पनि समयमा दुई पक्षबीच द्वन्द्व चर्काउन सक्दछ । त्यसपछि दुवै पक्षका सुरक्षा चासो सम्बोधन हुने उपयुक्त समाधान निकाल्न दक्षिण चीन सागरलाई सैनिकीकरण गर्नुको सट्टा रणनीतिक संवादको थालनी गर्नुपर्दछ । दीर्घकालीन रुपमा यसको समाधान भनेको सामुद्रिक विवाद अन्त्य गर्न चीन, दक्षिण चीन सागरमा दाबी गर्ने अरु देशहरू तथा आसियानका सदस्यहरूलाई संरा अमेरिकाले समर्थन गरेर सो क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्नु हुनसक्छ । यो समाधानको उपायको आधार भनेको चीनद्वारा प्रस्तावित दोहोरो–बाटो अवधारणा (डबल–ट्र्याक एप्रोच) हुनसक्छ । अनि संरा अमेरिकालगायत सबै सम्बन्धित देशहरूलाई जलयात्राको स्वतन्त्रता र सुरक्षाको संयुक्त चासोलाई चीनले सम्बोधन गर्न आवश्यक छ ।
चीन र संरा अमेरिकाबीच प्रतिस्पर्धा र तनाव बढे पनि विशेषतः सैनिक र सुरक्षा सङ्कटलगायत सङ्कट व्यवस्थापन आपसी प्रतिस्पर्धा व्यवस्थापना र नियन्त्रणको लागि दुवै देशको प्रमुख चासोको विषय हुन जरुरी छ । त्यसले उनीहरूबीच द्वन्द्व र तनाव हुन नदिन भूमिका खेल्न सक्दछ । दुईपक्षीय सङ्कट व्यवस्थापन संयन्त्रको विकास गर्न दुई देशले राज्यप्रमुख, सैनिक र कूटनीतिक शीघ्र सम्पर्क (हटलाइन) लाई बलियो बनाउने र तिनीहरूबाट समस्या वा सङ्कट समाधान भइरहेको छ–छैन, नियमित अनुगमन गर्नुपर्दछ । यस्तै अरू पनि विशेष कदम चाल्न सकिन्छ । आपसी समस्या समाधानको लागि पहिले केही आधार सिद्धान्त तय गर्नुपर्दछ र सैनिक तथा सुरक्षा क्षेत्रसम्बन्धी संवादलाई निरन्तरता दिनुपर्दछ । दुवै देशका सेनाबीचको समझदारीमा आधारित आपसी विश्वास बनाउने घोषणालाई प्रभावकारी कार्यान्वयन र समृद्ध बनाउन आवश्यक छ । चिनियाँ र अमेरिकी सैनिकबीच सङ्कट व्यवस्थापन र सञ्चार सुधार गर्न तथा सम्बन्ध सबल र सहकार्य गर्न दुई पक्षबीच संवादलाई नियमितता दिइनुपर्दछ ।
चीन र संरा अमेरिकाबीच रणनीतिक आपसी विश्वास पुनस्र्थापना गर्न एसिया–प्रशान्तको लागि सुरक्षा कार्यक्रममा सहमति उचित हुनेछ । एसिया–प्रशान्त सुरक्षा कार्यक्रमको सन्दर्भमा दुई देशबीच लामो समयदेखि मतभेद रहँदै आएको छ । विशेषतः सो क्षेत्रमा अमेरिकाको द्विपक्षीय मोर्चाको सम्बन्धमा उनीहरूबीच मतभेद रहँदै आएको देखिन्छ । सन् २०१७ मा चीन सरकारले सो क्षेत्रको इतिहास र वास्तविकतालाई ध्यानमा राखी विभिन्न क्षेत्रीय बहुपक्षीय सुरक्षा संवाद र विद्यमान सैनिक मोर्चालगायत विविध संयन्त्रले काम गर्नुलाई स्वाभाविक भएको बताइसकेको छ । त्यस्तो संयन्त्रले क्षेत्रीय सुरक्षा योजनाकारको विकासमा भूमिका खेल्ने चीनको धारणा हो । चीनले संरा अमेरिकालाई आफ्ना सैनिक सहयोद्धा देशहरूसँग पारदर्शी बन्न, कुनै पनि प्रकारको द्वन्द्व हुन नदिन र सो क्षेत्रको शान्ति र स्थायित्वको लागि रचनात्मक भूमिका खेल्न आग्रह गर्दै आएको छ ।
आपसी रणनीतिक विश्वास पुनस्र्थापना गर्न चीन र संरा अमेरिकाले विद्यमान अन्तर्राष्ट्रिय बन्दोबस्तको संयुक्त रुपमा रक्षा र विकास गर्न तथा विश्वव्यापी प्रशासनमा सहकार्य बलियो बनाउन सहमति गर्नुपर्दछ । आफ्ना सबै विदेशी नीति र गतिविधिमा चीनले सधैं आफूलाई विश्व शान्तिका निर्माता, विश्वव्यापी विकासमा योगदानकर्ता, अन्तर्राष्ट्रिय बन्दोबस्तको रक्षकको रुपमा प्रस्तुत गर्दै आएको छ । संरा अमेरिकाले चीनको यो काममा सहयोग गर्नुपर्दछ । संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका मान्यताअनुुसार दुई पक्षबीच आणविक निःशस्त्रीकरण, आणविक सुरक्षा, प्रतिआतङ्कवाद, विश्वभरिका जनताको सुरक्षा आदि आधारमा दुई देशबीच सहकार्यलाई निरन्तरता दिइनुपर्दछ । समुद्री सुरक्षा, सीमामा हुने अपराध, वित्तीय स्थायित्व, सरुवा रोग र अन्तर्राष्ट्रिय राहत कार्यक्रममा चीन र संरा अमेरिकाले सहकार्यलाई अझ अघि बढाउनुपर्दछ । विश्वव्यापी स्थायित्व, क्षेत्रीय स्थायित्व, मध्यपूर्वमा स्थायित्व र कोरियाली प्रायःद्विपमा विशेषगरी स्थायित्व स्थापना दुवै देशको चासो र जिम्मेवारीका विषय हुन् ।
माथिका यी सबै पक्षमा सफलता हासिल गर्न चीन र संरा अमेरिकाबीच प्रभावकारी संवाद र सम्बन्ध विकास गर्न आवश्यक छ । यो वर्षको आरम्भबाट दुई देशबीचको संवाद र सम्बन्धमा समस्या आइरहेका छन् । दुईपक्षीय सम्बन्ध गतिरोधमा फसेको छ । अझ कतिबेला त खराब भएको छ । यो खतरनाक विषय हो । सन् २०१७ मा चीन र संरा अमेरिकाका राष्ट्रप्रमुखहरूबीच भएका चार वटा उच्चस्तरीय संवाद (कूटनीतिक तथा सुरक्षा वार्ता, विस्तृत आर्थिक वार्ता, कानुन कार्यान्वयन तथा साइबर रणनीति वार्ता, सामाजिक तथा जनस्तरका वार्ता) मध्ये कुनै पनि कार्यान्वयन भएका छैनन् । यो अवस्थामा सुधार गर्न दुवै पक्षले आ–आफ्नो तर्फबाट यथाशीघ्र पहल गर्न जरुरी छ । बदलिएको नयाँ परिस्थितिमा चीन र संरा अमेरिकाबीचको सम्बन्ध परिभाषित गर्न दुई देशबीचको वार्ता जरुरी छ । संरा अमेरिकाले चीनलाई ‘आफ्नो रणनीतिक प्रतिस्पर्धी’ र ‘संशोधनमार्गी’ को रुपमा लिने गरेको छ । यसको अर्थ के हो ? चीनले आफ्नो सेनालाई बलियो बनाउने भन्नुको तात्पर्य के हो ? दुई देशबीच आपसीमा समझदारी विकास गर्न गम्भीरता वार्ताहरू चलाउन जरुरी छ । त्यस्ता वार्ताले मात्र आपसमा रहेका केही असमझदारी र गलत बुझाई हटाउन मद्दत गर्दछ ।
आफ्नो रणनीतिक अडान र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा चीनको बलियो प्रतिबद्धता पनि चीन र संरा अमेरिकाबीच सम्बन्धमा दिगोपना ल्याउन महत्वपूर्ण कडी हुनसक्छ । चीनले लामो समयदेखि शान्तिपूर्ण विकासको बाटो पछ्याउने, कुनै हतियारको प्रतिस्पर्धा नगर्ने, कुनै प्रभुत्व जगाउन नखोज्ने, कुनै ठूलो देशसँग मोर्चाबन्दी नगर्ने र कुनै सैनिक मोर्चामा सहभागी नहुने, कुनै खालको विस्तार वा वर्चस्व नखोज्ने नीतिमा जोड दिंदै आएको छ । चीनले शीतयुद्धबाट सिकेका पाठ यतिमात्र होइनन्, बरू सिङ्गो विश्वको लागि यसको बलियो प्रतिबद्धता र रणनीतिक छनोट पनि हो । यी प्रतिबद्धताको इमानदार कार्यान्वयनले संरा अमेरिकासँगको सम्बन्धमा क्रमशः सुधार आउनेछ । चीन र संरा अमेरिकाबीचको सम्बन्धलाई अझ दिगो र स्थायी बनाउँदै लानेछ ।
लेखक चिनियाँ अन्तर्राष्ट्रिय रणनीति अध्ययन प्रतिष्ठानका अनुसन्धान निर्देशक हुनुहुन्छ ।
स्रोतः चाइना डेली
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *