पुस्तकालयलाई जीवन्त बनाउन पुस्तकालयकर्मीको दायित्व
- भाद्र १४, २०८३
खिलबहादुर भण्डारी
एएस पनिरसेल्भन सन् २०१२ भारतीय पत्रिका ‘द हिन्दू’ मा रिडर्स एडिटर छन् । तीन दशकदेखि पत्रकारिता गरिरहेका यिनी समाचार सामग्रीमा भएका गल्ती पत्ता लगाउँछन्, भूलसुधार छाप्छन् र त्यसबारे टिप्पणी लेख्छन् । उनले नेपालबाट निस्कने एक दैनिकसँग वार्ता गर्दै भनेका छन् ः गल्ती सच्याउँदा मिडियाको विश्वसनीयता बढ्छ ।’
मान्छे कुनै मेसिन होइन, मेसिनले त जस्तो आकारमा ढाल्यो सधैं त्यही फम्यार्टमा सामान बनाइरहन्छ । मान्छेले गल्ती गर्छ । गल्ती सच्याउन तयार हुनुभयो भने तपाईंप्रति सम्मान, विश्वास बढिरहन्छ । उनी अनुभव बताउँदै भन्छन् ः ‘‘म पत्रकारिताका नाममा स्टिङ्ग अपरेसन गर्ने कसैलाई पनि सम्मान गर्न सक्दिन । स्टिङ्ग पत्रकारिता होइन, मोलमोलाइ हो । यदि पत्रकारिता वा मिडियामा भएको पेशागत असफलता वा कमजोरी देखाउन चाहनुहुन्छ भने तपाईंले पनि यसलाई पेशागत हिसाबले नै हेर्नुपर्छ । त्यसलाई आचारसंहिताको मूल्य, मान्यताभित्र रहेर गर्नुपर्छ । अनैतिक हिसाबले काम गरेर कसैलाई नैतिक बनाउनै सक्नुहुन्न ।’’
एएस पनिरसेल्भनको भनाइलाई आधार बनाउने हो भने सबैभन्दा पहिला असल नियतले काम गर्ने अभ्यासको थालनी गर्नुपर्छ । ताकि तपाईंले गर्न थालेको, खोज्न खोजेको समाचारलाई थप मद्दत पुग्ने गरी अरुले सहयोग गरोस् । कसैले भनोस् कि कुनै बदमासी गर्दैन, कुनै मोलमोलाइ गर्दैन, मात्र ऊ समाचार खोज्ने पत्रकार हो । तर नेपालमा यस्तो अभ्यासको थालनी नै भएको छैन । झूट कुरा लेख्छौं, लेखेको कुरा असत्य सावित भइसक्दा पनि स्वीकार्न कठिन मानिरहन्छौं । यस्तो पत्रकारिताले पेशाको बदनामीमात्र गरिरहेको छ ।
नेपालमा डरलाग्दो खालका खोजी पत्रकारिता त भएको छैन, राजनीतिक रुपमा, आर्थिक पाटोसँग कतै न कतै रङ्ग दिने खालको समाचारका खोजी त भएका छन्, लोकप्रियताको नाममा सम्झनालायक घटना भने छैन । थोरै कमजोरी, साना साना गल्तीले पनि जोखिम व्यहोर्न परेको घटना चाहिँ धेरै नै छन् । समाचार प्रकाशनकै आधारमा भारतमा थुप्रै पत्रकारले ज्यान गुमाउनु परेको छ । सन् २०१६ मा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले पत्रकारका लागि भारत विश्वकै आठौं जोखिमपूर्ण मुलुक हो भनेको छ ।
गत जुन महिनामा जम्मु कश्मिर राज्यको राजधानी श्रीनगरका वरिष्ठ पत्रकार सुजात बुखारीको हत्यासम्मका पछिल्ला दुई वर्षमा भारतमा सबैभन्दा बढी पत्रकारको हत्या भएको छ । भारतीय अङ्ग्रेजी न्यूज पोर्टल ‘द वायर’ ले कमिटी टु प्रोटेक्ट जर्नालिष्ट (सिपिजे) को रिपोर्टलाई आधार बनाउँदै सन् २०१२ देखि २०१८ को अवधिमा भारतमा ७७ जनाभन्दा बढी सञ्चारकर्मीले ज्यान गुमाएको उल्लेख छ । ‘द वायर’ ले मिडियामा अध्ययन अनुसन्धान गर्ने संस्था हुटलाई उद्धृत जनाएको छ ।
पत्रकारहरूको यति ठूलो सङ्ख्यामा किन हत्या हुन्छ ? भारतको मात्रै विश्लेषण गर्ने हो भने हिन्दू र मुस्लिम अतिवादी चपेटा र पाकिस्तानसँगको युद्धको घानमा पर्नाको कारण यस्ता घटना भइरहेका छन् । बुखारीकै हत्याको कारण चाहिँ निर्भिक पत्रकारिता नै हो । उनले सन् २००३ मा पाकिस्तान गएका बेला तत्कालीन प्रधानमन्त्री नवाज सरिफसँगको भेटमा एउटा कडा प्रश्न सोधेका रहेछन् । पाकिस्तानले हतियार उठाउन प्रेरित गरिरहेको कश्मिरका युवाहरूबारे के भन्नुहुन्छ ? के उनीहरूलाई पनि सिध्याउने योजना हो ?
यस्तो कडा प्रश्नमा सरिफ नाजवाफ भए । जम्मु कश्मिर युद्ध हिंसात्मक लडाइँबाट नभई शान्तिपूर्ण वार्ता संवादबाट समाधान हुनुपर्नेमा उनको अडान थियो, जुन कुरा कश्मिर घाटीका हिंसापक्षधरलाई मनपरेन र उनको हत्या गरियो । बुखारीले कुनै स्टिङ्ग पत्रकारिता हैन सामाजिक उत्तरदायित्वपूर्ण पत्रकारिता गरिरहेका थिए । सामाजिक काम गर्नेहरू पनि जोखिमबाट टाढा छैनन् । उनीहरू समाजलाई बिथोलिरहनेहरूको तारो बन्छन् । बुखारीको हत्या यसैको उदाहरण हो । कश्मिर घाटीमा युद्ध भड्काएर रोटी सेकाउनेहरू युद्धलाई समाप्त पार्न चाहँदैनन् ।
नेपालमा पनि खोजी पत्रकारिताले कहिलेकाही नयाँ कुरा सार्वजनिक गरेको छ भने धेरैजसो विवादास्पद घटनाले गर्दा पत्रकारिताको बद्नाम गर्ने काम जारी छ । युनिटी नेटवर्किङ्ग मार्केटिङ्गलाई खोजी पत्रकारिताले समाप्त गरेको तथ्य एकातिर छ, त्यो काण्ड मोलमोलाइ नमिलेर उजागर भयो, गुनासोबाट पनि पत्रकारिता मुक्त छैन ।
वासिङ्गटनस्थित खोज पत्रकारिताको अन्तर्राष्ट्रिय कन्सोर्टियम (आइसीआइजे) का प्रमुख गेराड राईले खर्च र पत्रकारको जीवन सुरक्षाका कारण खोजी पत्रकारिता जीवनमरणको दोसाँधमा भएको बताउँछन् । ‘‘खोज पत्रकारिता निकै खर्चिलो हुन्छ । यसमा समय बढी लाग्नेमात्र होइन, जोखिम’ पनि उत्तिकै हुन्छ’’ उनी भन्छन् । मूलधारका मिडियाको आर्थिक ढाँचा नै ठूला प्रविधियुक्त कम्पनीको कोपभाजनमा परेका कारण खोज पत्रकारिता पनि खुम्चिएको राईलेको भनाइ छ । आइसीआइजेले विश्वचर्चित पानामा पेपर्सको भण्डारफोर गरेको थियो ।
खोजी पत्रकारिता खर्चिलो र खतरनाक छ । तर नेपालमा खर्च गरेर खोजी गरिँदैन, खर्च गर्ने सामल बटुल्नका लागि चाहिँ यस्तो काम गर्ने प्रवृत्ति बढ्दो छ । अहिले स्टिङ्ग पत्रकारिताका नाममा केही टेलिभिजन, केही मिडिया घर वित्रापनको खेती गर्छन् । नेपालमा ठूला उद्योगीहरूको साना कमजोरी कहाँ भेटिन्छ भन्दै चियो गर्ने, विशेषत ः कर, कमसल सामानको उत्पादन, चारित्रिक कुरामा बढी ध्यान दिने प्रवृत्ति छ । पत्रकार र कुनै मिडिया हाउसले ठूलो धनराशी खर्च गरेर रिपोर्ट खोजेको विरलै उदाहरण छन् । माओवादीले डोल्पाको दुनै कब्जा गर्दा केही मिडिया हेलिकप्टर रिजर्भ गरेर रिपोर्टिङ्गमा गएको उदाहरण नौलो र चर्चित थियो । विदेशी ठूला मिडिया घरहरूले एउटा रिपोर्टका लागि कतिसम्म खर्च गर्छन् धेरैले अनुमान लगाउन कठिन छ । केही वर्षअघि न्युयोर्क टाइम्सले इराकको बग्दादमा एउटा समाचार सङ्कलनको लागि १० हजार डलर खर्चेको थियो ।
आइसीआइजेका प्रमुख गेरार्ड राइलेका अनुसार पानामा पेपर्सको अनुसन्धानमा आइसीआइजेले २० लाख अमेरिकी डलर खर्च गरेको थियो । विश्वभरका ८० मुलुकमा ३ सत्न्दा बढी पत्रकार परिचालन गरेरमात्र पानामा पेपर्सको घटना भण्डाफोर भएको हो ।
अर्को रोचक कुरा राईले के भन्छन् भने ः गुगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरूले परम्परागत मिडियाका सामग्री निःशुल्क लिएर विज्ञापनमार्फत राजश्वको ठूलो रकम बटुल्न थालेपछि, गुणस्तरीय पत्रकारिता धर्मसङ्कटमा पर्न थालेको छ ।
पत्रकारलाई देशद्रोहीको आरोप
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकै चर्चामा आइरहन्छन् । मिडियाप्रति उनी निकै क्रूर छन् । दुई वर्षअघि राष्ट्रपति निर्वाचनमा उठ्दा मिडियाबाट हैरान भए । राष्ट्रपति निर्वाचित भएपछि उनीबाट अमेरिकी मिडिया हैरान भएको छ । चुनावको रिस पोखेका हुन् वा उनी मिडियाप्रति रुखो नै हुन् ? अहिलेसम्म कसैले बुझ्न सकेका छैनन् । पछिल्लो समय उनले अमेरिकाका पत्रकार देशद्रोही हुन् भनेर कडा टिप्पणी गरेका छन् । झूटो अफवाह फैलाएर आतङ्क मच्चाउने हुनाले देशद्रोहीको आरोप लगाएका छन् ।
ट्रम्पले कैयौं पटक ट्विट गर्दै भनेका छन्, ट्रम्पलाई गाली गर्नुपर्ने रोगले ग्रसित सञ्चारमाध्यमले हाम्रो सरकारको आन्तरिक विषय सार्वजनिक गर्छन् । यसबाट कैयौंको ज्यान खतरामा हालिदिन्छन् । उनले अमेरिकी मूलधारका सञ्चारमाध्यमले गलत खबर छाप्ने गरेको आरोप पनि लगाएका छन् । भन्छन् ‘‘प्रेस स्वतन्त्रतासँगै सटिक र वास्तविक समाचार दिने कुरा पनि जोडिएर आउँछ ।’’ आफ्ना समाचार अमेरिकी सञ्चारमाध्यमले नकारात्मक रुपमा प्रस्तुत गर्ने गरेको उनको दाबी छ ।
आफ्नो शासनकालमा भएका सकारात्मक समाचार सञ्चारमाध्यमले बङ्ग्याएर प्रस्तुत गर्ने गरेको भन्दै गलत समाचार दिने आमसञ्चारमाध्यमको विश्वास घट्दै गएको छ र सधैं गलत समाचार दिइरहँदा पाठकबीच सञ्चारमाध्यको विश्वास खस्किएको ट्रम्पको ठहर छ । ‘‘न्युयोर्क टाइम्स र वासिङ्गटन पोष्टले सकारात्मक उपलब्धि भएका क्षेत्रमा पनि खराब भएको भन्दै समाचार लेख्छन्, यिनीहरू कहिल्यै बदलिने भएनन्’’–ट्रम्प भन्छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्क टाइसबीच खटपट पर्नाको कारण पनि गजब छ । जब उनी राष्ट्रपति निर्वाचित भए, शपथ लिएपछि पनि सञ्चारमाध्यमले असहयोग गरेको गुनासो छ । त्यसपछि उनले न्युयोर्क टाइम्सका प्रकाशक ए.जी सल्बर्जरसँग ह्वाइट हाउसमा भेटघाट गरेका थिए । सल्जबर्जरका अनुसार सो भेटघाटमा पत्रिकाको सम्पादकीय पृष्ठका सम्पादक जेम्स बेनेट पनि सहभागी थिए । बैठकलाई गोप्य राख्ने सहमति भए पनि ट्रम्पले यसलाई टिव्ट गरेर सार्वजनिक गरेको आरोप न्युयोर्क टाइम्सको छ । सल्जबर्जर भन्छन् ‘‘राष्ट्रपति ट्रम्पले दिने प्रेसविरोधी बयानबारे चिन्ता व्यक्त गर्न गएको थिएँ । ट्रम्पको भाषा विभाजनकारी मात्र नभई खतरनाक भएको जानकारी दिएँ ।’’
अमेरिकामा राष्ट्रपति र पत्रकारबीच कतिसम्म तिक्तता बढिरहेको छ भने गलत समाचार सम्प्रेषण गरेको भन्दै पत्रकारहरूलाई ‘फेकन्यूज अवार्डसमेत घोषणा ट्रम्पले गरे र पत्रकारहरू उपस्थित हुने प्रायः रात्रीभोजमा जानै छाडे ।
मिडियामाथि संवेदनहीनको आरोप
नेपाली सिनेकलाकर्मी दयाहाँग राईले एक प्रसङ्गमा भनेका छन् ः ‘‘म सबै मिडियालाई अन्तर्वार्ता दिन्न ।’’ मिडियाले सेलिब्रिटीहरूलाई वस्तुको रुपमा प्रयोग गरेको ठह¥याउने गर्छन् । उनी राष्ट्रको चौथो अङ्ग भन्नेहरूले आफूले दिएको कन्टेन्टले कस्तो समाज बनिरहेको छ भन्ने कुरा नबुझेझैं गर्न नहुने धारणा राख्छन् ।
साना ठूला मिडियाले आकर्षणको लागि मनोरञ्जन र रमझमको समाचार हाल्छन् । तर, सिनेमाले समाजको कथा पनि बोकेका हुन्छन् । तिनले समाजलाई सन्देश पनि दिन्छन् भन्नेतिर ध्यान दिन्नन् । सोच बदल्न भए पनि मिडियाले यस्ता विषयमा लेख्नुपर्छ । सिने क्षेत्रलाई सधैं रमझम र आकार्षणका केन्द्रको रुपमा मात्र राखिनु हुँदैन मिडियाले । बिकाउ चिजको पछि लाग्दा समाजमा निकै प्रभाव परिरहेको र समाजले हेर्ने दृष्टिकोण राम्रो नबन्ने राईको बुझाइ छ । मिडियाले सिनेमाको कथाभन्दा पनि ग्लामरलाई बढी महत्व दिएर सामग्री पस्कने कारण सिनेकर्मीहरू हैरान छन् ।
कलाकारहरू सोध्छन्–समाचार बिकाउन, बोल्दै नबोलेको भनाइ राख्ने तोडमरोड गरिएको शीर्षक हाल्ने, अश्लील शब्दले मिडिया कहिलेसम्म टिक्छन् ? मिडियाकै कारण कलाकार–कलाकारबीच मनमुटाव भएका घटना पनि छन् । कलाकार र पत्रकारबीच झगडा भएका छन् । यस्ता घटना नेपालमा मात्र होइन, विदेशमा पनि भएका छन् । बेलायतकी राजकुमारी डायनाको पनि व्यक्तिगत जीवनलाई अहरूसँग जोडेर तथ्यहीन समाचार प्रकाशन भएकै कारण उनले ज्यान गुमाउनु परेको थियो । पेरिस घुम्न गएको बेला सन् १९९७ अगस्ट ३१ मा पापाराजीबाट भाग्ने क्रममा उनी कार दुर्घटनामा पारिन् र उपचारको क्रममा मृत्यु भयो ।
आजकल मनोरञ्जनको नाममा कलाकारहरूको ग्लामरस फोटो, भिडियो राखेर अनलाइन र युट्युवमा भ्यूअर्स र सस्क्राइबर बढाइरहने र व्यक्तिको सम्मान–प्रतिष्ठा घटाइरहने काम पनि मिडियाले गरिरहेको आरोप छ । त्यसकारण यदि अरु कसैलाई बदमास भन्दै हुनुहुन्छ भने आफै बदमास बाटो समाउन सक्नुहुन्न । अरुलाई बदमास भन्नका लागि आफू इमानदार हुनुपर्छ । पत्रकारहरूले हरेक पल सम्झन पर्ने कुरा यही हो । अन्तमाः फेरि भारतीय पत्रकार एएस पनिरसेल्भनकै भनाइबाट बिट मारौं,समस्या पाठकमा होइन । मिडियाभित्रै छ । मिडिया कसरी चलाउने र के विषयलाई कसरी प्रस्तुत गर्ने भन्नेमै मिडियाको समस्या छ । गल्ती भइहाल्यो भने पारदर्शिता र भूलसुभधार विश्वसनीयता वृद्धि गर्न अत्यन्त महत्वपूर्ण हुनेछ । यो पत्रकारिताको आधारभूत सिद्धान्त हो ।
स्रोतः संहिता, असोज २०७५ बाट
Leave a Reply