भर्खरै :

पचास रोपनीमा अलैँचीखेती

जाजरकोट, २२ मङ्सिर : नेपालमा पूर्वी पहाडबाट शुरु भएको कालो सुन नामले परिचित अलँैची खेतीमा जाजरकोटका कृषकको आकर्षण देखिएको छ । किसानको उत्साह र लगनशीलतालाई ध्यान दिँदै स्थानीय सरकारले किसानमुखी कार्यक्रम ल्याएर जीवनस्तर उठाउने अभियानमा लागेका छन् ।
कृषिप्रधान देशमा कृषिमुखी कार्यक्रम चलाउन सकिए मात्र किसानको आर्थिक जीवनस्तर माथि उठ्न सक्ने भेरी नगरपालिकाका नगरप्रमख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । छोटो समयमा राम्रो आम्दानी दिने र निर्यातको पनि राम्रो सम्भावना भएको अलैँची खेतीमा यहाँका कृषकको आकर्षण बढेसँगै स्थानीय सरकारको सहयोग पनि बढ्न थालेको छ । यो खेतीले अन्य बाली भन्दा धेरै आम्दानी दिने भएकोले पछिल्लो समय जिल्लाका कृषक यसको खेती गर्न उत्साहित हुन थालेका छन् । भेरी नगरपालिका–१० स्यालाकी इन्द्रा घर्तीले अहिले ५० रोपनी क्षेत्रफलमा अलैँचीखेतीे विस्तार गरी अगुवा किसानको रुपमा स्थापित हुनुभएको छ ।
पूर्वी जिल्लाका अलैँची खेतीबाट प्रभावित भई उहाँले दुई वर्षदेखि यो खेती शुरु गर्नुभएको हो । थोरै लगानी र परिश्रम गर्न सके केही वर्षमै लाखाँैको आम्दानी गर्न सकिने उहाँको भनाइ छ । राम्रो आम्दानी हुने भएकोले व्यावसायिक रुपमा यो खेतीको थालनी गरेको इन्द्राले सुनाउनुभयो । रु २२ लाखको लागतमा इन्द्राले ५० रोपनी क्षेत्रफलमा अलैंचीे विस्तार गर्नुभएको छ । छहरी कृषि फार्म स्थापना गरी पूर्व इलामबाट बिरुवा ल्याएर जिर्मल जातको अलैँची रोप्नुभएको छ । जन्म घर सुर्खेत र कर्म घर ताप्लेजुङ भई हाल यहाँ बस्दै आउनु भएकी उहाँले परम्परागत अन्य खेतीबाली भन्दा अलैँची खेतीबाट धेरै राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।
“नगरपालिकाबाट यो खेतीलाई विशेष सहयोगको आश्वासन पाएको छु,”उहाँले भन्नुभयो । अहिले अलैँची उत्पादन शुरु भएको उहाँले बताउनुभयो । सो फर्ममा एक हजार ५०० देखि दुई हजार क्वीन्टल अलैँची उत्पादन हुनेछ । भेरी नगरपालिकाका विभिन्न वडामा अलाँैचीखेती गर्ने किसानको सङ्ख्या ह्वात्तै बढेको छ ।
अलैँचीको विस्तारले नगरपालिकाको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने भएकाले नगरपालिकाले विशेष कार्यक्रम लागू गरेको नगरप्रमुख घर्तीले बताउनुभयो । “अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले यहाँका किसानलाई अलँैचीको विरुवा वितरण गरेको हो ”, उहाँले भन्नुभयो ।
नगरपालिकाले त्यस क्षेत्रमा कृषि उत्पादकत्व बढाउन क्रियाशील किसानलाई हौसला बढाउन प्याकेजमा कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ थियो । अलँैंचीको अन्तर्राष्ट्रिय बजारमा अहिले मूल्य घट्न थालेको छ । शुरुमा एक किलोको रु दुई हजार ५०० सम्म बिक्री हुने गरेको थियो । अहिले रु ६०० देखी एक हजार २०० सम्ममा बिक्री भइरहेको जनाइएको छ । अलैँचीबाट विभिन्न प्रकारका मसला, बिस्कुट, बासनादार तेल, औषधिलगायत बनाइने गरिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *