भर्खरै :

कृषि प्रदर्शनी मेला शुरु

खोटाङ, १४ पुस  : सदरमुकाम दिक्तेलमा वृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी शुक्रबारदेखि शुरु भएको छ ।
जिल्लाका कृषकलाई पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौं कृषक दिवसको अवसर पारेर दुई दिने प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्न जिल्लामा विसं २०६५ सालदेखि सञ्चालन हुँदै आएको वृहत कृषि मेला एवं औद्योगिक प्रदर्शनीकै निरन्तरतास्वरुप सो मेला गरिएको आयोजक समितिका संयोजक सदस्य गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो ।
अर्गानिक कृषि उपज उत्पादन एवं बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त मेलामा संस्थागत रुपमा ३५ कक्ष राखिएका छन् । दिक्तेलको हेलिप्याडमा आयोजना गरिएको सो प्रदर्शनीमा जिल्लाका दशवटै स्थानीय तहका कृषक सहभागी छन् । उनीहरुले व्यक्तिगत रुपमा उत्पादन गरेका विभिन्न उपज प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा राखिएकामध्ये दिक्तेलस्थित सरस्वती माविको कक्षा–११ मा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले बनाएका नमूना एकीकृत घर बगैँचा सबैभन्दा आकर्षक देखिएको छ । उनीहरुले भूकम्प प्रतिरोधात्मक नमूना घरवरिपरी फलफूल बगैँचा, गोबर ग्यास प्लान्ट, माछा पोखरी, सुधारिएको गोठलगायत निर्माण गरेका छन् । कार्यक्रमको अन्तिम दिन आज तरकारीबाली, खाद्यान्नबाली, फलफुलबाली लगायतका सात विधामा प्रथम, दोस्रो र तेस्रो हुने किसानलाई क्रमशः रु चार हजार, रु तीन हजार र रु दुई हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।
प्रदर्शनीमा राखिएका उत्कृष्ट स्टललाई पनि नगद रु पाँच हजार राशिको पुरस्कार व्यवस्था गरिएको छ । प्रदर्शनीकै अवसरमा नगरपालिकाले नगरभित्रका एक उत्कृष्ट किसानलाई नगद रु २५ हजार राशिको पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको दिक्तेल रुपाकोटमझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले बताउनुभयो ।
नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति, सवल परियोजना, शुभम् फाउण्डेशन, बालसेवा समाज लगायतको संयुक्त आयोजनामा उक्त प्रदर्शनी गरिएको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *