भर्खरै :

भेनेजुयाली राजनीतिक सङ्कटको समाधान भेनेजुयाली जनतामै छोड्नुपर्ने – चीन

पेइचिङ, २५ जनवरी । भेनेजुयलाको राजनीतिक मामिलामा चीन सरकारले पहिलोपटक औपचारिक प्रतिक्रिया जनाएको छ । शुक्रबार चीनको राजधानी पेइचिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्रालयका प्रवक्ता ह्वा छुङयिनले भेनेजुयलाको मामिलाको निर्णय भेनेजुयलाका जनताले गर्नसक्ने र गर्नुपर्ने बताएकी छिन् ।
सबै देशले संयुक्त राष्ट्र सङ्घको बडापत्रका लक्ष्य र सिद्धान्तको सम्मान गर्नुपर्ने चीनको मत भएको उनले बताइन् । उनले एकआपसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, सार्वभौमिकता र भूखण्डताप्रति एकले अर्कालाई सम्मान र बलप्रयोगको धम्की नदिने अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्ने बताइन् ।
“भेनेजुयलाको मामिला भेनेजुयाली जनताले नै निर्णय गर्न सक्छन् र गर्नुपर्छ । हामी सबै सम्बद्ध पक्षलाई भेनेजुयाली जनताको निर्णयलाई सम्मान गर्न आग्रह गर्छौं । भेनेजुयाली संविधानअनुुसार शान्तिपूर्ण संवादमार्फत राजनीतिक समाधान निकाल्न हामी भेनेजुयलाका सबै पक्षलाई आग्रह गर्छौं ।”, उनले भनिन् ।
चिनियाँ अधिकारीले भेनेजुयाली स्थायित्व र विकास नै सबै सम्बद्ध पक्षको हितमा रहेको धारणा राख्दै भेनेजुयलाका सबै पक्षसमक्ष त्यहाँको स्थायित्वको लागि काम गर्न आग्रह गरिन् ।
उनले सैनिक हस्तक्षेपलगायत भेनेजुयलाको आन्तरिक मामिलामा कुनै पनि विदेशी हस्तक्षेपको चीन विपक्षमा रहेको धारणा राखिन् ।
राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र स्थायित्वको लागि भेनेजुयाली सरकारका कुनै पनि प्रयासप्रति चीनको समर्थन हुने ह्वाले प्रस्ट पारिन् ।
संरा अमेरिकाले विशेषतः भेनेजुयलाको तेलको स्रोतमाथि नियन्त्रण जमाउन मादुरो सरकारका विपक्ष खेमालाई समर्थन गर्दै आएको विभिन्न सञ्चारमाध्यले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *