भर्खरै :

अमेरिकी राष्ट्रपतिको यस्तो अल्पज्ञानः गुप्तचर निकाय प्रमुखहरू हैरान

काठमाडांै, २१ माघ । २ फेब्रुअरीको टाइम्स पत्रिकामा संरा अमेरिकाको गुप्तचरी निकाय र डोनाल्ड ट्रम्पबीचको तनावपूर्ण सम्बन्धबारे एउटा लेख प्रकाशित भएको छ । ‘विलफुल इग्नोरेन्स’, इनसाइड प्रेसिडेन्ट ट्रम्पस ट्रबल्ड इन्टेलेजेन्स ब्रिफिङस’ (जानाजानको बेवास्ता, राष्ट्रपति ट्रम्पको समस्याग्रस्त गुप्तचरी बैठक) शीर्षकको सो लेख जोन वालकोटले लेखेका हुन् । संरा अमेरिकाको गुप्तचर निकायका प्रमुखहरूसँग राष्ट्रपतिको नियमित बैठकमा भएका विभिन्न घटनाको प्रसङ्ग सो लेखमा वर्णन गरिएको छ । विशेषतः पछिल्लो समय ट्रम्पले गुप्तचर निकायका अधिकारीमाथि चर्को आलोचना गर्न थालेपछि जवाफमा उनीहरूले ती घटनाहरू प्रकाशमा ल्याएका हुन् ।
लेखको एक प्रसङ्गमा त्यस्तै एउटा बैठकमा ट्रम्पले नेपाललाई भारतको एउटा हिस्सा भएको भनी दिएको अभिव्यक्तिबारे चर्चा गरिएको छ । दक्षिण एसियाको अवस्थाबारे छलफल गर्न बसिएको सो बैठकमा ट्रम्पलाई देखाउन उनका सल्लाहकारहरूले अफगानिस्तानदेखि बङ्गलादेशसम्म भएको नक्सा ल्याएका थिए । ट्रम्पले सो नक्सामा नेपालमाथि औंल्याएर नेपाल भारतको एउटा हिस्सा भनी बोलेका थिए । त्यहाँ सहभागी गुप्तचर अधिकारी र विषयविज्ञहरूले उनलाई सच्याउँदै नेपाल एउटा स्वतन्त्र देश भएको बताएका थिए । लगत्तै ट्रम्पले आफूलाई भुटानको बारे पनि जानकारी भएको र भुटान भारतको भाग भएको बताएका थिए । तर अधिकारीहरूले फेरि भुटान स्वतन्त्र अधिराज्य भएको प्रस्ट पारेका थिए ।
गएको महिनामात्र ‘पोलिटि’को नामको अखबारमा ट्रम्पले त्यस्तै एउटा बैठकमा नेपाल र भुटान दुवै देशको नाम गलत उच्चारण गरेको समाचार प्रकाशित भएको थियो ।
गुप्तचर निकायसँगको बैठकमा आफूले घोषणा गरिसकेका कुनै पनि विषयमा अधिकारीहरूले विमति राख्न खोज्दा ट्रम्प निकै रिसाउने गरेको र गुप्तचर निकायको खरो शब्दमा आलोचना गर्ने गरेको सो लेखमा उल्लेख छ । विषयविज्ञहरू समेत सहभागी हुने त्यस्ता बैठकमा राष्ट्रपतिको ध्यान आफूतिर केन्द्रित रहोस् भनी अधिकारीहरूले श्रव्यदृश्य सामग्री प्रयोग गर्ने गरेका छन् । साथै छोटा–छोटा दुई–तीन वाक्यमा विषयको जानकारी दिने गरेका छन् । साथै ध्यानाकर्षणको लागि पटक–पटक राष्ट्रपतिको नाम दोहो¥याउने गरिएको लेखमा भनिएको छ । तथापि पनि उनीहरूको प्रयत्न विफल हुने गरेको अधिकारीहरूले भने ।
यसै साता भएको त्यस्तो बैठकमा राष्ट्रिय सुरक्षा चुनौतीबारे छलफल भएको थियो । बैठकमा सीआईए र एफबीआईका अधिकारीहरू सहभागी थिए । उत्तर कोरिया, रुस, इस्लामिक देश र इरानसँग जोडिएका विषयमा त्यहाँ कुराकानी भएको थियो । ट्रम्पले सो बैठकमा गुप्तचर निकायका प्रमुखहरू ‘निकै निस्क्रिय र सोझो’ भएको भन्दै ‘विद्यालयमा जानु उपयुक्त हुने’ भनी आलोचना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *