भर्खरै :

भारतीय दबाबमा सीके राउतसँग सरकारको सम्झौता

काठमाडौँ, २८ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेपाल क्रान्तिकारी किसान सङ्घको पाँचौँ केन्द्रीय परिषद् मङ्गलबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेंले भारतीय विस्तारवादकै दबाबमा नेपाल सरकारले सि. के. राउतसँग सम्झौता गराएको र अदालतबाट रिहाइ भएको बताउनुभयो । वर्तमान सरकार कम्युनिष्टको सरकार नभएको चर्चा गर्दै उहाँले कम्युनिष्ट नामले होइन कामले हुने बताउनुभयो । कम्युनिष्टहरूले यो पुँजीवादी व्यवस्थामा जनताको लागि केही गर्ननसक्ने उल्लेख गर्दै उहाँले जबसम्म देशमा क्रान्ति हुँदैन तबसम्म कम्युनिष्टहरू सरकारमा जान नहुने बताउनुभयो ।
नैतिकता नभएका कार्यकर्ता राजनीतिमा धेरै नटिक्ने चर्चा गर्दै अध्यक्ष रोहितले देशको विकास गर्न राजनैतिक नैतिकताले धेरै सघाउ पु¥याउने बताउनुभयो ।
कार्यकर्ताहरू पदको लोभी हुन नहुने चर्चा गर्दै उहाँले योग्य कार्यकर्तालाई उचित पदमा राख्नुपर्ने बताउनुभयो । कार्यकर्ताहरू पदको पछि लाग्न नहुने बताउँदै उहाँले कार्यकर्ताहरूले दबाबमा आएर नेतृत्व चयन गर्न नहुने र सक्षम र योग्य व्यक्तिहरूलाई पदमा पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“कार्यकर्ताहरू हरेक विषयमा विज्ञ र जिज्ञासु हुनुपर्दछ । राजनैतिक कार्यकर्ताहरू सक्रिय भएमा, कार्यकर्ताहरू दिनरात नभनी खटेमा पार्टीको आकार ठूलो हुन्छ । किसान सङ्घका कार्यकर्ताहरू गाउँगाउँगई सङ्गठन गर्नुपर्ने आवश्यकता छ”, अध्यक्ष रोहितले भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले किसान समस्याहरूको चर्चा गर्दै तराईका किसानहरूको आर्थिक, राजनैतिक, सामाजिक अवस्था झनै नाजुक अवस्था रहेको बताउनुभयो ।
किसानहरूको समस्यालाई पहिचान गर्न र नेपाल क्रान्तिकारी किसान सङ्घको सङ्गठनलाई सुुदृढ गर्न परिषद् बोलाइएको उल्लेख गर्दै उहाँले देशभरिका किसानहरूको अवस्था झन्झन् बिग्रँदै गएकोले सङ्गठित हुने समय आएको बताउनुभयो ।
जनताको भावना बुझेर काम गर्नुपर्ने कार्यकर्ताहरू कुनै पनि समयमा कुनै पनि ठाउँमा गएर सङ्गठनको लागि कार्य गर्न तत्पर रहनुपर्ने उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले राजनैतिक कार्यकर्ताहरू समाजमा हुने हरेक घटनाहरूप्रति सचेत भइरहनुपर्ने बताउनुभयो । किसान सङ्घले विगतका दिनमा पनि किसानहरूको मोहियानी हक कायम गराउन सङ्घर्ष गरेको स्मरण गर्दै अब समयसापेक्ष किसानहरूको समस्यालाई लिएर सङ्घर्ष गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय कोषाध्यक्ष हरिराम सुवालले परिषद् बोलाउनुको आवश्यकता र औचित्यबारे मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *