भर्खरै :

स्थानीय स्काउट परिषद्का नवनिर्वाचित सदस्यहरूलाई बधाई ज्ञापन

स्थानीय स्काउट परिषद्का नवनिर्वाचित सदस्यहरूलाई बधाई ज्ञापन

भक्तपुर, २९ माघ । स्थानीय स्काउट परिषद्का संरक्षक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्काउटमा निर्वाचित सदस्यहरू स्थानीय स्काउट परिषद् र स्थानीय कार्यसमितिको काम, कर्तव्य, अधिकारबारे जानकार हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपामा सोमबार सम्पन्न स्थानीय स्काउट परिषद्का नवनिर्वाचित सदस्यहरूसँगको परिचयात्मक तथा शुभकामना कार्यक्रममा उहाँले नवनिर्वाचित पदाधिकारीहरूले आफ्नो कार्यकालभित्र अनुशासन र इमानदारिताका साथ कर्तव्यपालनामा ध्यान दिन मार्गनिर्देश गर्नुभयो ।
स्काउटले सङ्कटको समयमा जनताको असल मित्रको रूपमा काम गर्नुपर्ने बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले भक्तपुरका विद्यालयहरूमा स्काउटसम्बन्धी तालिम सञ्चालन गर्ने नीति लिएको बताउनुभयो ।
उहाँले युवाहरूलाई स्वअनुशासनमा ल्याउन र अनुशासित समाज विकास गर्न स्काउटको महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्काउटका पदाधिकारीहरू स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयबारे सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइ, खेलकुदलगायत सबै क्षेत्रमा भक्तपुर देशकै लागि उदाहरणीय ढङ्गले काम गर्दै आएको बताउँदै उहाँले स्काउटभित्र पनि भक्तपुरको विशेषता कायम हुने ढङ्गले काम गर्न प्रेरित गर्नुभयो ।
राजनीति भागबन्डा नमिल्दा महत्वपूर्ण पदहरूमा नियुक्तिमा ढिलाइ भइरहेको बताउँदै उहाँले राजनीतिक भागबन्डा र खिचातानीले देशको शिक्षा झन्झन् कमजोर बन्दै गइरहेको बारे प्रस्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् स्थानीय स्काउट परिषद्का प्रमुख रजनी जोशीले नवनिर्वाचित सदस्यहरूलाई बधाई एवम् सफल कार्यकालको शुभकामना दिँदै परिषद्लाई जिम्मेवार ढङ्गले अगाडि बढाउन सबैको साथ र सहयोग खाँचो रहेको बताउनुभयो । उहाँले विद्यालयहरूमा स्काउट तालिम सञ्चालन गर्ने विषयमा छलफल चलिरहेको बताउँदै स्काउटको क्षेत्रमा भक्तपुर नपाले व्यवस्थित ढङ्गले काम गर्ने बताउनुभयो ।
स्थानीय स्काउट परिषद्का प्रमुख रजनी जोशीलाई निर्वाचनका अधिकृत अधिवक्ता रामप्रसाद प्रजापतिले माघ २६ गते सम्पन्न नेपाल स्काउट, स्थानीय स्काउट परिषद् निर्वाचन २०८० मा निर्वाचित प्रतिनिधिहरूको नामावली हस्तान्तरण गर्नुभयो ।
स्थानीय स्काउट परिषद् भक्तपुर नपाको माघ २६ गते सम्पन्न निर्वाचनमा पवनकुमार वल्ल निर्विरोध, न्हुज किजु, निरन्जन बेकोजु, बालकृष्ण वनमाला, किशोर गोसाई, पूर्णभक्त दुवाल, रीना सुवाल, रुबिना छुस्याबाग, पुष्पा प्रजापति, सीतामैँया त्वानाबासु र रोजीना वनमाला निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *