भर्खरै :

सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश

–सिवी अधिकारी
काठमाडौँ, २ वैशाख (रासस) ः विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्देश प्रवाह गरिने भएको छ । नेपालको आरोहण इतिहासमै पहिलो पटक नेपाल, भारत र चीनका तीन महिला आरोहीले भ्रमण वर्षको सन्देशसहित सगरमाथा आरोहण गर्न लागेका हुन् । नेपालकी कान्छिमाया तामाङ, भारतकी कल्पना दास र चीनका लियामु मालगायतको आरोही समूहले वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न लागेको भ्रमण वर्ष सचिवालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले सगरमाथाबाट भ्रमण वर्षको सन्देशलाई विश्वभर फैलाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले भ्रमण वर्षको झण्डासहित आरोहण हुन लागेको बताउनुभयो । आरोहण इतिहासमै पर्यटकीय महत्वका छिमेकी मुलुक भारत र चीनसहित संयुक्त आरोहणले विश्व पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह हुने उहाँले उल्लेख गर्नुभयो । महिला सशक्तीकरण, विश्व शान्ति र सद्भाव अभिवृद्धि गर्न आरोहण उपयोगी हुनेछ । संयुक्त महिला आरोहणको संयोजन सगरमाथाको १८ पटक आरोहण गरेका कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले गर्नुहुनेछ । शेर्पा ‘नेपाल टुरिजम इयर २०११’ को सद्भावना दूत पनि हुनुहुन्थ्यो । आरोही तामाङ्ले सन् २०१७ र २०१८ मा सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँ प्रथम तामाङ महिला सगरमाथा आरोही पनि हुनुहुन्छ । विभिन्न सामाजिक गतिविधिमा संलग्न तामाङ सन् २०१७ देखि युएन वोमनको सद्भावना दूत हुनुहुन्छ । त्यस्तै, भारतीय र चिनीया आरोहीले पनि विश्वका विभिन्न अग्ला हिमाल आरोहण गरेको बताइन्छ । दासले नेपाल, भारत, युरोप, साउथ अमेरिका र अष्ट्रेलियाको हिमाल आरोहणको अनुभव छ । उहाँले सन् २००८ मा सगरमाथा आरोहण गर्नुभएको थियो । चिनियाँ आरोही माले सगरमाथा, मनास्लु, लुबुचेलगायत हिमाल आरोहण गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित भ्रमण वर्षको लोगोसहितको झण्डा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आरोही समूहलाई हस्तान्तरण गर्नुभयो । यो आरोहणबाट साहसिक पर्यटनका लागि नेपाल उपयुक्त गन्तव्य हो र त्यसका लागि नारी सक्षम छन् भन्ने सन्देश दिने विश्वास लिइएको छ । सो अवसरमा सचिव सापकोटाले भ्रमण वर्षको सन्देशसहितको आरोहणले नेपालको पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रमण वर्षलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाउने र भ्रमण वर्ष सचिवालयलाई थप सक्रिय बनाइने उल्लेख गर्नुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बढी पर्यटक आगमन हुने मुलुक भारत र चीनलाई जोडेर हुने सगरमाथा आरोहणले नेपालको पर्यटन प्रवद्र्धन गर्न प्रभावकारी सन्देश जाने बताउनुभयो । आरोहीमध्ये भारतीय र चिनियाँ आफ्नै खर्चमा जानेछन् भने नेपाली आरोही तामाङका लागि भ्रमण वर्ष सचिवालयको रु २० लाख र केही रकम नेपाल पर्यटन बोर्डले दिनेछ । बाँकी आरोही स्वयंले जोहो गर्ने बताइएको छ । आरोहण समूहमा चार जना चिनियाँ तथा नेपाली शेर्पाहरु रहनेछन् । आरोहण टोलीका संयोजक पेम्बा दोर्जे शेर्पाले विश्वलाई भ्रमण वर्षको सकारात्मक सन्देश दिन पहिलो पटक भारत र चीनलाई जोडेर आरोहण गर्न लागिएको बताउनुभयो । आरोही दासले नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाई सुमधुर बनाउने लक्ष्यका साथ यो पटकको सगरमाथाको आरोहणमा नेपाली साडी लगाएर आरोहणमा जाने बताउनुभयो । चिनियाँ आरोही माले संयुक्त आरोहणमा जान पाउँदा निकै गर्वको महशुस भएको र यसले विश्वलाई महत्वपूर्ण सन्देश दिने बताउनुभयो । भ्रमण वर्ष कार्यान्वयन निकै चुनौतीपू
र्ण भए पनि यसलाई सफल बनाउने आम नेपालीको जिम्मेवारी भएको कार्यक्रम संयोजक वैद्यले बताउनुभयो । उहाँले मुलुकको आर्थिक समृद्धिलाई सार्थक बनाउन पनि अभियान सहयोगसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोहीबमोजिम बजेट तथा कार्यक्रमका साथ अभियान शुरु गरिएको छ । भ्रमण वर्षको चैत २० गते पोखराबाट पूर्व शुरुआत गरिएको छ । आवश्यक तयारीपछि छिट्टै भ्रमण वर्षको औपचारिक रुपमा शुभारम्भ गर्ने जनाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हालै भएको भ्रमण वर्ष २०२० मूल आयोजक समितिको बैठकले अभियानलाई उत्साहका साथ प्रभावकारी कार्यान्वयन गराउने निर्णय गरिसकेको छ । उक्त बैठकले भ्रमण वर्ष मनाउन आर्थिक वर्ष २०७५÷७६ को बजेट तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गर्दै प्रचारप्रसारका लागि सबै संयन्त्रलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको थियो । भ्रमण वर्षका लागि सरकारले यो वर्ष रु १० करोड बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *