भर्खरै :

लेनिनः उत्पीडित जनता र देशका पथप्रदर्शक

मानव इतिहासको गति बदल्ने कोशेढुङ्गा–अक्टोवर समाजवादी क्रान्तिका आर्किटेक्ट भी. आई. लेनिनको आज १४९ औँ जन्म दिवस । शोषण र युद्धले कुरुप पुँजीवादी व्यवस्थालाई ध्वस्त बनाई न्याय र समानतामा आधारित समाजवादी व्यवस्था स्थापना गरी संसारका शोषित पीडित जनतामा न्यायको भोक जगाउने लेनिन विश्व सर्वहारा वर्गका गुरु हुनुहुन्थ्यो । तत्कालीन रुस र युरोपको परिवेशमा लेनिनले प्रतिपादन गर्नुभएका कार्यक्रम र सिद्धान्त संसारका कामदार जनताको लागि आज पनि प्रेरणा बनिरहेको छ । माक्र्स र एंगेल्सले प्रतिपादन गर्नुभएको वैज्ञानिक समाजवादी विचारलाई पुस्तकका ठेलीबाट बाहिर निकालेर मजदुरको हथौडा र किसानका हँसियासम्म पु¥याउने ऐतिहासिक भूमिका लेनिनले पूरा गर्नुभयो । लेनिनको राजनीतिक जीवनको आरम्भ नै सही विचारको खोजीबाट भयो । रुसीका राजा जारको हत्या प्रयास गरेको अभियोगमा उहाँका दाजुलाई ज्यान सजाय भयो । दाजुलाई ज्यान सजाय भएपछि राजनीतिप्रति चासो राख्न थाल्नुभएका लेनिन व्यक्तिहत्याबाट समाजमा परिवर्तन नआउने निष्कर्षमा पुग्नुभयो । उहाँको गहिरो अध्ययनले माक्र्सवाद नै समाजमा आमूल परिवर्तनको लागि उपयुक्त वैचारिक हतियार भएको निचोडमा पु¥यायो ।
माक्र्सवादीहरूबीच पनि उहाँको सबभन्दा चर्को द्वन्द्व संशोधनवादीहरूसँग भयो । संशोधनवाद माक्र्सवादी विचारभित्र घुसेको पुँजीवादी विचारधारा हो । तत्कालीन समयमा जर्मनी दर्शनको भूमि मानिन्थ्यो । स्वयम् माक्र्स र एंगेल्स पनि जर्मनीमा जन्मनुभएको थियो । तर, लेनिनले तत्कालीन जर्मनी समाजवादी प्रजातान्त्रिक पार्टीभित्रै झाङ्गिएको संशोधनवादी विचारविरुद्ध बिना कुनै हिनताबोध सैद्धान्तिक सङ्घर्ष गर्नुभयो । बर्नस्टिन र काउत्स्कीजस्ता जर्मन नेताहरू लेनिनभन्दा पुराना र धेरैले स्वीकारेका नेताहरू हुनुहुन्थ्यो । तथापि लेनिनलाई सही विचारको पक्षमा लड्न उहाँहरूको ‘उचाइ’ ले छेकेन । साम्राज्यवादी शासक वर्ग आपसमा लडिरहेको समयमा आ–आफ्नो देशमा मजदुरहरूले शासक वर्गविरुद्ध क्रान्ति छेड्नुपर्ने लेनिनको विचारलाई काउत्स्कीजस्ता नेताले अस्वीकार गरे । बरु जर्मनीको शोषक वर्गकै सेवामा जर्मनी समाजवादी प्रजातान्त्रिक पार्टीलाई आत्मसमर्पण गर्नुभयो । लेनिन, रोजा लक्जम्बर्ग, कार्ल लिब्नेख्तजस्ता नेताहरूले साम्राज्यवादी युद्धको विरोध गर्दै गृहयुद्धको लागि आह्वान गर्नुभयो । रुसमा समाजवादी व्यवस्था स्थापना भयो । सन् १९१७ को फेब्रुअरी महिनामा रुसमा पुँजीवादी क्रान्ति भएको थियो । जार सत्ताच्युत भए । करेन्स्कीको नेतृत्वमा पुँजीवादी सरकार स्थापना भयो । तर, रुसी सर्वहारा वर्गको मुक्ति त्यो व्यवस्थाबाट पनि सम्भव थिएन । लेनिनले क्रान्तिको निरन्तरताको आह्वान गर्नुभयो । रुसमा समाजवादी सत्ता स्थापना भयो । ठूलो देशको पार्टीका ठूला नेताले भनेको भन्दै लेनिनले माक्र्सवादलाई आफ्नो परिस्थितिको कस्सीमा नघोट्नु भएको भए अक्टोबर क्रान्ति सम्भव हुने थिएन ।
रुसमा समाजवादको उदयसँगै उपनिवेशवादबाट घाइते मानवताबीच न्याय र समानताको नयाँ आशाको उदय भयो । सबै ठूला शक्तिले संसारमा उपनिवेश कायम गरी आफ्नो समृद्धि धानिरहेको अवस्थामा सोभियत समाजवाद अरुमाथि उपनिवेश लाद्नु गलत हो भन्ने सिद्धान्तमा आधारित भएर दृश्यपटमा देखिनु उपनिवेशवादी शासनले उकुसमुकुस भएका देशको लागि स्वतन्त्रताको नयाँ क्षितिज झुल्केसरि भयो । शोषण र नाफामा आधारित विश्व व्यवस्थाले फड्को मा¥यो र न्याय र समानतामा आधारित राज्य व्यवस्थाको सम्भावना देखियो । लेनिन त्यसै नयाँ सम्भावनाका वैचारिक नायक हुनुहुन्थ्यो ।
लेनिन संसारका सबै उत्पीडित जनता र उत्पीडित राष्ट्र एवं देशका स्वतन्त्रता र स्वाधीनताका पथप्रदर्शक हुनुहुन्थ्यो । राष्ट्रवाद फेरि पनि आजको विश्वको लागि चुनौती बनिरहेको परिस्थितिमा लेनिनको अन्तर्राष्ट्रवादी विचार थप सान्दर्भिक बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *