अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
राकस्था
नेपालमा विद्यालयीय शिक्षाको नयाँ सत्र सुरु हुँदैछ । अबको शिक्षा कस्तो खालको हुनुपर्छ भन्नेबारेमा बहस पनि हुँदैछ । एक्काइसौँ शताब्दीको चुनौतीको सामना गर्नसक्ने युवा पुस्ता तयार हुनुपर्ने तर्क पनि गरिन्छ । यो विषय सजिलै छिमल्न भने सकिन्न ।
कार्ल माक्र्सले १९ औं शताब्दीको बीचतिर प्रकाशित गर्नुभएको पुस्तक ‘कम्युनिष्ट घोषणापत्र’ मा उत्पादन श्रमसँग जोडिएको शिक्षा हुनुपर्ने तर्क गरे । ब्राजिलका प्रसिद्ध शिक्षाशास्त्री पाउलो फ्रेरेले आजभन्दा पाँच दशक अगाडि प्रकाशित गर्नुभएको पुस्तक ‘उत्पीडितको शिक्षाशास्त्र’ मा शिक्षाले उत्पीडित वर्गलाई मुक्त गर्नुपर्ने धारणा राखे ।
जेरुसेलम हिवु्र विश्वविद्यालयका प्राध्यापक डा. युवाल नोहा हरारीले हालै लेखेको ‘२१ औं शताब्दीका २१ पाठहरू’ पुस्तकमा परिवर्तनसँग सामना गर्नसक्ने, नयाँ ज्ञान हासिल गर्न तयार र नौलो परिस्थितिमा पनि मानसिक सन्तुलन कायम राख्नसक्ने शिक्षा हुनुपर्ने तर्क गरेका छन् ।
शिक्षा देश, समाज र समयसापेक्ष हुनुपर्छ । तर, त्यसलाई कसरी पर्गेल्ने ? युगको आवश्यकता पूरा गर्ने शिक्षा हुनुपर्नेमा सबै एकमत हुनुपर्छ । युगको आवश्यकताको पहिचान कसरी गर्ने ? एक्काइसौँ शताब्दीको शिक्षा कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ सजिलो छैन । यसले हाम्रो समाजको इतिहास, वर्तमान र भविष्यको विश्लेषणको माग गर्दछ ।
निश्चय नै हरेक युगका चुनौती फरक–फरक हुन्छन् । तर, आजको युगको चुनौती झन् जटिल छ । अब आउने युग झन् चुनौतीपूर्ण हुनेछ । मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने विज्ञान तथा प्रविधिको क्षेत्रमा तीव्र परिवर्तनका मोड तथा कडीहरू यो शताब्दीमा देखिए । सञ्चार क्षेत्रमा आएका परिवर्तनहरूले मानिसको जीवनमा युगान्तकारी प्रभाव पारेका छन् । यातायात, चिकित्सा विज्ञान, अन्तरिक्ष विज्ञान, ऊर्जा विज्ञान आदि कुनै पनि क्षेत्रमा आगामी युगमा कस्तो खालको परिवर्तन आउने हो अनुमान गर्न नसकिने अवस्था छ ।
सन् २०३० को समाज कस्तो होला ? आज जन्मिएको बच्चा युवा हुँदा कस्तो खालको समाज बन्छ ? यसको आङ्कलन गरिएन भने भोलिको समाजको जग सही ढङ्गले हाल्न सकिन्न । सन् २०५० को निम्ति कस्तो जनशक्ति आवश्यक होला ? प्रश्न सरल लाग्छ तर उत्तर जटिल छ ।
गएका धेरै शताब्दीहरूमा मानिसको उत्पादनका साधन र सम्बन्धमा खास परिवर्तन आएन । मानव समाजको इतिहासमा कम्तीमा १० हजार वर्षदेखि कृषि कर्म चालू भएको मानिन्छ । उतिबेला सामान्यतः एउटा पिताले आफ्नो सन्तानलाई खेतीपाती नै सिकाउँथे । कैयौं पुस्ताले उही कुटो र कोदालो चलाएर जीविका गरे । पुख्र्यौली पेशा सिक्दै सिकाउँदै कैयौं पुस्ताका आवश्यकताहरू पूरा भए । माटोको भाँडो बनाउने, काठको काम गर्ने, जुत्ता सिलाउने, कपाल काट्ने, कपडा सिलाउने, चित्र कोर्ने, फलामका औजार बनाउने सीपमा अलिअलि गर्दै परिमार्जन हुँदै आयो । आज आएर परम्परागत सीपले औद्योगिक उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि कैयौंले आफ्नो पेशा छोड्नुप¥यो र तिनीहरू बजारको मागअनुसारको सीप सिक्न तथा पेशा अपनाउन बाध्य भए ।
१८ औं र १९ औं शताब्दीमा औद्योगिक क्रान्ति भएपछि हजारौं वर्षदेखिको सामन्ती उत्पादनका प्रणालीमा परिवर्तन भई पुँजीवादी उत्पादनका साधन र उत्पादन सम्बन्धको विकास भयो । समाजको आधारभूत संरचनामा परिवर्तन भएसँगै हजारौं वर्षदेखि अभ्यासमा रहेका सीप र काममा पनि परिवर्तन आयो । पुँजीवादी उत्पादन सम्बन्धले समाजमा जिउने ढाँचा दिनप्रतिदिन परिवर्तन हुँदैछ । नाफाको निम्ति विस्तार भएकोे बजारले मानिसको इच्छा र विचारलाई नियन्त्रणमा लिन थालेको अवस्था छ ।
दस वर्षअघि रेडियो र क्यासेट प्लेअर बनाउन सिकेको मान्छेको पेशा आज पुरानो र काम नलाग्ने पेशा बनेको छ । उसले केही वर्ष मोबाइल फोन मर्मतको काम ग¥यो । तर, त्यो कामले पनि पेट पाल्न नपुग्ने भयो । किनभने बिग्रिएको मोबाइल बनाउनुभन्दा नयाँ किन्नु फाइदाजनक भयो वा बनाउनै नमिल्ने खालका मोबाइल बजारमा आएका छन् । यो एक उदाहरणमात्र हो ।
किसानको सम्पत्ति सन्तानबीच बाँडिदै गएपछि आजको पुस्ताले जग्गा नै पाएन वा खेतीको उत्पादनले घरपरिवारका आवश्यकताको पूर्ति गर्न सकेन र बाध्य भएर मानिस मजदुर बन्नु परेको छ । एउटा किसानको सन्तान सहर पसेर कहिले कुल्ली बन्छ, कहिले तरकारी बेच्छ, कहिले भाँडा माझ्छ, कहिले निर्माण मजदुर बन्छ, कहिले कपडा बुन्छ । कतै पनि उसको स्थायित्व हुन्न, अनेक हण्डर र ठक्कर खाँदै जीवन बित्छ । सिक्ने क्रम निरन्तर चलेन भने कसैको जीवन पनि सरल हुन्न ।
हिजो एउटा किसानको सन्तान आफ्ना आमा वा बुबासँग डोरिँदै ज्ञानको डोरी बाट्थे । कसरी धानको बीउ हाल्ने, कसरी बेर्ना सार्ने, गोडमेल कसरी गर्ने र कसरी फसल भित्र्याउने ? आमाबुबाको काम हेर्दै नवजवानले सिक्थे । आफूले उपभोग गरिसकेपछि बचेको अन्न बजारमा लगेर कसरी बेच्ने, कसरी मोलमोलाइ गर्ने भन्ने अभिभावक वा आफूभन्दा पाका मान्छेबाट उनीहरू सिक्थे । केटाकेटीले खेतमा पानी लाउने क्रममा हुने विवाद कसरी सल्टाइन्छ ? समझदारी र मेलमिलाप कसरी हुन्छ भन्ने कुरा हेरेर, सुनेर र अनुभवबाट सिक्थे । आजका विद्यालय फरक छन्, सिकाइ फरक छ । विद्यार्थीको ज्ञान किताब वा अनलाइनमा निर्भर हुन्छ वा शिक्षकको प्रस्तुतिमा । विद्यार्थी अप्रत्यक्ष ज्ञानमा बढी आकर्षित देखिन्छन् । केटाकेटी ‘भर्चुअल’ वा काल्पनिक संसारमा मस्त देखिन्छन् । मोबाइल, ल्यापटप वा कम्प्युटरको मनिटरमा फूटबल खेल्छन्, क्यारम बोर्ड र चेस खेल्छन् । अनुभवबाट सिक्ने वातावरण कम हुँदै गएको पाइन्छ ।
हिजो सिक्ने स्रोत कम थिए । पुस्तक कमै हुन्थे । प्रकाशित पुस्तकहरू पनि शासकहरूको अनुमति पाएरमात्र प्रकाशित हुन्थे । कैयौं पुस्तक शासकहरूको गुणगानका निम्ति प्रकाशित हुन्थे । त्यसमध्ये अधिकांश कथा र उपन्यासजस्ता साहित्य हुन्थे । आज घरघरमा सूचनाको बाढी नै आएको छ । इन्टरनेटको संसार ब्रह्माण्डजत्तिकै छिचोल्न कठिन बनेको छ । सूचनाको भेलमा आजका युवापुस्ता दिग्भ्रमित बनेका छन् । के चाहिने, के नचाहिने भन्ने छुट्याउनु अति कठिन भएको अवस्था छ । के ठीक र के बेठीक भन्ने छुट्याउन पनि मुस्किल छ ।
आजका बच्चाले सिकेको काम आजभन्दा २० वर्षपछि कामलाग्दो होला भन्न सकिन्न । आज सिकेको दोस्रो वा तेस्रो भाषा भोलि काम लाग्ने–नलाग्ने थाहा छैन । कृत्रिम बौद्धिकताका यन्त्रमानवहरूले भाषाको अनुवाद गर्लान् वा मानिसले गर्ने काम एउटा यन्त्रले कैयौं गुणा राम्रो र भरपर्दो ढङ्गले गर्र्ला भन्न सकिन्न । मानिस बेकाम हुने डर छ ।
राज्यले आगामी युगको पूर्वानुमान गर्नैपर्छ र त्यसबेलाको सामाजिक संरचनाको निम्ति आवश्यक जनशक्ति निर्माणको तयारी गर्नुपर्छ । देशको जनशक्तिलाई उत्पादनशील काममा लगाउन सोहीअनुसारको शिक्षा व्यवस्था आवश्यक छ । निःसन्देह, कार्ल माक्र्सको उत्पादनशक्तिसँग जोड्न सकिएमा कोही बेरोजगार हुनुपर्नेछैन ।
समयसँगै आएको परिवर्तनलाई आत्मसात गर्नसक्ने बनाउनु शिक्षाको मुख्य उद्देश्य बनाउनुमा कसैको विमति नहोला । नयाँ सीप सिकिरहने गुणको विकास गर्ने शिक्षा आवश्यक छ । बुद्ध र माक्र्सले भनेझैं हरेक विचारलाई आलोचनात्मक रूपमा हेर्ने युवाको आवश्यकता छ । सञ्चारमा अगाडि बढेका र सिर्जनशील युवा तयार पर्ने दायित्व आजको शिक्षाले लिनुपर्छ । सचेत हुने, सङ्गठित हुने र सङ्घर्ष गर्ने युवा शक्ति चाहिन्छ । जस्तोसुकै परिस्थितिमा पनि निराश नहुने युवा पुस्ताले नै एक्काइसौँ शताब्दीको नेतृत्व सम्हाल्नेछ ।
Leave a Reply