भर्खरै :

मिचिएको भूमि फिर्ता नलिने ?

– गौरव प्रधान
अङ्ग्रेज सेनालाई लखेटेर नेपाली भूमिको रक्षा गर्ने उजीरसिंह थापाजस्ता वीर नेपालीहरूको स्मरण गर्नु, योगदानको कदर गर्नु र जितगढीमा विजयोत्सव मनाउनु स्वागतयोग्य कुरा हो । तत्कालीन अङ्ग्रेज सेनालाई नेपाली वीर सेनाले करिब २०४ वर्षअघि पराजित गरेको स्मरण गर्ने सरकारले अहिले नेपाली भूमि कसले कति मिचिरहेको छ, मिचिने क्रममा छ सोको कहिले पनि लेखाजोखा गरेको छैन । जसले जे मिचे पनि, थिचे पनि अहिले आन्दोलन या सङ्घर्षको जरुरत छैन भनी सरकार ठूला शक्ति राष्ट्रको दास भएर शासन गरिरहेको छ । सरकारले देशभर रहेका ऐतिहासिक गढीहरूको मात्र संरक्षण होइन भारतले जहाँ जहाँ नेपाली भूमि मिचेको छ, नेपाली जनतालाई उठिवास गरिरहेको छ त्यहाँ त्यहाँ सरकारले नेपाली भूमि जोगाउनुपर्छ र नेपालीहरूको उठिवास रोक्नेतर्फ सरकारको ध्यान पुग्नैपर्छ ।
कर्णेल उजीरसिंह थापाको नेतृत्वको नेपाली फौजले अङ्ग्रेजी सेनालाई धपाउन सक्छ, हराउन सक्छ भने वर्तमान सरकारको अगुवाइमा नेपाली भूमि मिचेर बसिरहेका भारतीय पक्षलाई हटाउने, धपाउने कूटनीतिक प्रयास किन भएन ? विस १८७१ मा नेपाल र अङ्गे्रज सेनाबीच युद्ध हुँदा नेपाली सेनाले ज्यानको बाजी राखेर आफ्नो मातृभूमि जोगाए । यसरी अङ्ग्रेज सेनामाथि विजय प्राप्त गरेको दिन वैशाख ७ लाई स्मरण गरेर विजयोत्सव मनाउने सरकारले अतिक्रमित भूमि फिर्ता लिएर अर्को विजयोत्सव मनाउने दिन कहिले आउने होला ? नेपालमा यतिबेला बखान गरेर नाम कमाउनुभन्दा नेपाली भूमि फिर्ता लिने बहादुर प्रमको खाँचो छ । के ओली बहादुर प्रम भएर निस्केलान् ? नेपाल र नेपालीलाई बोल्ने बहादुर होइन काम गरेर देखाउने बहादुर चाहिन्छ ।
साक्षर पनि नबनेको मुलुकमा विद्वानहरूको देश बनाउने दममा फुलेका ठूला र शक्तिशाली दलका शक्तिशाली प्रमले देश जोगाउन बहादुरहरूको देश बनाउन पहल गर्ने कि ! देशमा विकास नभएरै र नेपाली भूमि नजोगेरै सरकारको आलोचना भइरहेको हो । विकासको विरोध कुनै दलले गरेको छैन, गर्नुपर्दैन । कसैले विरोध गर्दैमा विकासको ‘महाअभियान’ रोकिंदैन भनेर टाउको दुखाउनुपर्ने विषय होइन । साँच्चै भन्नुपर्दा सत्तासीन दलका नेता तथा कार्यकर्ताहरूले विकासको बुईमा चढेर पदको दुरुपयोग गरी अकुत सम्पति कुम्ल्याइरहेका छन् । नेकपाका नेता तथा कार्यकर्ताहरूको चर्तिकला हेर्दा देशमा विकासको सपना बाँडेर पैसा कमाउने जमातको सङ्ख्या बनिरहेको छ । यतातर्फ सत्तासीन नेताहरू गम्भीर भएर इमानदारीपूर्वक लागे देशमा देशभक्त, असल, इमानदार र चरित्रवान नागरिक तयार हुन्छ कि ? अनि पो देश जोगाउन सहयोग पुग्ला, होइन र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *