भर्खरै :

लठीमा सिउरेको चप्पलले जोगिएँ

वीणा बोहजू
वैशाख २४ गते एउटा परीक्षा दिन म आफ्नै कोठाको खातमा बसेर एकाग्र भई पढिरहेकी थिएँ । ११ः०० बजे हुँदो हो, बुबा आमा खेत जानुभयो । म बसेको तलाको भित्रको कोठामा र सुजन भाइ र फुपूको छोरो निश्चल कम्प्युटरमा गेम खेलिरहेका थिए । दिवालीको भोजमा आउनुभएकी कान्छी फुपू र माथिल्लो तलामा बज्यैैसँग बसी बत्ती काटिरहनुभएको थियो । शोभा दिदी त्यहीँ बसेर टीभीमा मस्त थिइन् । छिँडीमा सङ्गीता दिदीलाई लुगा धुनको हत्तारो थियो । अर्की शर्मिला दिदी पनि साथीहरूसँग धुलिखेल घुम्न ११ः३० बजे निस्केकी थिइन् । यसप्रकार समय आफ्नै स्वाभाविक गतिमा बगिरहेको थियो ।
गल्लीभित्रको साँघुरो घर, दिउँसै बत्ती बालेर म अक्षरको संसारमै हराएकी थिएँ । समयलाई सायद आफ्नो नियमित गति मन परेन । अचानक बत्ती निभ्यो–झ्याप्प । तत्क्षण चर्को झट्का महसुस गरेँ । म बसेको खातले कम्मर मर्काउन थाल्यो । हतारमा म खात छोडेर भुइँमा बसेँ, कम्प्युटरमा डुबेका भाइहरू पनि त्यही अवस्थामा म छेउ बसे । आँतिएर माथिबाट शोभा दिदी पनि हाम्रै बगलमा आइन् । माथिबाट बज्यै र फुपू छिँडीतिर बेतोड ओर्लिनुभयो । मसहित माटनमा चारजना भयौँ । हामी गोलो बनाएर एक अर्कालाई अङ्गालेर आँखा चिम्म गरेर घोप्टो प¥यौँ । जस्तापाता खसेका, गारो ढलेका, भित्ता झरेका डरलाग्दा आवाजहरूको कल्याङमल्याङ निरन्तर हाम्रो कानका ठोकिरहे । हामी लगातार हल्लिरहेका थियौँ । अचानक हामी भाँसियौँ र छिँडीमा पुग्यौँ । यता हामी चारजना, उता बज्यै, फुपू र दिदी तीनजना बीचमा पर्खाल ।
आँखा खोल्यौँ । अगाडिमात्र अन्धकार । जताततै त्रासको कालो अनुहार । हामी दलिनले थिचियौँ । धन्न कसैलाई टाउकोमा लागेन । अनि चिच्यायौँ । बज्यै ! दिदी ! फूपू ! उताबाट हजुरको उत्तर सुन्यौँ । ढुक्क भयौँ । सबै जीवित छौँ भन्ने भावनाले मृत्युको मुखमा पनि खुसीको झिनो रेखा देख्यौँ । त्यही बेला हामीले हाम्रो माथि देख्यौँ– प्रकाशको सानो झुल्को । यस्तो लाग्यो – यो प्रकाश नै हाम्रो जीवनको प्रकाश बन्न सक्छ ।
पल्लोतिरको टोलीलाई फेर्न गा¥हो छ–छैन घाँटीमा, टाउकोमा कुनै गा¥हो अप्ठ्यारो छ छैन भनी सोचेँ । उताबाट नकारात्मक जवाफ आयो । मन अलि हल्का भयो । मेरो काँध सबैलाई जीवित निकाल्ने जिम्मेवारीले ग¥हुङ्गो भएजस्तै भयो । त्यसमाथि ११ वर्षको निश्चलले सोधिरहन्थ्यो “दिदी, अब हामी बाँच्छौँ कि मर्छौ ?” “हामी त मर्छौँ होला है दिदी ?” उसको प्रश्नले मन भकानियो । तर म एकजना नर्स, सङ्कटको बेला मलाई रुन बर्जित छ । अरुलाई हौसला र जीवन दिन नै म नर्स बनेकी हुँ । सुजनको घाँटी एउटा दलिनले थिचेको थियो । शोभा दिदीले बिस्तारै दलिन पन्छाएर सजिलो बनाइदिइन् । म एउटा लट्ठीमा एउटा चप्पल घुसारेर प्रकाश छिरेको प्वालबाट निकालेर हामी बाँचेको सङ्केत संसारलाई दिनतिर लाग्यौँ । म खुब लट्ठी हलाउँदै बसेँ । तर, अहँ ! कोही पनि जीवन बनेर आइदिएन । बरोबर भित्ताको पल्लोतिर बसेकाहरूलाई बोलाउँथ्यौँ । “हजुर !” को मधुरो आवाज सुन्थ्यौँ, तर के गर्नसक्थ्यौँ र !
बज्यैको टाउकोबाहेक पूरै शरीर धूलोमा पुरिएको रहेछ । फुपूको पनि अवस्था त्यस्तै । सङ्गीता दिदी त फुपूको खुट्टा समातिरहेकाले मात्र आफू जीउँदो भएको प्रमाण दिँदै थिइन् ।
हामी सबैजना “गुहार, गुहार” भनी चिच्याउँथ्यौँ । चप्पल र लट्ठी पनि निकै बेर हलाइरह्यौँ । अहँ, कोही आएन । जिम्मेवारीबोधले हो कि मलाई त्यति डर लागेन । सानो प्वालले हामीलाई बाँच्ने प्राणवायु पुग्नेमा म ढुक्क थिएँ । त्यस्तै साढे एक घण्टापछि वरपर जस्तापातामा केही मानिस ओहोरदोहोर गरिरहेका सुन्यौँ । उनीहरूले बोलेका सबै कुरा हामीले सुन्यौँ । हामीले चिच्याउन छोेडेनौँ पनि । तर, हामी भएतिर कोही आएनन्– उफ् !
दिनको २ः०० बजेतिर बुबाको आवाज सुन्यौँ । मनमा ठूलो राहत भयो । “बाँचियो” जस्तो लाग्यो । हाम्रो मायाले बुबाले पनि सायद डर भन्ने कुरा निलिदिनुभयो । हल्लिरहेको चप्पल देखेर बुबाले हामी बाँचेको । मरिनसकेको सङ्केत पाउनुभयो । केही छरछिमेकलाई सहयोग मागेर हाम्रो माथि चेपिएको कार्पेट र त्यसमाथिको माटो पन्छाउनुभयो । हामी निस्कियौँ–जीवित । ओहो ! हामी मरेका थिएनौँ । आफ्नो अघि बुबालाई देखेर भकानो फुट्यो । धुक फुकाएर रोएँ–क्वाँ–क्वाँ ।
जीवित निस्कने पालो अब बज्यै, फुपू र दिदीको थियो । सबै लागेर निकालियो । सङ्गीता दिदीलाई भेटाउन निकै गा¥हो भएको थियो रे ! भूकम्पको भूतको मुखबाट हामी सबैजना निस्कियौँ । मरेर पनि बाँचेजस्तो ।
महेश्वरीस्थानमा पाल टाँगेर मृत्युबाट जितेको उत्सव मनाएँ । भूकम्पलाई जितेकोमा खुसी छु । नेसनल जिओग्राफीको म्यान भर्सेज वाइल्ड टीभी कार्यक्रमबाट लट्ठीमा चप्पल घुसारेर जीवित हुनुको सङ्केत दिने जुक्तिले जीवन दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *