विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
शर्मिला ह्योङ्गोजू
“नेवारी गरगहना” यही नै हो मेरो शोधेको विषय । सम्पदाकर्मी रवीन्द्र पुरी सरलाई यसअघि पनि एक थान शोध प्रस्ताव देखाएकी थिएँ । तर त्यसले काम गरेन । खासमा मैले त्यति मेहेनत पनि गरेकी थिइनँ त्यसमा ।
रवीन्द्र सरसँग शुक्रबार भेटेकी थिएँ । उहाँले शोध गर्न सहयोग गर्ने वचन दिनुभएपछि म हुरुक्कै भएकी थिएँ । बीएफए (ब्याचलर इन फाइन आर्ट) अन्तिम वर्षको फाइनल प्रोजेक्टअन्तर्गत अन्तिम शोधपत्र बनाउन र कला प्रदर्शनीको तयारीमा साँच्चै भनूँ, म व्यस्त थिएँ ।
शनिबार बिहानैदेखि म शोध प्रस्ताव तयारी गर्न कस्सिएकी थिएँ । सकेसम्म चाँडो शोध प्रस्ताव तयार गरी रवीन्द्र सरलाई इमेल गर्नु थियो मलाई ।
बुबा–आमा खेततिर हिँडिसक्नुभएको थियो । रस्मिला बहिनीसँग खाना खाएँ । मनिषा बहिनी पनि घरमै थिइन् । मेरो पनि बाहिर कतै जानुपर्ने खाँचो थिएन । ड्युटीमा गएकी सरिता दिदीलाई पनि चाँडो घर फर्कन भनेँ ।
“आजसँगै बसौँ, छिटो आउनू ।”
खाना खाइसकेपछि रस्मिलाले टीभीमा हिन्दी सिरियल हेर्ने प्रस्ताव गरिन् । ऊ विरलै त्यस्तो प्रस्ताव राख्थिन् । इमेलको काम थाँती राखी म पनि सिरियलमै भुलेँ । “साथ निभान साथिया” सिरियलको नाम यही थियो । जसै सिरियल सकियो अचानक हामी हलाइयौँ । भूकम्प आएको रहेछ, सबै जना आत्तियौँ । भूकम्पका झट्का त पहिले पनि महसुस गरेकी थिएँ, त्यसैले सामान्य नै होला भनी सोचियो । चलाइरहेको ल्यापटप नै बोकेर तल छिँडीमा झर्न खोजेँ । तर, हतार हतार ल्यापटप, क्यामरा र ब्यागलाई एक कुनामा राखेर बहिनीहरूसँगै छिँडीमा झरेँ ।
छिमेकका घर जोडले मच्चिरहेका थिए । चारैतिर धूलो उडिरहेको थियो । बहिनीहरूलाई अङ्गालोमा कसेर हामी भूकम्प थामिने क्षणको प्रतिक्षा गर्दै थियौँ । त्यो क्षण … अहिले पनि आङ सिरिङ हुन्छ । एक मन त लाग्यो– अब हामी सिधिने भयौँ ।
त्यहीबीच काकाको घर हाम्रो घरमा ठोकिन आयो । चारैतिरका घरहरू हाम्रो घरमा ओइरिए । हाम्रो घरका माथिल्ला तल्लाहरू भासिए । हामी तीनै जना थिचियौँ । यो सब घटना केही सेकेण्डभित्र भयो । एउटा दलिन आएर मेरो कम्मरमा थिच्यो । हामी तीन जना माटो, काठ, इँटा के–के हो के–केले थिचियौँ । क्रमशः पुरिएको महसुस हामीले गरिरह्यौँ । तर हामीले गर्न के पो सक्यौँ ! दुवैजना बहिनीहरू मेरै अङ्गालोमा थिए ।
माथिबाट बर्सिरहेका दलिनले हामी भुईँमा पछारियौँ । हामीमाथि थुप्रिएको माटोले मैले जीउ र टाउको भारी भएको महसुस गर्दै थिएँ । रस्मिला बायाँ आलिङ्गनमा थिइन् । ऊ सुस्तरी भन्दै थिइन्– “दिदी । मलाई गा¥हो भयो ।”
मेरो शरीर पूरै पुरिए पनि म मुखसम्म खोल्न सक्ने थिएँ, बायाँ आँखा खोल्नै नसक्ने भएको थियो, बायाँ हात थोरै चलाउनसम्म सक्थेँ ।
रस्मिला फेरि फेरि भन्दै थिइन्– “दिदी ! दिदी ! मलाई गा¥हो भयो !”
म उसलाई हौस्याउँदै भन्दै थिएँ – “रस्मिला श्वास फेर्नू ।”
अर्कोतिर मनिषा भन्दै थिइन्– “दिदी !”
हौसला दिनुबाहेक म गर्न के सक्थेँ र ! म पनि त उस्तै पहाडले थिचिएको थिएँ । म मनमनै प्रार्थना गरिरहेकी थिएँ – यो सब सपना भइदेओस् । म झसङ्ग निद्राबाट ब्युँझन चाहन्थे । मलाई देख्नु थिएन– त्यस्तो त्रास सपना । तर त्यो सपना थिएन । मेरो अङ्गालोमा बसेकी रस्मिलाको क्रमशः कष्टकर बन्दै गएको शिथिल स्वर न त त्यो सपना थियो न त मेरो खुट्टातिर उत्तानो लडेकी मनिषाको दुःखाइले छपक्क भिजेको आवाज सपना थियो । अफसोस सब विपना थियो । त्यो क्षण हामीसँग कष्टबाहेक केही थिएन । पूरै थिचिएका हामी निहत्था र निसहाय थियौँ । म मनिषालाई नबोल्न र श्वास फेर्न बरु आवश्यक परे म स्वयं बोल्ने भनी सम्झाउँदै थिएँ ।
रस्मिला क्रमशः चुपचाप हुँदै थिइन् । सायद अन्तिम पल उनले भनी– “अमा !” अनि मेरै अङ्गालोमा रस्मिला चिसिँदै गइन् ।
मनिषालाई बोलाएँ, बोलिन । झन् आँतिए । फेरि बोलाएँ । “दिदी ! मलाई गा¥हो भयो ।” मन अलि ढुक्क भयो तर कतिञ्जेल …. मनिषा नबोल्दा डरको मात्राले उचाइ लियो ।
वरपरका सबै कुरा म सुन्न सक्थेँ । छिमेकी काकी चिच्याएको सुनेँ । काकाका छोरीहरू बिनिता र रमिता आफ्नो भाइ अरविन्दको चिन्ता मानिरहेका थिए । दुवैजनाले अरविन्द खोजिरहेका थिए । हुँदाहुँदा उनीहरूलाई त्यहाँबाट निकालेको पनि म सुन्न सक्थेँ । तर मेरो चिच्याहट कसैले सुनेन (काकाकी छोरी रमिता ढिस्कोबाट निकालिँदा पनि ज्यान जोगिएन ) ।
त्यतिञ्जेल म र मनिषा निकै शिथिल भइसकेका थियौँ । मृत्युले कतिबेला निल्ने हो भनी निसहाय कुरिरह्यौँ । त्यहीबीच मैले बुबाको बोलावट सुनेँ– “नानी ! शर्मिला !” त्यो आवाजले मनभरि बाँच्ने आशा सञ्चार गरिदियो । डरको परिणाम स्वात्त घट्यो । जोगिने विश्वास फेरि बोलावट आयो – “नानी ! तिमीहरू कहाँ ?”
“बुबा ! हामी छिँडीमा ।”
“यहाँ आवाज सुनिएको छ ।” बुबा हौसिनुभयो ।
“नानी तिमीहरू कहाँ ?”
“छिँडीमा ।”
“तीनै जनासँगै हो ?”
“हामीसँगै छौँ ।”
त्यसपछि बुबासँग वरपरका मानिसहरू हामीलाई खोज्नतिर लागे । तर मानिसहरूले हामीलाई पुरेको माटोमा कुल्चिँदा मलाई थप पीडा हुन्थ्यो ।
“उनीहरूलाई श्वास फेर्न सजिलो बनाउन पहिला प्वाल बनाऔँ ।” मानिसहरू भन्दै थिए । कसो उनीहरूले एउटा बनाइए । त्यही प्वालबाट चिसो हावा मेरो हात हुँदै मुखमा पसेको प्रस्ट महसुस गरेँ ।
हामीलाई खोज्न आएकाहरूले हामी पुरिएको ठाउँ ठ्याक्कै पत्ता लगाउन सकेका थिएनन् । उनीहरू मेरै टाउकोमाथिबाट हिँड्थे । मेरो टाउको चिरिक्क चिरिक्क हुन्थ्यो । असाध्यै टाउको दुख्यो । मनिषाको असजिलो उस्तै थियो । म बोलाउँथे “मनिषा !” ऊ बोलाउँथिन् – “दिदी !” हामी एक अर्काको हौसला बनेका थियौँ । मैले बाहिरका प्रश्नको जवाफ दिइरहेँ । मनिषालाई कराउन दिइँन ।
हामीलाई निकाल्ने प्रयास चलिरहँदा फेरि भुइँचालो आयो । हामीलाई थिचेको माटो फेरि थपिएजस्तो आभास भयो । भारी थपियो । बाहिर बज्यैहरू भन्दै थिए – “प्रभु पुग्यो, प्रभु पुग्यो । जोगिने बच्चाहरू पनि मर्ने भए । प्रभु !”
फेरि खन्ने काम सुरु भयो । कहाँबाट थाल भेटाएछन् । थालले माटो फाल्न थाले ख्वाई, ख्वाई … । मेरो बायाँ हात चलाउन सक्ने भएकाले मैले जबरजस्ती हात निकालेँ र औँला चलाए । माटो रङ्गको औँला, तुरुन्त कसैले देखेनन् । पछि भिनाजु कराएको सुनेँ – “आँैला … आँैला … ।”
चुल्ठो देखेछन् र भने “टाउको देखियो ।” एउटा बाँसले मेरो छात्तीमा धासिएको थियो । छात्तीमा पीडा भइरहेको थियो । दायाँ हात चलाउनै नसक्ने भएँ, काम लाग्दैन होला” मनमा यस्तै कुरा खेल्यो । करौटीले काटेर बाँस ठेगान लगाइयो ।
थिचेका इँटाहरू निकालियो । छिमेकी दाइ श्यामले भन्नुभयो– “हरेस नखाऊ, हामी छौँ । श्वास फेर, श्वास ।”
मलाई बाहिर निकाल्दा अपराह्न ३ बजिसकेको थियो । ३ घण्टापछि म निकालिएँ । म त तल खाल्डोबाट निकालिएँ, मैले तलैबाट बुबालाई माथि देखेँ ।
म बेहोसजस्तो थिएँ । छिमेकी ठूली आमाहरू भन्दै थिइन्– “नडराऊ नानी नडराऊ । श्वास फेर, श्वास ।”
मलाई एउटा ट्रकमा राखेर अस्पताल लगियो । त्यसै त जीउभरि दुखिरहेको थियो, त्यसमाथि ट्रक ! मेरो पीडाको के कुरा गर्नु !
सिद्धि स्मृति अस्पताल पु¥याइएँ । गेट नजिकै भुइँमा पल्टाइएँ । एकजना नर्सले हतार हतार भिजेको कपडाले आँखा पुछिदिइन् । म पूरै सुनिएकी थिएँ । त्यहाँ मेरा साथीहरू पनि थिए तर विद्रुपरूपमा मलाई चिनेनन् । मलाई अन्यत्र अस्पताल लान साथीहरू आफैले एम्बुलेन्समा राखे तर मलाई चिनेनन् । म आधा आँखाले सबै हेर्नसम्म सक्थेँ । गर्न केही सकिनँ । त्यहीबीच घाइते मनिषालाई पनि मेरै आडमा पल्टाइयो ।
टाउको चोटको आशङ्कामा डाक्टरले सिटीस्क्यान गर्न भने । मध्यपुर अस्पताल पु¥याइएँ । तर बिरामीको चाप अत्यधिक थियो । मलाई भुइँमै पल्टाएर सलाइन दिइयो । तर सिटीस्क्यान गर्ने वार्ड नै भत्केकाले त्यहाँ त्यो सम्भव भएन । त्यहाँबाट सरिता दिदी काम गर्ने काठमाडौँ मोडेल अस्पताल लगिएँ । त्यो रात त्यहाँ पनि सिटीस्क्यानको काम भएन । जेनेरेटरको लाइनले सिटीस्कयानको काम भएन । जेनेरेटरको लाइनले सिटीस्क्यान मेसिन चल्दोरहेनछ । रातभर दिदीहरूले तनावमा बिताउनुभयो ।
भोलि बिहान सिभिल अस्पतालमा सिटीस्क्यान भयो । हड्डीमा केही भएको रहेनछ । केही ठाउँमा रगत जमेको रिपोर्ट छ । त्यहाँबाट मोडल अस्पतालमै फकाईएँ ।
रस्मिलाको विषयमा म चिन्तित थिएँ । दिदी, बुबा, आमा, सबैलाई सोध्थेँ ।
“सबै ठीक छ । तिमी छिटो निको बन ।” जवाफ यति पाउँथे ।
रस्मिला बाँचिनन् कि भन्ने शङ्का थियो मलाई मनिषालाई पनि मोडेलमै राखिएको छ, “रस्मिला खोइ त ?” बुबालाई सोधेँ ।
“इवामुरामा राखेका छौँ” बुबाको उत्तर । तर, त्यतिबेला सबै परिवारका सदस्यहरू मोडेलमै थिएँ, “रस्मिलालाई किन पालो बसेनन् त”, मनको शङ्का अझ बलियो भयो ।
एकदिन एकजना आफन्ती दाइले सुनाए– “तिमीसँग कतिञ्जेल कुरा लुकाउनु । रस्मिला रहिनन् ।” अहो ! आफ्नै अङ्गालोबाट प्यारी बहिनी गुमाएछु । त्यतिञ्जेल बुबा, आमा, दिदी सबैले यो दुःखलाई दबाएर मसँग आँसु लुकाउनुभएको रहेछ ।
एक बिहान दिदीलाई सोधेँ – “रस्मिला खोइ ?” मलाई सबै थाहा भइसकेको सङ्केत पाएर म पल्टेको खातमा दिदी धेरै बेर रुनुभयो । अर्को दिन उनको मुहारमा केही दबिएजस्तो भएन ।
मनिषाको स्वास्थ्यमा पनि सुधार हुँदैछ । म पनि बिस्तारै ठीक हुँदैछु । अस्पतालको क्यान्टिनले भूकम्पका बिरामीलाई राहतस्वरुप खाना दिइरहेको छ, म सिता गनी गनी भए पनि सबै भात खाइसक्छु । हाम्रो सहायतामा दिएको सहयोग किन खेर फाल्नु ?
कलाको विद्यार्थी भएकीले कलाको मेरा सहपाठी, शिक्षक र पत्रकारहरू भेट्न आइरहनुभएको छ । क्रमश ः ठीक हुने क्रममा छु, तर मन एउटा काँडाले भने बिझाइरहेको छ –मैले आफ्नो अङ्गालोमा बहिनी रस्मिलालाई जोगाउन सकिनँ । उनको मृत्यु झूटो होस् भन्ने लाग्छ ।
Leave a Reply