भर्खरै :

बेल्ट एन्ड रोड परियोजना संसारको लागि निकै महत्वपूर्ण अवसर

संरा सङ्घ, २४ अप्रिल । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले मङ्गलबार चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड परियोजना संसारको लागि ‘निकै महत्वपूर्ण अवसर’ भएको बताउनुभएको छ ।
उहाँले संरा सङ्घीय मुख्यालयमा चिनियाँ पत्रकारहरूसँग कुराकानी गर्दै महासचिवले बेल्ट एन्ड रोड परियोजनाको रूपमा अन्तर्राष्ट्रिय सहकार्यका लागि ठूलो मात्राको लगानीले दिगो विकासका लक्ष्य हासिल गर्न र विकासमा हरित अवधारणा लागूगर्ने निकै महत्वपूर्ण अवसर हुने बताउनुभएको हो । चीनको राजधानी पेइचिङमा बेल्ट एन्ड रोडसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको लागि चीन जानुअघि उहाँले यस्तो भनाइ राख्नुभएको हो ।
“दिगो विकास लक्ष्य र सन् २०३० को विकास एजेन्डाबारे कुरा गर्दा हामीले त्यत्ति प्रगति गरिरहेका छैनौँ । विकासको लागि हामीसँग मनग्य पैसा छैन । दिगो विकास लक्ष्य हासिल गर्न विकासशील देशहरूलाई मनग्य सहयोगको आवश्यकता छ ।” महासचिवले भन्नुभयो ।
उहाँले जलवायु परिवर्तन तीव्ररूपमा भइरहेको र पेरिसमा गरिएको वाचा पूरा गर्न नसकिरहेकोमा दुःख व्यक्त गर्दै यो अवस्थामा परिवर्तन गर्ने राजनीतिक इच्छाशक्तिको अभाव भइरहेको बताउनुभयो ।
“अन्तर्राष्ट्रिय सहकार्यको लागि ठूलो मात्राको लगानी भए यो निकै उपयुक्त हो । विशेषतः सन् २०३० को एजेन्डा लागू गर्ने कोणबाट यो समिचीन हो ।” उहाँले भन्नुभयो ।
बेल्ट एन्ड रोड परियोजनाले सम्बद्ध देशको अर्थतन्त्र र समाजमा गहिरो प्रभाव पारेको चर्चा गर्दै यो परियोजनामा आबद्ध देशहरूको विकासमा यसले योगदान गरिरहेको धारणा राख्नुभयो ।
जलवायु परिवर्तनको आजको नकारात्मक प्रभाव उल्टाउन बेल्ट एन्ड रोड परियोजना ज्यादै महत्वपूर्ण हतियार भएको चर्चा गर्दै महासचिवले दिगो विकासको लागि संसारलाई धेरै लगानी, नवीकरणीय ऊर्जा र पूर्वाधारमा ठूलो लगानी आवश्यक भएको बताउनुभयो ।
चीनले बितेका ७० वर्षमा गरेको विकासबारे टिप्पणी गर्दै एउटा गरिब देशबाट संसारकै दोस्रो ठूलो अर्थतन्त्रको रुपमा चीनको फड्को गुटरेसले प्रशंसा गर्नुभयो ।
“सम्भवतः यो संसारकै विशिष्ट उदाहरण हो ।” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *