भर्खरै :

बीआरआई र पूर्वाधार विकासको कुरा

चीनमा भएको दोस्रो बेल्ट एन्ड रोड सम्मेलन ३८ बुँदे वक्तव्य प्रकाशित गरी सम्पन्न भयो । सम्मेलनमा ३९ देशका विशिष्ट पाहुनाहरू सहभागी बने । नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधित्व गर्नुभयो । बेल्ट एन्ड रोड परियोजनामा नेपालको सहभागितासँगै नेपालको पूर्वाधार विकासले फड्को मार्ने आशा व्यापक बनेको छ । बीआरआई नेपालजस्तो अल्पविकसित देशको लागि विकासको राजमार्गमा सहभागी बन्ने अवसर हो । तर, बीआरआई कुनै पनि देश विकासको लागि समाधान कदापि होइन । बीआरआईकै भरमा कुनै पनि देशले आफ्नो देशको पूर्वाधार निर्माणसँग जोडिएका सबै समस्या समाधान खोज्नु गलत हो । बीआरआई र यसको अगुवा चीन आफैंको मनसाय यो होइन । बीआरआई सबै देशहरूको साझा योगदानबाट अघि बढ्नसक्ने परियोजना हो । चीनले यसको अगुवाइ गरेर आजको सन्दर्भमा ऐतिहासिक भूमिका निभायो । तर, यो परियोजना सफल बनाउने दायित्व यससँग सम्बद्ध सबै देशको हो ।
संसारमा कुनै बेला धनी र शक्तिशाली देशसँग मागेरै आफ्नो देशको पूर्वाधार विकास गर्ने सोच हावी थियो । धनी र विकसित मानिएका देशहरूबाट लिएर आफ्नो देशको विकास गर्ने पराधीन सोचको युग अब समाप्त भइसकेको छ । चीन आफै पनि स्वाधीनतामा आधारित सङ्घर्षबाट आजको उचाइमा पुगेको हो । चीनको इतिहासबाटै सिक्ने हो भने पनि मागेर कुनै पनि देशको विकास हुने गर्दैन । जनताप्रति विश्वास गर्ने र जिम्मेवार शासक र शासकप्रति विश्वास गर्ने मिहिनेती जनताकै कारण चीनले आजको सम्पन्नता हासिल गरेको हो । चीनले संसारबाट धेरै कुरा सिक्यो, तर चीनले कसैसँग मागेर आफ्नो देश विकास गरेको होइन । त्यसकारण बीआरआईको भावना कसैसामु हात फैलाउने होइन, आपसमा सिक्दै र सिकाउँदै आफूसँग भएको विशेषता र आवश्यकता पहिचान गर्दै अघि बढ्ने हो ।
बीआरआईको सम्मेलनपश्चात् जारी वक्तव्यमा सबै देशले अन्तर्राष्ट्रिय कानुनसँग सम्बन्धित देशको कानुनको पनि सम्मान गर्नुपर्ने कुरा उल्लेख छ । यो सबै देशको सार्वभौमिकता समान महत्व हुने सम्मानको सिद्धान्तमा आधारित छ । देश सानो र ठूलोजस्तो भए पनि सार्वभौमिकता सबैको उँचो हुन्छ । कुनै देश भौगोलिकरूपमा सानो हुँदैमा सानो सार्वभौमिकता र ठूलो हुँदैमा ठूलो सार्वभौमिकता हुने गर्दैन । चीन आफैं लामो समय शक्तिशाली साम्राज्यवादी देशहरूको हस्तक्षेप भोगेको देश हो । वैदेशिक हस्तक्षेप कति निर्मम हुन्छ, चिनियाँ जनतासँग अनुभव छ ।
तसर्थ चीनले अघि सारेको बीआरआई आत्मसम्मानमा आधारित आपसमा सिक्ने सिकाउने परियोजना हो । त्यसकारण चीनको बीआरआईकै भरमा देशमा रेल आउने, बाटो बन्ने र पुल ठडिने भनी खुसियाली मनाउनेहरू हिजोकै साम्राज्यवादी सोचबाट मुक्त हुन नसक्नुको परिणाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *