भर्खरै :

हामीले अन्तर्राष्ट्रिय गीत गाइरह्यौँ

मार्था एच फोली
रातो–मेरो हातमा, मेरो लुगामा, मेरा कमरेडहरूमा र मेरो हृदयमा ।
रगत– निहत्था पुरुष, महिला अनि केटाकेटीमाथि सरकारी गुण्डा र बोस्टन प्रहरीका निर्दयी लाठी र क्रुर गोली लाग्दा पोखिएको रगत ।
बन्द, धुलौटे सानो कोठाभित्र डरले पानी पानी बनेका सात जना महिलाहरूसँगै म एकपछि अर्को दिनहरू बिताइरहेको छु । अर्को कोठामा आफ्नो श्रीमान्लाई मरणासन्न गरी पिटेको प्रत्यक्ष देखेकी महिला समय अगावै बच्चा जन्मनुको पीडामा चिच्याइरहेकी छिन् । उनको पीडा शान्त पार्न हामीले चिकित्सक बोलाउन याचना ग¥यौँ । प्रत्युत्तरमा प्रहरी अधिकारीहरू हामीमाथि आगोसरि खनिँदै बोले, “तिमीहरूलाई चित्त नबुझे तिमीहरू रुसमा जाऊ ।” एक जना महिलाको पीडामाथि त्यसरी च्याँठिने मानिसहरू कुनै महिलाको कोखबाट जन्मेको कुरा विश्वास गर्नसमेत मलाई गा¥हो भइरहेको थियो । बाहिर हुल्लडबाजहरूको चर्को हल्ला सुनिंदै छ । उनीहरूमध्ये कोही त मजदुरहरू छन् जसका लागि हामीले आफ्नो सबै कुरा त्यागेका छौँ, समर्पण गरिरहेका छौँ । आज उनीहरू हाम्रो रगत पिउन आतुर छन् ।
म चौबीस घण्टाअघिको समय सम्झन्छु । मे दिवसको दिन थियो । आकाश निकै सफा थियो, गाढा निलो । वरपरका पात र घाँस हरिया तरुण थिए । न्यानो हावामा हरियाली ठोकिरहेको थियो । हावामा वसन्तको सुवास मिसिएको थियो । वसन्तको हावाले जो कोहीको मन सुवासित बनाएको थियो ।
डब्ली स्ट्रिट अपेरा हाउस खुसीले भरिएका ऊर्जाशील मानिसहरूले बिस्तारै भरिंदै थियो । उनीहरू त्यो दिन आफ्ना सबै बिदामध्ये पनि सबभन्दा उल्लेख्य महत्व बोकेको बिदा–अन्तर्राष्ट्रिय श्रमिक दिवस बनाउन त्यहाँ भेला भएका थिए । यो वर्षको मे दिवस यसअघिका मे दिवसको तुलनामा हजारौँ गुणाले महत्वपूर्ण थियो । किनभने रुसमा मजदुरहरूले विजय हासिल गरेका थिए । जर्मनी, हङ्गेरी, अष्टे«यामा मजदुरहरू जितिरहेका थिए । युरोपका मजदुरहरू एकपछि अर्को सफलता हासिल गरिरहेका थिए । अमेरिकामा पनि मजदुरहरू उठिरहेका थिए । हलमा भेला भइरहेका सबै मजदुरहरूले रातो रङ्गको कपडा बेरेका थिए । आफ्नै वर्गका मानिसहरूको रक्तनलीमा बगिरहेको रातो रगतको चिह्नको रूपमा उनीहरूले त्यो कपडाको टुक्रा बाँधेका थिए । केटाकेटीहरू रमाइरहेका थिए । उनीहरूको हाँसो र खेलले उनीहरूभित्र पनि हामीभित्रकै जस्तो भावना समेटिएको महसुस हुँदै थियो । सभामा भाषण दिने कार्यक्रम भए । हरेक भाषणसँगै उत्साहजनक तालिको पर्रा छुट्थ्यो । गीतहरू प्रस्तुत गरिएका थिए । अन्तर्राष्ट्रिय गीत गाउने क्रममा विभिन्न भाषा मिसिएको आवाज सुन्दा मेरो आँखाभित्रको पानी थामिएन । त्यो समूह गानमा मैले युगौँदेखि जनताविरुद्धको अत्याचारमा दलिएका मानिसहरूको रोदन सुनेँ । मालिकलाई मोटाउन दिन उनीहरूलाई एक आपसमा लडाएर शोषक वर्गले फाइदा उठाइएको सचेत भावना त्यो आवाजमा गुञ्जायमान थियो ।
सभाको अन्त्यमा कार्यक्रमका सभापतिले प्रशासनको अनुमति प्राप्त नभएको हुँदा पूर्वघोषित जुलुस स्थगित गरिएको जानकारी दिए । तथापि हामीलाई रोक्सबरीस्थित नयाँ समाजवादी गृहको उद्घाटन कार्यक्रममा सहभागी बन्न आमन्त्रण गरियो । त्यो घरको नाम राखिएको थियो–नयाँ अन्तर्राष्ट्रिय हल । त्यो ठाउँ कार्यक्रम स्थलभन्दा त्यस्तै आधा माइल जतिको दुरीमा थियो । बिस्तारै हामी कार्यक्रमस्थलबाट समूह समूहमा मिलेर त्यत्तातिर लाग्यौँ । त्यो एक प्रकारले जुलुसजस्तै बनेको थियो । केही युवाहरूले राता झण्डा पनि बोकेका थिए । हामी सबै ज्यादै खुसी थियौँ । हामीलाई हामीजस्तै सबै खुसी होलान् भन्ने लागेको थियो । तर, के थाहा समस्या हाम्रो मुखैसामु आइसकेको थियो ।
हामी हिँड्दै गर्दा सडकको अर्को छेउमा ठूलो सङ्ख्यामा हुल्लडबाजहरू हामीलाई पछ्याउन थालेका थिए । हामीमाथि गालीको वर्षा भइरहेको थियो । एक जना प्रहरी आएर सबभन्दा अघि रहनुभएका एक जना कमरेडसँग कुराकानी गर्नुभयो । त्यसपछि उनी पछि हटे । त्यत्तिकैमा एउटा प्रहरीको गाडी पछाडिबाट आएर सडकै ढाकिने गरी रोकियो । प्रहरीको गाडीबाट हातमा लाठी बोकेर प्रहरीहरू झरे । अनि कुनै पूर्वचेतावनी बिना भकाभकसँग सडकमा हिँडिरहेका सहभागीहरूमाथि लाठी प्रहार गर्न थाले । प्रहरीको लाठी प्रहारबाट रन्थनिंदै मानिसहरू भुईँमा पछारिए । समाजवादविरोधी मानिसहरू अघि बढेर प्रहरीको निर्ममतामाथि घ्यू थप्ने काम गर्न थाले । उनीहरूले हातमा भाटा बोकेका थिए । कसैसँग सिसा र फलामका पाइप थिए । मजदुर सभाबाट बाहिर निस्केका पुरुषहरूमाथि निर्ममतापूर्वक कुटपिट गरियो । लछारपछार गरियो । महिला र केटाकेटीलाई पनि छोडिएन । उनीहरूमाथि लगातार हमला भइरह्यो ।
हातमा लाठी बोकेको एक जना मानिस म नजिकैको एक जना प्रहरी अधिकारीको छेउमा आएर आफूसँग ती ‘…बोल्शेविकहरू’ मार्न पुग्दो मान्छे नभएको भन्दै दुःख पोख्दै थिए । आश्चर्य ! ती प्रहरी अधिकारीले छरिएका आफ्ना सबै मानिसलाई जम्मा गर्न ती मानिसलाई आदेश दिए । मैले प्रहरी अधिकारीसमक्ष भीडलाई हिंसात्मक बनाउन उक्साइरहेको भन्दै विरोध जनाएँ । “बढ्ता नबोल । मर्न नसकेकी आइमाई ।”, उसको उत्तर यस्तो थियो । मैले उसको बारेमा त्यहाँ खटिएको प्रमुख प्रहरी अधिकारीसमक्ष गुनासो पोखेँ । उनले मलाई ती विदेशीहरूसँग म पनि सामेल हो कि भनी प्रश्न गरे । “तपार्इँलाई त आफ्नो सङ्गतप्रति गौरव लागिरहेको होला” भन्ने उनको भनाइको जवाफमा मैले भनँे,“ हो, मलाई गौरव लाग्छ ।”
प्रहरीले हामीमाथि गोली चलाउने धम्की दियो । एक जना मानिसले आफ्नो कोट खोलेर छातीमा पिट्दै भन्यो, “आऊ मार मलाई ।” प्रहरीले उनको छातीमा निशाना साँध्यो । सर्वत्र अलमल छायो । हामी वरपरका ढोकाभित्र आश्रयको लागि भाग्यौँ । तर, हुल्लडबाजहरूले हामीलाई तानेर सडकमा फेरि हुत्याए । ढुङ्गामुढा भयो । केही गोली पनि चले । थप मानिसहरूमाथि कुटपिट भयो । प्रहरीको सङ्ख्या नाटकीयरूपमा बढ्यो । प्रहरीका थप गाडीहरू आइपुगे । मानिसहरूले आफूसँग जे छ, त्यसैले प्रतिकार गरे । दुई जना प्रहरीले मलाई घिसारेर प्रहरीको गाडीमा कोचे । दर्जनौँ मानिसलाई त्यसै गरी घिसार्दै भित्र कोच्दै थिए । गिरफ्तार गरिएका मानिसको जीउभरि निलदाम थियो । कसैको शरीरबाट रगत बगिरहेको थियो । कुनै प्रकारको प्रतिकार गर्न उनीहरू असमर्थ बनिसकेका थिए । प्रहरीको गाडीको चौकीतिर हुँइकिने क्रममा बाटोमा कुनै जोल्टिनमा उफ्रिँदा प्रहरीका लाठी प्रदर्शनकारीका टाउकामा बजार्थे । तपाईको टाउकोमा लाठी बज्रिँदा कानमा अझै गुञ्जिरहेको आवाजले के कुनै पनि मीठो सङ्गीतलाई भुलाउन सक्छ ?
चौकीमा हामीलाई घचेटियो र पछारियो । हामीलाई चौकीमा ल्याउनुअघि नै ठूलो सङ्ख्यामा मानिसहरूलाई पक्राउ गरी त्यहाँ भेला गरिसकेका थिए । प्रहरीले सबैलाई भित्र हुले । सबैको नाम र अन्य जानकारी टिपिसकेपछि हामीलाई स–साना कोठामा कोचे । पूरै रात हामी कुँजिएर बितायौँ । बाहिरबाट समाजवादविरोधीहरूको हुलका अभद्र गाली सुनिरह्यौँ । भित्र कानुनका पालकहरूका गाली ती गालीभन्दा फरक थिएनन् । गर्भवती महिला चिच्याइरहेकी थिइन् । मसँगैकी एक जना महिला सुँकसुँक सुकसुकाइरहेकी थिइन् । रातभर उनको बच्चाको हेरचाह गरिदिने कोही भएन ।
रातभर हामी अनिंदो रह्यौँ । रातभर अर्धनिद्रामा बित्यो ! दिनभर हामीले जे भोग्यौँ, त्यस्तो भएको हुनसक्दैन भन्ने तन्द्रामै रात बित्यो । त्यत्तिबेला कताबाट हो, सबै मानिसप्रति ममा एक प्रकारको विरक्तिभाव जन्मियो । यदि कोही मानिस अर्को मानिसप्रति यति त्रूmर हुनसक्छ भने अरु मानिस पनि ऊ जत्तिकै त्रूmर हुनसक्छ भन्ने विचारले मेरो दिमाग भरियो । यस्तो परिस्थितिमा परिवर्तनको चाहना राखेरै नै के अर्थ हुन्छ र ? तर, अहँ ! जे भयो, त्यो सत्य हुनसक्दैन । अर्कोतिर एक जना प्रहरी हामीले सुन्ने गरी चिच्यारहेको थियो,“यो रुस होइन भनेर हामी देखाइदिन्छौँ । यस्ता काम तिमीहरूले अमेरिकामा गर्न पाउँदैनौ ।”
प्रहरीहरू त्यहाँ कोही बसेनन् । सबै गए । सबैतिर मौनता छायो । मात्र मौनता । त्यही बेला पुरुषहरू थुनिएको कोठाबाट इटाली भाषाबाट सुनियो–अन्तर्राष्ट्रिय गीत । मौनता तोड्दै सबैले आ–आफ्नो भाषामा अन्तर्राष्ट्रिय गीत गाउन थाले । हामीले गायौँ विजय र उत्साहभावका साथ । हामी अझै पराजीत भएका थिएनौँ । अन्तर्राष्ट्रिय गीतपछि हामीले गायौँ–‘रातो झण्डा’ को गीत । अनि रुसी गीतहरू । ती गीतहरूले हामीलाई उत्साह र नयाँ जीवन दिइरहेका थिए ।
बिहान हामीलाई एउटा बन्द भ्यानमा कोचेर अदालत लगियो । त्यहाँ ‘न्याय’ प्रशासन हामीलाई न्याय दिन कुरिरहेको थियो । अझैसम्म स्वास्थ्य उपचार नगराइएकी गर्भवती महिलालाई हामीसँगै लगिएको थियो । प्रहरी चौकीजस्तै अदालत पनि बालबालिकादेखि सबै उमेरका बन्दीहरूले भरिएको थियो । जर्मनीका विद्यालयमा केटाकेटीलाई घृणाका गीत सिकाएको घटनाभन्दा कम खराब थिएन, रोक्सबरीका केटाकेटीलाई हामीमाथिको हमलाको प्रत्यक्षदर्शी बनाउनु । एक जना यहुदी महिला मेरो कानमा आएर आफूले बालबालिकाको प्रेमजस्तो ज्यादै बहुमूल्य कुरा गुमाएको महसुस गरिरहेको भनी फुसफुसाइन् । मैले उनको भावना बुझेकी थिएँ । हामी अदालतको फलामे गेट लगाएको कोठाभित्र कुरिरह्यौँ, अनि धेरै बेर कुरिरह्यौँ ।
एक जना रुसीले भने, “म रुसको जारसँग भागेर अमेरिका आएको हुँ किनभने उनीहरूले मलाई अमेरिका स्वतन्त्रताको भूमि (ल्यान्ड अफ लिबर्टी) भनेका थिए । अहिले म पक्राउ परेको छु । ममाथि कुटपिट भएको छ । अब मेरो परिवारले के गर्ला खोइ ?”
तल बाटोछेउ बसेर एक जना युवक सुकसुकाइरहेको थियो । मैले उनलाई रुनुको कारण सोध्दा उनले चोरीको आरोपमा आफू पक्राउ गरिएको सुनाए । भर्खरै शल्यक्रिया भएकोले उनले शारीरिक रुपमा मिहिनेत पर्ने कुनै पनि काम गर्न सकिरहेका थिएनन् । तर, समयले लिएको परीक्षा उनको लागि अझै बढी कठिन बनेको थियो । फरासिलो त्यो केटोको प्रत्येक रोदनसँगै उनको मुटु फुट्लाजस्तो हुन्थ्यो । पुस्तक च्यापेर विद्यालय जानुपर्ने अथवा घमाइलो दिनमा भकुण्डो खेल्नुपर्ने केटो अदालत धाउनुपर्ने बाध्यता भोगिरहेको छ । तर, समय सधैं यस्तै रहँदैन । कुनै दिन विस्फोटन हुनेछ । अनि मालिकको सपनामा धावा बोल्नेछन् । मजदुर र उत्पीडित वर्ग फुल्नेछन् र फल्नेछन् ।
यसैबीच मैले अर्को कोठाबाट एउटा अखबार पाएँ । अखबारको लागि मैले यति छटपटी कहिल्यै पनि भोग्नुपरेको थिएन । मलाई अखबार स–स्वर वाचन गर्न भनियो । मैले स–स्वर बिस्तारै प्रस्टरूपमा अरु कमरेडहरूको लागि पढेँ । अखबारबाट क्लिभल्यान्ड, डेट्रोट, सिकागो, न्यु योर्क, पेरिसमा पनि मजदुरहरूको जुलुस भएको हामीले थाहा पायौँ । ती सबै समाचारले हाम्रो ओठमा मुस्कान फुलाएको थियो । हामी एक्लै पक्कै छैनौँ ! अरु पनि हाम्रा धेरै साथीहरू छन् । धेरै धेरै साथीहरू । हामी पक्कै जित्नेछौँ ।
फेरि हामीले गायौँ–रातो झण्डाको गीत र अन्तर्राष्ट्रिय गीत ।
बाहिर हुलज्जतबाजहरू चिच्यारहेका थिए । बन्द झ्यालमाथि मुठड्की हान्दै थिए । उनीहरू आफूलाई स्वतन्त्र र हामीलाई बन्दी भएको सोच्छन् । तर, ‘बोल्शेविक मुर्दावाद ।’, ‘फोहोरी बोल्शेविकहरूलाई मार ।’ जस्ता उनीहरूका हल्लाको जवाफमा हामी गाइरहेका थियौँ गीत– ‘भोकका कैदीहरू उठ । चाउरिएको पृथ्वी उठ ।”
(सो लेख सन् १९१९ मे १७ शनिबारको दिन प्रकाशित ‘द रिभोल्युसनरी एज’ पत्रिकामा प्रकाशित गरिएको थियो । लेखिका फोलीलाई मे दिवस कार्यक्रममा सहभागी बनेको अभियोगमा अठार महिना जेलमा थुनिएको थियो । प्रस्तुत लेख माक्र्सिस ओआरजीबाट नेपाली भाषामा नीरजले अनुवाद गर्नुभएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *