भर्खरै :

मजदुरलाई थाहा छैन मे दिवस

काठमाडाँै, १७ वैशाख । सुनसरी जिल्लाको इनरुवाबाट राजधानीमा मजदुरी गर्न आएका अशोक उरौले मई दिवसबारे कहिल्यै सुनेका छैनन् । आफू मजदुर भएर पनि संसारभर वर्षको एक दिन मजदुर दिवस मनाइने कुरा उनलाई पत्तो छैन । उमेरले पच्चिसी वर्षका अशोक आजभोलि हनुमन्ते कोरिडर निर्माण परियोजनाअन्तर्गत खोलाको किनारामा ढल बिछ्याउने काममा मिस्त्री छन् । मिस्त्री काम जानेकाले उनी दैनिक ८ सय कमाउँछन् । अरु मजदुरले भने दैनिक ६ सय थप्छन् ।
अशोक काठमाडाँै आउनुअघि भारतको नयाँ दिल्लीमा घर बनाउने निर्माण मजदुरी गर्थे । काठमाडाँै आएर पनि केही समय घर बनाउने काममै लागे । तर, अहिलेको काम उनलाई सहज लागेको उनी भन्छन् ।
“घर बनाउने काममा सधैं हतारो हुन्छ । यो काममा त्यस्तो हतारो हुन्न ।”, अशोकले भने ।
काम गरे ज्याला पाउने, नगर्दा नपाउने भएकाले अशोक चाडपर्व र सञ्चो नहुँदा बाहेक बिदा बस्दैनन् । उनकै समूहमा काम गर्ने अरू बीस जना मजदुर छन् । सिरहा, लहानका जीतेन्द्र मण्डल उरौसँगै ढल विछ्याउने काम गर्छन् । उनलाई पनि बुधबार मई दिवस र त्यो दिन संसारका मजदुरहरू आफ्नो हकहितबारे कुरा गर्छन् भन्ने कुरा थाहा छैन । गोल्डन गुड निर्माण कम्पनीअन्तर्गत भक्तपुरको ब्रह्मायणीदेखि सल्लाघारीसम्म ढल बिछ्याउने काममा लागेका मजदुरहरू पनि मई दिवसको दिन आफ्नो कामलाई निरन्तरता दिने बताउँछन् ।
सिन्धुपाल्चोककी सीता श्रेष्ठ गएको आठ महिनादेखि भक्तपुर जगातीस्थित इँटा तथा टायल कारखानामा मजदुरी गर्छिन् । उनको दैनिक ज्याला ५९२ रुपैयाँ । उनले काममा आएको दिन ज्याला पाउँछिन्, नआउँदा ज्याला पाउँदिनन् । उनले काम गर्ने कारखानामा महिला र पुरुषबीच ज्यालामा कुनै भेद छैन । उनकै स्तरका पुरुष मजदुरले पनि उनकै सरह ज्याला पाउने गरेको उनको भनाइ छ । तर, महिला मजदुरलाई दिइनुपर्ने विशेष सुविधाको त्यहाँ कुनै व्यवस्था छैन । कारखानामा महिला मजदुरकै लागि हुुनुपर्ने अलग स्तनपान कक्ष, मजदुरका बालबालिकाको हेरचाह गर्ने शिशु स्याहार केन्द्र आदिको व्यवस्था छ्रैन ।
ज्यालादारीमा काम गर्ने भएकाले सीता कारखानामा पुग्ने दिनको ज्याला पाउँछिन् । अरु दिन पाउँदिनन् । सीतासँग कारखानामा मजदुरी गर्ने सिर्जना श्रेष्ठ भन्छिन्,“काम गर्न सकेसम्म त ठीकै हुन्छ । नसक्दा के हुने हो, थाहा छैन ।”
इँटा तथा टायल कारखानामा २०५१ सालदेखि काम गर्दै आएका सुर्यबहादुर थुयाजूलाई दैनिक २६ सय इँटा पोल्ने जिम्मेवारी छ । त्यसो गरेबापत् उनी मासिक झण्डै सत्र हजार तलब थाप्छन् । लामो समय कारखानामा काम गरेको हुनाले उनी आजभोलि कारखानाले दिने सुविधामा सन्तुष्ट छन् । मजदुरहरूलाई काम गर्न हेलमेट, मास्क, पन्जा र नुहाउन साबुनको बन्दोबस्त गरिएको छ । स्थायी मजदुरलाई कारखानामा वर्षको एक जोर लुगा र एक जोर जुत्ता दिइने गरेको छ ।
च्याह्मासिंहस्थित साइन काष्ठ उद्योगमा काठमा बुट्टा भर्ने काम गर्दै आएका अमित शिल्पकारले विगत २२–२३ वर्षदेखि यो काम गर्दै आएका छन् । काठको काम पुख्र्यौली काम भएकाले उनले सजिलै यो काममा निपुणता हासिल गरे । उनी आजभोलि यही काम गरेर मासिक कम्तीमा ४० हजार रुपैयाँ कमाउँछन् । सोही उद्योगमा काम गर्ने नानीमैंया प्रजापतिको लागि काष्ठकला काम सिक्न त्यत्ति सहज थिएन । परम्परागत रुपमा प्रजापति समुदायको काम माटाका भाँडा बनाउनु हो । तर, उनले काठमा बुट्टा कुँद्ने पेशा रोजिन् । भक्तपुर औद्योगिक क्षेत्रमा दिइएको काष्ठकलासम्बन्धी तालिममा सहभागी बनेर उनले यो काम सिकेकी हुन् । उनी विगत पाँच वर्षदेखि यो काम गर्दैछिन् । उद्योगका अन्य मजदुरहरूझैं उनले पनि दैनिक चार सय रुपैैयाँ ज्याला पाउँछिन् ।
भारतीय मजदुर पनि उत्तिकै
नेपाल र भारतबीच खुला सीमा भएकाले नेपालमा कति भारतीय मजदुर काम गर्छन् र भारतमा कति नेपाली काम गरिरहेका छन्, कुनै वस्तुपरक तथ्याङ्क छैन । काठमाडाँै उपत्यकामा मात्र धेरै सङ्ख्यामा भारतीय मजदुरहरू मजदुरी गर्छन् । विशेषतः निर्माण क्षेत्रमा भारतीय मजदुरहरूको ठूलो सङ्ख्या काठमाडाँै उपत्यकामा काम गरिरहेका छन् ।
भारतको सीतामढीबाट काठमाडाँैमा बितेका झण्डै एक दसकदेखि मजदुरी गरिरहेका उमेश जयसवाल विभिन्न ठाउँमा गएर कवाडी सामान बटुल्छन् । उनी कागज, कार्टुन, बोटल, फलाम, प्लास्टिकका भाँडाकुँडा जम्मा गर्छन् । उनी महिनाको कम्तीमा १२–१३ हजार रुपैयाँ यो कामबाट आम्दानी गर्छन् । “कुनै बेला त त्यत्ति हुन्न । आफ्नो मिहिनेतमा भरपर्छ ।”, उनले भने ।
कवाडी सामान जम्मा गरेर बेच्ने अर्का मजदुर हुन्–सुरेश जयसवाल । उनी १०–१२ वर्षदेखि काठमाडाँैमा छन् । उनी सुरुमा पान बेच्थे । पान पसल राख्ने ठाउँ सडक बिस्तारको क्रममा भत्काएपछि उनी यो काममा लागे ।
उनीहरूलाई संसारभर एकै दिन मई दिवस मनाइने कुरा थाहा छैन । मई दिवसबारे जिज्ञासा राख्दा उनीहरूले भने,“नेपालमा मई दिवस कहिले हो ?”
बौद्धिक मजदुरहरूको कन्तविजोग
शारीरिक श्रम गर्नेमात्र मजदुर होइनन् । बौद्धिक श्रम गर्ने पनि मजदुर नै हुन् । विभिन्न क्षेत्रका बौद्धिक मजदुरहरू पनि ज्यादै कम तलब वा ज्यालामा काम गरिरहेका छन् । भक्तपुरकै कहलिएको एउटा विद्यालयका एक जना शिक्षकको मासिक तलब ४५ सयमात्र छ । सामुदायिक विद्यालय भए पनि निजी स्रोतमा राखिएका शिक्षकहरूको तलब निकै कम हुने गरेको छ । निजी विद्यालयमा मासिक तीन हजारसम्म तलबमा चित्त बुझाउने विशेषतः शिक्षिकाहरूको सङ्ख्या धेरै छन् ।
सहकारीहरूमा दैनिक बचत उठाउन राखिएका कर्मचारीहरूले पनि निकै कम तलबमा काम गरिरहेका छन् । अधिकांश बचत तथा सहकारी संस्थाले मासिक २–३ हजार तलब र बाँकी आफूले बनाएको ग्राहकको आधारमा तलब दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *