भर्खरै :

बहुमत प्राप्त सरकारले उदाहरणीय काम गर्न सकेन

भक्तपुर, २८ वैशाख । नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले शनिबार नेमकिपा चाँगुनारायण नपा वडा नं ९ को तेस्रो सम्मेलनको एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य गोसाईले निःस्वार्थरूपमा देश र जनताको सेवा गर्नु नै नेमकिपा र पार्टीका प्रत्येक कार्यकर्ताको मुख्य उद्देश्य भएको बताउनुभयो ।
उहाँले शासक दलले बहुमत भएर पनि उदाहरणीय काम गर्न नसकेको बताउनुभयो ।
उहाँले नेकपा जनतालाई छलकपट गर्नमात्र कम्युनिष्ट शब्द आफ्नो नाममा झुण्ड्याइएको धारणा राख्नुभयो ।
नेकपालाई सत्तासीन बनाउन भारतीय विस्तारवादको भूमिका रहेको चर्चा गर्दै उहाँले नेपालमा आफ्नो प्रभाव अझ बलियो बनाउन भारतीय विस्तारवादले घोडा फेर्ने काम गरेको बताउनुभयो ।
चाँगुनारायण नपा वडा नं ९ का वडाध्यक्ष गणेश त्यातले चाँगुनारायण नपाभित्र भइरहेका आर्थिक अनियमितता र बेरुजुबारे बोल्दै नेमकिपाले जितेको वडा नं ९ मा आर्थिक पारदर्शिताका साथ काम भइरहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य पाण्डव सुवालले कामगरी खाने किसानहरूको हितमा नेमकिपाले मोहियानी हकको लागि लगातार कानुनी र गैरकानुनी सङ्घर्ष गरेको प्रस्ट पार्नुभयो ।
कार्यक्रम नेमकिपा चाँगुनारायण नपा वडा नं ९ का अध्यक्ष नारायणभक्त न्हेम्हाफुकीको सभापतित्वमा भएको थियो । सम्मेलनले उहाँकै अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *