भर्खरै :

संरा अमेरिकाको नाकाबन्दीका कारण भेनेजुयलाका बिरामी प्रभावित

काराकस, १३ मे । संरा अमेरिकाले भेनेजुयलाको राज्य नियन्त्रित तेल कम्पनी पीडीभीएसएमाथि थोपरेको नाकाबन्दीका कारण त्यहाँको स्वास्थ्य कार्यक्रम र प्राणघातक रोगबाट पिरोलिएका रोगीहरूमा नकारात्मक प्रभाव पारेको भेनेजुयलाको मानव अधिकार राष्ट्रिय परिषद्का कार्यकारी सचिवले बताउनुभएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वासँगको अन्तर्वार्तामा अन्तर्राष्ट्रिय मानव अधिकार सञ्जालका भेनेजुयला प्रतिनिधिसमेत रहनुभएका लारी डेभोले इटाली र अर्जेन्टिनाको सहयोगमा पीडीभीएसएले सञ्चालन गर्दै आएको स्वास्थ्य कार्यक्रमहरू संरा अमेरिकी सरकारले थोपरेको नाकाबन्दीका कारण प्रभावित बनेको बताउनुभयो ।
“पछिल्ला साता हामीले संरा अमेरिकी आर्थिक र वित्तीय नाकाबन्दीका कारण कसरी हाम्रा जनताको सबभन्दा कमजोर तप्का प्रभावित बनेको छ भन्नेबारे प्रमाण प्रस्तुत गरेका छौँ । विशेषतः बिरामी र रोगी जनता नाकाबन्दीका कारण प्रभावित भएका छन् ।” डेभोले भन्नुभयो ।
“पीडीभीएसएको संरा अमेरिकी शाखा सिट्गोमार्फत संरा अमेरिकी सरकारले हाम्रो देशमाथि लुटेको छ ।” डेभोले भन्नुभयो ।
“अहिले इटालीमा मात्र हाम्रा २४ जना बिरामी छन् । बिरामीहरूले उपचार पाइरहेका छन् । तर, उनीहरूको अवस्था अहिले खतरामा छ किनभने अन्तर्राष्ट्रिय वित्तीय प्रणालीले पीडीभीएसएको बैङ्क खाता रोक्का गरिदिएको छ ।” उहाँले भन्नुभयो ।
२४ जना इटालीमा उपचाररत छन् भने अरू १२ जना इटालीमा उपचारको लागि जान तयारी अवस्थामा छन् ।
डेभोका अनुसार पीडीभीएसए र इटालीको हड्डीको मासी प्रत्यारोपण केन्द्रबीच आपसी आदानप्रदानको सम्झौता छ । सोही सम्झौताअनुसार हालसम्म भेनेजुयलाका पाँच सत्न्दा बढी बिरामीको उपचार भइसकेको छ ।
डेभोका अनुसार रगतको क्यान्सरको सुरुको चरणबाट पीडित बिरामीलाई यही कार्यक्रमअन्तर्गत उपचार हुने गरेको छ । यसरी उपचारमा जाने बिरामीको सबै खर्च पीडीभीएसएले व्यहोर्ने भएको छ ।
डेभोले विद्यमान स्वास्थ्य कार्यक्रम स्थगन हुनुले बिरामीहरूको मानव अधिकार हनन भइरहेको बताउनुभयो ।
संरा अमेरिकी नाकाबन्दीका कारण पीडीभीएसएले अरू नै माध्यमको प्रयोग गर्नुपरेको छ । सिमोन बोलिभार फाउन्डेसनमार्फत अर्जेन्टिनाको राजधानी व्युनर्स आयर्सस्थित इटालीको अस्पतालसँग अर्को सम्झौता पनि भएको छ । सो अस्पतालमा यसै कार्यक्रमअन्तर्गत १०९ भन्दा बढी केटाकेटीको कलेजो प्रत्यारोपण भइरहेको अधिकारीहरूले बताउनुभयो ।
“हामीकहाँ यतिबेला छ जना बिरामी छन् । सबै बालबालिका हुन् । कोही त निकै साना छन् । उनीहरू सबै अर्जेन्टिनाको पोस्ट अपरेशन वार्डमा कलेजो प्रत्यारोपणपछि उपचार गरिरहेका छन् ।” डेभोले भन्नुभयो ।
“संरा अमेरिकाले थोपरेको नाकाबन्दीका कारण पीडीभीएसएले बिरामीहरूको उपचारका लागि आवश्यक स्रोतसाधन दिन नसक्दा मृत्युसँग लडिरहेका जनता प्रभावित बनेका छन् ।” उहाँले भन्नुभयो ।
डेभोले भेनेजुयला सरकारले अहिलेको अवस्थाप्रति भत्र्सना गरेको र ‘हामीले भेनेजुयलाविरुद्ध थोपरेको हमलाको प्रतिरोध गर्ने न्यायिक माध्यमको खोजी गरिरहेका छौँ’ भन्नुभयो ।
उहाँले मानव अधिकारलाई पारेको प्रभावबारे संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार उच्च आयुक्तको कार्यालयमा जानकारी गराइएको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *