भर्खरै :

सर्पदंशका बिरामी बढे

गौशाला, २५ जेठ । पटक पटकको वर्षा, पानी र बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्पदंशका बिरामी अत्यधिक बढेका छन् ।
महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १०÷१२ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको उपचारमा संलग्न चिकित्सक विनोद राउतले बताउनुभयो । गर्मी र वर्षायामअघि कहिलेकाहीँ फाटफुट रुपमा सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका थिए ।
जलेश्वर अस्पतालमा आउने सर्पदंशका बिरामीमध्ये अधिकांशलाई विषरहित सर्पले टोकेको हुन्छ भने धेरैलाई तराईमा पर्याप्त मात्रामा पाइने विषालु करैत सर्पले टोकेको आउने गरेका छन् । तर कोही गोमन र अन्य विषालु सर्पले टोकेका बिरामी पनि आउने गरेको चिकित्सक राउतले बताउनुभयो ।
सर्पदंशको बिरामीलाई उपचार गर्ने क्रममा एउटा बिरामीलाई पाँच÷सातदेखि १०÷१२ र कसै कसैलाई विषको मात्राका आधारमा बढीमा ३०÷४० भाइल एन्टिस्नेक भेनम नामक सर्पदंश विरुद्धको औषधि दिनु परेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ । अहिले जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीलाई लगाउने एन्टिस्नेक भेनम पर्याप्त मात्रामा रहेको र समयमै अस्पतालमा आइपुग्ने बिरामी कोही पनि सर्पदंशका कारण मर्न नसक्ने अवस्था रहेको अस्पताल प्रमुख डा नागेश्वर यादवले बताउनुभयो । तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरी जिल्लाको विभिन्न गाउँठाउँबाट सर्पले टोकेको बिरामी आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *