भर्खरै :

पाठेघरको मुखको परीक्षण (पापस्मेर जाँच) तथा स्तन परीक्षण शिविर सम्पन्न

पाठेघरको मुखको परीक्षण (पापस्मेर जाँच) तथा स्तन परीक्षण शिविर सम्पन्न

भक्तपुर, १५ वैशाख । भक्तपुर नगरपालिका ४ नं.वडा स्वास्थ्य समितिको आयोजना तथा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा शनिबार पाठेघरको मुखको परीक्षण (पापस्मेर जाँच) तथा स्तन परीक्षण शिविर सञ्चालन भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा स्वास्थ्य उपचार महँगो भएका कारण वर्षको ५ लाख मानिसहरू गरिबीको रेखामुनि गइरहेको तथ्याङ्कले देखाएको बताउनुभयो । भक्तपुर नगरपालिकाले सहुलियतमै स्वास्थ्य सेवा दिइरहेको र नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरूले राम्रोसँग काम गरेका कारण आज देशभरिका मानिसहरूले भक्तपुर नगरपालिकालाई हेरिने दृष्टिकोण राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै उपचार तथा सावधानी अपनाए धनजनका साथै ज्यान पनि जोगिने छ । अब पाठेघरको मुखको परीक्षण तथा स्तन परीक्षणका शिविरहरू सम्पन्न भएपछि दन्त परीक्षणका शिविरहरू सञ्चालन हुनेछ ।
कार्यक्रमका सभापति एवं वडा अध्यक्ष उपेन्द्र सुवालले कम्युनिस्ट देशहरूमा सरकारले जन्मे देखि मरणसम्म सम्पूर्ण जिम्मा त्यहाँका सरकारले लिने गर्दछ, भक्तपुर नगरपालिकाले पनि जनताको सेवाको निम्ति विभिन्न कार्यहरू गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अफिसर वर्षा प्रसाईले समयमै उपचार गर्नुपर्ने कुरामा जोड दिनुभयो भने निवर्तमान कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले वडावासीहरूको स्वास्थ्य सेवाको लागि विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा रमिला सुवालले स्वागत मन्तव्य दिनुभयो भने वडा नर्स ईरा त्वायनाले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा २७० जना महिलाहरूले स्वास्थ्य परीक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *