भर्खरै :

ख्वप अस्पतालबाट राष्ट्रिय स्तरको सेवा प्रदान

ख्वप अस्पतालबाट राष्ट्रिय स्तरको सेवा प्रदान

ख्वप अस्पताल सञ्चालन चौथो वर्षमा प्रवेश

भक्तपुर, १७ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चिकित्सकहरूले संसारका राम्रा राम्रा डाक्टरहरूको योगदानबाट सिक्दै जनताको सेवाभावले काम गर्न प्रेरित गर्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल सञ्चालनको चौथो वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ख्वप अस्पताल नगर अस्पतालको रूपमा सञ्चालन भए पनि देशभरिका नागरिकहरूलाई राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो ।
आफ्नो पेसागत जिम्मेवारी सँगसँगै समाज र देशको हितमा काम गर्नुपर्छ भन्दै उहाँले चिकित्सकहरूले बिरामीहरूसँग मित्रवत् व्यवहार र जनताले बुझ्ने भाषामा सेवा दिनुपर्छ भन्नुभयो ।
उहाँले नेपालका दक्ष जनशक्ति विदेश पठाउने दलाली काम सरकारी संयन्त्रबाटै भइरहेको बताउँदै युवा पुस्ता दक्ष र इमानदार भए जुनसुकै क्षेत्रमा इमानदारीपूर्वक काम गर्छन् भन्नुभयो ।
महँगो विद्यालयले मात्र राम्रो शिक्षा दिने कुरा गलत भएको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई युग सुहाउँदो र दक्ष बनाउन विद्यालयको जग बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई असल संस्कार विद्यालयस्तरबाट सिकाउन सके समाजलाई सभ्य र सुसंस्कृत बनाउन मद्दत पु¥याउने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०३० सालमा जनस्वास्थ्य सेवा केन्द्रको रूपमा सञ्चालन भई हाल १०० शøयाको ख्वप अस्पताल सञ्चालन गर्दा धेरै आरोह अवरोहहरू पार गरिसकेको स्मरण गर्दै अस्पतालले जनताको निःस्वार्थपूर्वक सेवा गर्ने उद्देश्यले काम गर्दै आइरहेको बताउनुभो ।
उहाँले ख्वप अस्पतालप्रति जनताको आस्था र विश्वास भएकै कारण अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्न सफल भएको उल्लेख गर्दै भक्तपुर नपामा स्वास्थ्य बीमा कार्यक्रम हुँदा बिरामीहरूले सहज र सुलभरूपमा सेवा पाइरहेको बताउनुभयो ।
चिकित्सक अभावका कारण अस्पतालहरूले राम्रोसँग सेवा दिन नसकिरहेको वर्तमान अवस्थामा स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रका जनशक्तिलाई नेपालमै बसेर काम गर्ने अवसरहरू सरकारले सिर्जना गर्नुपर्छ भन्नुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुले ख्वप अस्पताल भक्तपुरको स्वास्थ्य क्षेत्र विकासमा उल्लेखनीय इतिहास बोकेको अस्पताल भएको चर्चा गर्दै जनताको सेवा गर्ने भावनाले काम गर्न सके जनगुनासो कम हुँदै जाने बताउनुभयो ।
उहाँले अस्पतालले भौतिक संरचना, गुणस्तरीय मेडिकल सेवा सँगसँगै युग सुहाउँदो जनशक्ति व्यवस्थापनतर्फ पनि जोड दिनुपर्ने उल्लेख गर्दै अखाद्य वस्तुको उपभोगले जनस्वास्थ्यमा नकारात्मक असर पुगिसकेको तर्फ सबै सजग हुनुपर्ने बताउनुभयो ।
दक्ष जनशक्तिको परिचालनमा राज्य नै जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले नसर्ने रोगको जोखिमलाई कम गर्न जनचेतनाको आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकका उपप्रमुख रजनी जोशीले स्वास्थ्य संस्था संवेदनशील क्षेत्र भएको हुँदा त्यहाँका कार्यरत चिकित्सक तथा कर्मचारीहरूले सावधानीपूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्वास्थ्य सेवामा आबद्ध जनशक्तिले सामाजिक दायित्व निर्वाह गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले अस्पतालबाट प्रवाह हुने सेवा सुविधाहरू प्रविधिमैत्री हुनुपर्ने र नयाँ कार्यशैली अपनाउँदै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल, इन्टरनल मेडिसिन डा. अमर प्रजापति र डा. रत्नसुन्दर लासिवाले ख्वप अस्पताल सञ्चालनको इतिहास, उद्देश्य र अस्पतालबाट प्रवाहित सेवासुविधाबारे अवगत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *