भर्खरै :

असार १४ को निर्वाचन धाँधलीरहित हुनेमा शङ्का

काठमाडौं, २५ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले वैशाख ३१ को स्थानीय तहको निर्वाचन स्वच्छ र धाँधलीरहित नभएको बताउँदै असार १४ गते हुने निर्वाचन पनि धाँधलीरहित हुनेमा आशङ्का व्यक्त गर्नुभएको छ ।
नेपाल टेलिभिजन न्यूज च्यानलमा पत्रकार राजु कार्कीलाई बिहीबार दिउँसो अन्तर्वार्ता दिंदै अध्यक्ष रोहितले निर्वाचन जित्नका निम्ति पैसाको प्रयोग बढ्दै गएको र त्यो पूँजीवादी व्यवस्थाको विकाससँगै बढ्दै जाने देखिएको बताउनुभयो ।
नेमकिपा किन सरकारमा जाँदैन र सधैं प्रतिपक्षमै रहन्छ भन्ने प्रश्नमा अध्यक्ष रोहितले भन्नुभयो – ‘पहिलो त हामीले सदनमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्नकै निम्ति भनी जनतासित मत मागेका हौं । दोस्रो, नेपाली जनताले हामीलाई सरकारमा जान भनी मतदान गरेको अवस्था होइन । तेस्रो, नेमकिपा पूँजीवादी सरकारमा गएर पूँजीपति वर्गको सेवा र कामदार वर्गका जनताको शोषणमा हिस्सेदार बन्न ठीक ठान्दैन ।’

‘पहिलो त हामीले सदनमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्नकै निम्ति भनी जनतासित मत मागेका हौं । दोस्रो, नेपाली जनताले हामीलाई सरकारमा जान भनी मतदान गरेको अवस्था होइन । तेस्रो, नेमकिपा पूँजीवादी सरकारमा गएर पूँजीपति वर्गको सेवा र कामदार वर्गका जनताको शोषणमा हिस्सेदार बन्न ठीक ठान्दैन ।’

उहाँले नेमकिपाले विनाकारण सरकारको आलोचना र विरोध नगरेको प्रस्ट पार्दै सरकारको देश हितविपरीत र जनविरोधी नीति तथा क्रियाकलापको आलोचना र विरोध गर्नु प्रखर प्रतिपक्षको धर्म हो भन्नुभयो ।
नेमकिपाले एमालेसित कुनै मोर्चा र चुनावी गठबन्धन नगरेको प्रस्ट पार्दै कतिपय स्थानमा मिल्ने सम्झौता गर्दा पनि एमालेले त्यो पालना नगरेको उहाँले प्रस्ट पार्नुभयो ।
प्रचण्ड नेतृत्वको सरकारलाई सफल सरकार भन्न सकिने आधार नभएको बताउँदै पाइला पाइलामा भारत सरकारको सङ्केत खोज्नु एकै चरणमा सम्पन्न हुने निर्वाचन पटक पटक मिति सारी दुई चरणमा हुने गराउनु, निर्वाचनमा धाँधली गर्न कर्मचारीतन्त्रको दुरूपयोग गर्नु, कर्मचारी सरूवा र बढुवामा ऐन–नियमभन्दा स्वेच्छाचारिता प्रदर्शन गर्नु, छिमेकी देश चीनसितको सम्बन्ध र सम्झौता अर्को छिमेकी भारतले भनेबमोजिममात्र गर्नु सरकारको सफलता हुनसक्दैन भन्नुभयो ।
प्रचण्ड सरकारले चीनसित गरेको ओबीओआरको सम्झौता गुडीविनाको बोक्रेमात्र भएको बताउँदै उहाँले चीनसित स्वतन्त्र व्यापार गर्ने प्रावधान निकालेर गरिएको व्यापार सम्झौता कुनै पनि बेला उल्लङ्घन हुनेखाले छ भन्नुभयो ।
उत्तरी छिमेकी चीनसित सम्बन्ध बढाउनुको अर्थ दक्षिणतिर पर्खाल लगाउनु हुन्छ भन्ने दक्षिणकै एजेन्टहरूको हल्ला भएको बताउँदै उहाँले नेपाललाई एकै देशको निर्भरतामा राख्न खोज्नु देशद्रोही विचार भएको बताउनुभयो ।
भारतीय र नेपाली जनताको विचार र भावना मिल्छ भन्दै अध्यक्ष रोहितले भारतीय एकाधिकार पूँजीका मालिकहरूले भारत र नेपाल दुवै देशका जनतालाई शोषण गरेको छ भन्नुभयो ।

तराईका बहुमत जनताको माग क्रान्तिकारी भूमिसुधार, मोहियानी हक, शिक्षा, स्वास्थ्योपचार, रोजगार, पूर्वाधार विकास आदि हो

मधेस आन्दोलन भनिरहेकाहरूले तराईका बहुमत कामदार वर्गका जनताको हितको प्रतिनिधित्व नगर्ने बताउँदै उहाँले तराईका बहुमत जनताको माग क्रान्तिकारी भूमिसुधार, मोहियानी हक, शिक्षा, स्वास्थ्योपचार, रोजगार, पूर्वाधार विकास आदि रहेको उल्लेख गर्नुभयो ।
विदेशीलाई नागरिकता र अङ्गीकृत नागरिकलाई वंशजसरह अधिकार माग गरेर कथित मधेसी नेताहरूले मधेसकै जनताविरूद्ध राजनीति गरिरहेको उहाँको भनाइ थियो ।
सहमति राम्रो शब्द भएको तर सहमतिका नाउँमा देश पछाडि हट्दै जाँदा एक दिन पछाडि हट्ने ठाउँ नै नहुने वा अस्तित्व नै सिधिने अवस्था आउनेतर्फ सचेत पार्दै अध्यक्ष रोहितले सबैका माग पूरा गर्न सकिंदैन भन्नुभयो ।
सिमानामा बसेका भारतीय सुरक्षाकर्मीहरूले सीमा अतिक्रमण गर्ने, खुला सिमानाको नाका भएर भारतीय बजार गएर फर्कने नेपालीलाई दुःख दिने कामबाहेक अरु नगरेको बताउँदै भारतीय शासक वर्गको प्रभुत्ववादी सोचकै कारण नेपाल–भारतबीचको सम्बन्धमा समस्या आएको अध्यक्ष रोहितले स्पष्ट पार्नुभयो ।
एक अर्को प्रसङ्गमा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया एक आत्मनिर्भर समाजवादी देश भएको र त्यसले आफ्नो आत्मरक्षाका निम्ति नयाँ नयाँ हतियार परीक्षण गर्नु जायज भएको बताउँदै उहाँले त्यस देशको स्थिति नेपालको जस्तो बन्दुक र गोलीसमेत छिमेकी देशसित किन्नुपर्ने नभएको बताउनुभयो
राजनीतिक दलहरू वर्गीय पक्षधरता र एउटा न एउटा सिद्धान्त र दर्शनप्रतिको आस्थाका आधारमा विभाजित रहने सङ्केत गर्दै सबै दलहरू मिल्ने कुरा आदर्शको कुरामात्र भएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *