भर्खरै :

शनिबार साहित्य-अपील मृत्युदण्डको

-लक्ष्मी थापा, पोखरा
मैले सोध्नुपथ्र्यो
महाशय!  म सास फेरुँ कि नफेरुँ ?
अनुमति लिनुपथ्र्यो
कहिले? कहाँ ? कति पटकसम्म
भित्र–बाहिर गर्नसक्छ
मेरो स्वास नलीमा भरिएको हावा
किनभने
म जन्मँदा फोरिएको थियो फर्सी
मैले खाएको थिएँ पाँचै महिनामा भात ।
पौरुष अनुमतिबिना
आँखाका ढकनी खोलेर
नाचिरहेका पुतली हेरेर रमाउनु
चराहरुसँगै मन उडाउनु
फूलजस्तै मुस्कुराउन खोज्नु
मेरा अपराध यिनै थिए
श्रीमान् !
यो अघोषित
तर जेल जस्तै–जस्तै लाग्ने
घरको रेलिङमा उभिएर
म बकिरहेछु
हो मेरा अपराध यिनै हुन् ।
मैले सोधिनँ
कति पाइला कुन दिशामा चालौं भनेर
कुन मान्छेसँग कति शब्द बोलौं भनेर
मेरो मनको उडानको साँध कहाँ हो ??
मेरो दृष्टिको सीमारेखा कुन हो?
हो मैले सोधिनँ
निस्फिक्री नियालें आकाश
छोडें मनलाई मेरै कल्पनाको स्वर्गीय उडानमा
मेरा अपराध यिनै हुन् ।
म सजाय भोग्न तयार छु ।
तर, श्रीमान् !
म मेरो दण्ड स्वंयम् घोषणा गर्ने अनुमति
माग्दछु
मलाई मृत्युदण्ड दिइयोस्
यो विचार अपहरित जीवनभन्दा त
मृत्यु कयौं गुणा माथि होला ।
हुन त आफूलाई मेट्नु न हो
सकिन्थ्यो आत्महत्याकै बाटो हिंड्न पनि
तर
शंका र उपशंकाको घेराले मैलिनेछ मेरो
लास
अनि
जल्दै गरेका देहबाट निस्केको धुँवाले पनि
मेरो चरित्रमा धावा बोल्दै
खित्का छोड्ला कि भन्ने डर छ ।
तसर्थ म अपील गर्छु
श्रीमान् ! मेरो सजाय
मृत्युदण्ड होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *