भर्खरै :

‘यात्री वाङ्मय पुरस्कार’ जोशीलाई प्रदान

काठमाडौँ, ३ साउन । पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले वाङ्मय शताब्दी सत्यमोहन जोशीलाई यस वर्षको ‘यात्री वाङ्मय पुरस्कार’ प्रदान गरेको छ ।
साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’को ८४ औँ जन्मजयन्तीका अवसरमा जोशीलाई पुरस्कारस्वरुप नगद रु ५१ हजार तथा अभिनन्दनपत्र प्रदान गरिएको हो । सोही कार्यक्रममा यात्रीको कृतित्वमा स्नातकोत्तरमा सोधपत्र तयार गर्ने लक्ष्मी सुवेदीलाई रु पाँच हजारसहित सम्मान गरिएको थियो ।
केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उहाँलाई पुरस्कार प्रदान गर्दै नेपाली साहित्य तथा भाषाको क्षेत्रमा अन्वेषण गर्नुभएका यात्रीका बारेमा पनि अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वाङ्मय शताब्दी जोशीले नेपाली साहित्यको विकासमा पु¥याएको योगदानको सराहना गर्दै पश्चिमा संस्कृतिको प्रभाव कम गरी स्वदेशी मौलिकतालाई अपनाउनुपर्ने बताउनुभयो ।
वाङ्मय शताब्दी जोशीले हाम्रो मुलुकको इतिहास, संस्कृति विश्वका समृद्ध राष्ट्रका भन्दा विशिष्ट तथा गौरवशाली रहेको भए पनि त्यसबारे हामीले खोजी गर्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले देशको समाजशास्त्रीय खोज तथा पुरातात्विक अन्वेषणका क्षेत्रमा यात्रीले पु¥याउनुभएको योगदानलाई नयाँ पुस्ताले बिर्सन नहुने बताउनुभयो ।
साहित्यकार मित्रलाल पँगेनीले यात्री तथा सम्मानित जोशीले विभिन्न समयमा गरेका महत्वपूर्ण खोजका बारेमा जानकारी गराउनुभएको थियो ।
केन्द्रका अध्यक्ष डा शैलेन्दुप्रकाश नेपालले नेपाली संस्कृति र लोकसाहित्य सिर्जनामा जोशीले विभिन्न कालखण्डमा पु¥याउनुभएको योगदान अहिलेको पुस्तालाई मार्गदर्शन भएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *