भर्खरै :

‘वीर घटोत्कचको बलिदान’

‘वीर घटोत्कचको बलिदान’

जुवामा हारेपछि दरबारबाट निस्केका पाण्डवहरू एवम् उनीहरूका आमा कुन्ती जङ्गलमा यताउति चहार्दै थिए । खाने, सुत्ने, बस्ने कुनै ठेगान थिएन । उनीहरूको हालत खराब भइसकेको थियो । एक रात चार भाइ र आमा वनको एउटा ठुलो पिपलको रुखमुनि सुतिरहेका थिए । माइलो भीमसेन पहरा दिइरहेका थिए । सुनसान रातको समयमा त्यो जङ्गलको अवस्था निकै डरलाग्दो थियो । त्यो वनलाई काम्यक वन भनिन्थ्यो । त्यहाँ हिडिम्ब नामक राक्षसको हैकम चल्थ्यो । राक्षस हिडिम्बले आफ्नी बहिनी राक्षसी हिडिम्बीलाई आफ्नो खानाको लागि आहारा खोज्न पठाए । राक्षसी हिडिम्बी पनि आहारा खोज्न यताउति लागिन् । जाँदाजाँदा ती राक्षसीले पाण्डवहरू सुतिरहेको देखिन् । आहारा देख्दा उनी निकै खुसी भइन् । त्यही बेला तिनले भरिलो जिउ भएको खाइलाग्दो भीमसेनले सुतिरहेका पाण्डव र आमा कुन्तीलाई पहरा दिइरहेको देखेपछि भीमसेनप्रति उनी आकर्षित भइन् । राक्षसीले आफ्नो डरलाग्दो रूप तुरुन्त त्यागी एउटी सुन्दरी युवतीको रूप धारण गरिन् र भीमसेनको सामु पुगी आफू त्यहाँ आउनाको कारण बताइन् । भीमसेनले आफूसित विवाह गर्न तयार भए उनले तिनीहरू सबैको ज्यान बच्ने भनिन् । तर, भीमसेन उनीसित विवाह गर्न तयार भएनन् । राक्षसीले आफ्नो दाजुले उनीहरूलाई मार्छन्, काट्छन् भनेर तर्साए । भीमसेन पनि राक्षससित डराएनन् । बरु, युद्ध गर्न तयार भए । नभन्दै राक्षस हिडिम्ब पनि त्यहीँ आइपुगे र दुवैबिच युद्ध हुँदा राक्षस मारिए । राक्षसी हिडिम्बीले भने भीमसेनको व्यक्तित्वदेखि प्रभावित भई उनलाई मन पराइसकेकी थिइन् ।
राक्षसी हिडिम्बी भीमसेनलाई कुनै पनि हालतमा छोड्नेवाला थिएन । तिनले माता कुन्तीको पाउ समाती भीमसेनसित आफ्नो विवाह गराइदिन हार्दिक अनुनय विनय गरिन् । माता कुन्ती तथा तिनका छोरा पाण्डवहरूले पनि पछि कौरवहरूसित हुनसक्ने ‘युद्ध’ मा यिनी राक्षसीबाट पछि आफूहरूलाई सहयोग प्राप्त हुनसक्ने सम्भावना भएकोले भीमसेनलाई राक्षसीसित विवाह गर्न सल्लाह दिए । यसरी जङ्गलमै भीमसेन र राक्षसी हिडिम्बीबिच विवाह सम्पन्न भयो । आफ्नो गतिलो व्यवहारबाट राक्षसीले पाण्डवहरू तथा माता कुन्तीको मन जितिन् । उनले तिनीहरूलाई निकै प्रभावित पारिन् । समय बित्दै गयो । केही दिनपछि आफ्नो कोखबाट एक पुत्र जन्मेकोले राक्षसी हिडिम्बी निकै खुसी भइन् । किनभने, काम्यक वनका राजा उनको दाजु राक्षस हिडिम्बका उत्तराधिकारीका रूपमा आफ्ना छोरालाई स्थापित गर्न पाउने भयो । यसको लागि पछि पाण्डवहरूले पनि उनलाई सघाए । त्यस बालकको टाउको खुइलिएको र घैँटोजस्तो देखिन्थ्यो । त्यसैले, त्यस बालकको नाम पाण्डवहरूका माता कुन्तीले ‘घटोत्कच’ भनी नामकरण गरिदिए । संस्कृत भाषाको यो घटोत्कच शब्दले घैँटोजस्तो देखिने कपाल खुइलिएको टाउको भन्ने अर्थ दिन्थ्यो ।
घटोत्कचको शरीरको स्वरूप आधी मानवजस्तो र आधी राक्षसजस्तो देखिने विचित्रको थियो । उनको लालनपालन र शिक्षादीक्षा सबै उनकै माता हिडिम्बीबाट भयो । उनले अनेकौँ शस्त्रअस्त्रसम्बन्धी विद्या, मायावी विद्या र थुप्रै युद्ध विद्याहरू आमाबाट सिके । उनी निकै योग्य, वीर एवम् शक्तिशाली भए । यही क्रममा काम्यक वनमा बस्दै आएका पाण्डवहरू एवम् माता कुन्ती, नाति घटोत्कच र राक्षसी हिडिम्बीलाई त्यही वनमा छाडी अन्यत्र लाग्दै वनबास र गुप्तबास बिताउन थाले । दिन, महिना र वर्षहरू बित्दै गए ।
कौरवहरूले राखेको वनबास, गुप्तबास आदि सम्पूर्ण सर्तहरू पूरा गरेपछि पनि पाण्डवहरूलाई राज्य त के पाँच वटा गाउँ पनि दिन कौरवहरू नमानेपछि न्याय, आफ्नो अधिकार र आफ्नो देश तथा राज्य पुनः प्राप्तिका लागि अन्ततः पाण्डवहरू कौरवहरूसित कुरु क्षेत्रमा महायुद्ध गर्न बाध्य भए । वास्तवमा यो महायुद्ध कौरवहरूका मामा गान्धार राज्यका नरेश शकुनी र भगवान् कृष्णबिचको युद्ध थियो । पाण्डव, कौरव र उनीहरूका सैनिकहरू त निमित्त मात्रै थिए । पितामह भिष्मको पौरख र वीरताको अगाडि आफ्नो केही नचलेकोले शकुनीले आफ्नी बहिनी गान्धारीको विवाह अन्धो धृतराष्ट्रसित हुँदा पनि लाचार भई बस्नुपरेको थियो । त्यसको बदलास्वरूप उनी पाण्डव कौरवहरूको सम्पूर्ण वंश नै नाश गर्न चाहन्थे । उनको हरेक गतिविधि, नीति, चालबाजी सबै यही उद्देश्य प्राप्तिको लागि केन्द्रित थियो भने भगवान् कृष्ण पाण्डवहरूलाई विजयी तुल्याई धर्तीमा न्याय, शान्ति, सुव्यवस्था स्थापित गर्न चाहन्थे । यसको लागि उनी नररूपी अर्जुनलाई नै नारायणको रूपमा स्थापित गर्न चाहन्थे । कुरु क्षेत्रमा पाण्डव र कौरवहरूबिच घमासान युद्ध भयो । दुवै पक्षबाट थुप्रै समर्थक वा सैनिकहरू युद्धमा सहभागी भए । धेरैले वीरगति प्राप्त गरे । लाखौँ साधारण जनता, दासदासी, गरिबहरूले अनेकौँ प्रकारका दुःखकष्ट भोग्नुप¥यो । महाभारत युद्धको दौरानमा अर्जुनद्वारा जयद्रथको हत्या भएपछि कौरवहरू अत्यन्त क्रोधित भए । कौरव सेनाको नेतृत्व गर्दै पाण्डवहरूका विरुद्ध युद्धको मैदानमा द्रोणाचार्य र कर्ण आइपुगे । उनीहरूले धेरै पाण्डव सेनाको संहार गरे । कसैले उनीहरूलाई रोक्न सकेको थिएन । यस्तो अवस्थामा भगवान् कृष्णको सल्लाहअनुसार महारथी कर्णको अगाडि भीमसेन र राक्षसी हिडिम्बीका पुत्र घटोत्कच आइपुगे ।
महारथी कर्णले कौरव सेनाको नेतृत्व गर्दै थिए भने वीर घटोत्कचले पाण्डव सेनाको । दुवै पक्षबिच खुबै टक्कर प¥यो । युवराज दुर्याेधनले त्यही समयमा आफ्नो राक्षसी सेनालाई युद्धको मैदानमा पठाए । तिनीहरूसित वीर घटोत्कचले डटेर युद्ध गरे । उनले बल, बुद्धि, क्षमता मात्र होइन, आफ्नो मायावि शक्तिको पनि खुब प्रयोग गरे । उनी आफ्नो शरीरलाई धेरै सानो मात्र होइन, अत्यधिक विशाल पर्वतजस्तो पार्न सक्दथे । विभिन्न किसिमका अद्भूत शस्त्रअस्त्रहरू पनि प्रयोग गर्न जान्थे । त्यसैले घटोत्कचले दुर्याेधनले पठाएका अलम्बुसा, अलयोद्धा र अन्य थुप्रै राक्षसहरू मारे । अरु हजारौँ कौरव सेनाहरू मारी उनले हाहाकार मच्चाए । कौरवहरूको यस्तो दयनीय अवस्था देखेर क्रुद्ध भएका कर्णले घटोत्कचमाथि वाणहरूको वर्षा गरिरहेका थिए । तर, ती सम्पूर्ण वाणहरूको प्रहारबाट घटोत्कचको शरीरको एउटा रौँ पनि झरेको थिएन । यस्तो स्थिति देखेर कर्ण आफैँ ताज्जुब भई बसेका थिए । युवराज दुर्याेधनले सोचे कि युद्धमा घटोत्कचको उपस्थिति यस्तै रहेमा कौरवहरूको हार निश्चित छ । त्यसैले, उनले नजिकै गएर कर्णलाई देवराज इन्द्रबाट प्राप्त भएको एकपटक मात्र प्रयोग गर्न सकिने एउटा अचुक अस्त्र जसलाई कर्णले अर्जुनलाई मात्र प्रहार गर्न साँचिराखेको थियो । सोही अस्त्र घटोत्कचमाथि प्रहार गरी उनको हत्या गर्नेबाहेक अर्काे कुनै उपाय छैन भनी सम्झाए । स्थिति निकै गम्भीर थियो । कर्ण अलमलमा परे । अन्ततः वीर घटोत्कचलाई मार्ने अरु कुनै उपाय नदेखेपछि कर्णले देवराज इन्द्रबाट प्राप्त अस्त्र घटोत्कचमाथि प्रहार गरे । उनको मृत्यु निश्चित थियो । अतः पाण्डवहरू तथा पिता भीमसेनको अनुरोधमा आफू मर्नुभन्दा अगाडि घटोत्कचले आफ्नो शरीरलाई अति विशाल बनायो । उनको शिर काटिएर पातालतिर फ्याँकियो । उनको विशाल शरीर कौरव सेनातिर ढल्यो र त्यसबाट किचिएर हजारौँ कौरव सेना मारिए । अस्त्र आफैँ देवराज इन्द्रकोमा फर्के ।
यसरी राक्षसी आमाबाट राक्षसी स्वभाव र शक्ति प्राप्त भएका घटोत्कचले आफ्नो बल, बुद्धि, शक्ति, विद्या र शरीर सबै न्याय, अधिकार र सत्य प्राप्तिको लागि बलिदान गरे । मानवीय स्वभाव भएका मानिसहरूले अन्याय, असमानता, दमन, शोषण, उत्पीडन आदिको विरुद्ध प्रयत्नशील हुनैपर्दछ भन्ने सन्देश यस कथाबाट हामीले पाउँदछौँ ।
सन्दर्भ ग्रन्थहरू
१. अमोधसिद्धि – धार्मिक कथाहरू
२. कमल रिजाल – पौराणिक पात्र र मिथकहरू
३. प्रकाशमणि दाहाल – महाभारतका कथा
४. शिवप्रसाद घिमिरे – महाभारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *