भर्खरै :

जुम्लामा पनि गाईजात्रा मनाइयो

जुम्ला, २५ साउन । दिवंगत आत्माको सम्झना गर्दै जुम्लामा सांस्कृतिक पर्व गाईजात्रा मंगलबार धुमधामका साथ मनाइएको छ ।
यो वर्ष दिवंगत भएका मीनबहादुर रोकाया, प्रकाश श्रेष्ठ र दुर्गा विकको घरबाट गाईजात्रा निकालिएको थियो । दिवंगत आत्माको सम्झना साथै चिरशान्तिको कामना गर्न र शोकाकुल परिवारको दुःख मेटाउन वर्षेनी गाईजात्रा पर्व मनाउने गरिएको जात्रा समितिका महासचिव आनन्द अधिकारीले जानकारी दिनुभयो ।
तत्कालीन राजा प्रताप मल्लको रानी शोकमा डुब्दा उनको शोक मेटाउन गाईजात्रा निकाल्ने संस्कृति बसालेसँगै यसलाई पर्वका रुपमा मनाउँदै आएको उहाँले बताउनुभयो ।
जात्रा संस्कृतिका संरक्षक चित्रलाल श्रेष्ठले जुम्लामा नेवारले विसं १९५३ देखि शुरुवात गरेपछि यो संस्कृतिका रुपमा स्थापित भएको बताउनुभयो । हामी नेवारले मनाउने यो संस्कृति पछिल्लो समयमा सामाजिकीकरण हुँदै गएको छ, जहाँ क्षेत्री, पुरी, भारती, गिरी र दलितले पनि मनाउन थालेका छन्, संरक्षक श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार साउन २४ गतेदेखि जुम्लामा औपचारिक रुपमा जात्रा पर्व शुरु भएको छ ।
यसैगरी, आज रोपाइँ जात्रा, साउन २६ गते मीनबासा (पल्टनजात्रा), साउन २७ गते बाघभालु जात्रा मनाइने जात्रा समितिले जनाएको छ । एक महिना लामो समयसम्म सञ्चालन हुने जात्रापर्व कृष्ण जन्माष्टमीसँगै असत्यको प्रतीक कंसको बध गरेर सम्पन्न गर्ने प्रचलन जुम्लामा रहिआएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *