भर्खरै :

वाम आन्दोलनको बद्नाम गर्न वाम ‘एकता’

कथित वाम एकता भएको दुई साता पनि नबित्दै नयाँ शक्ति पार्टी गठबन्धन त्यागेर अर्को गठबन्धनमा मिल्न गयो । नयाँ शक्तिका नेताहरूले वाम गठबन्धनकै विरूद्धमा उम्मेदवारीसमेत दिए । अब ‘वाम गठबन्धन’ भित्र दुई वटा गैरवामपन्थी दल बाँकी छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आइतबार प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयनसँगै बाँकी बचेको गठबन्धनमा पनि अनेकन ढाँजाहरू देखापरेका छन् । आगामी कार्तिक १६ गते अर्को चरणको उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । त्यत्तिबेलासम्म एमाले र माओवादी केन्द्रको यो घोडाको मिलनको अवस्था कस्तो हुने होला, हेर्न बाँकी नै छ । तर बिहानीले दिनको सङ्केत गर्दछ भन्ने उखानजस्तै वाम गठबन्धन नाम दिइएको यो कृत्रिम एकताको हालत अन्ततः कस्तो होला, अहिले नै अनुमान गर्न सक्दछौं ।
एमाले र माओवादी केन्द्रमात्र हुँदा आफूभित्रका गुट–उपगुट व्यवस्थापन गर्न तिनलाई हम्मेहम्मे हुने गरेको विगत सबैलाई थाहा छ । चुनावमा हुने अन्तर्घातको कुरा तिनका लागि नयाँ कदापि होइन । वाम एकताको कृत्रिम घोषणा गर्न केही घण्टासम्म पनि एक अर्कोसँग पानी बाराबारको सम्बन्धमा रहेका राजनीतिक दलहरूले अब निर्वाचनमा आफ्ना नेता–कार्यकर्ताको मन कसरी राख्ने हुन्, हेर्न बाँकी छ । सत्ता र पदका लागि एकता भएकोले वाम गठबन्धनभित्रका पार्टीभित्र अन्तर्घातका समाचार आउन धेरै दिन पनि कुर्न नपर्ला  ।
दोलखाबाट एक जना एमालेका कार्यकर्ताले हिजो आफूलाई एमाले भएकै कारण मार्न लागेका माओवादी नेतालाई कसरी भोट माग्न जाने भनी आफ्ना नेतालाई खुलापत्र लेखे । माओवादी केन्द्रका कार्यकर्ताहरूका मनभित्र पनि आफ्नो स्कूलिङअनुसार एमालेप्रति घृणाभाव हट्ने कुरै छैन । मुखले चोचोमोचो मिलाए पनि तिनमा द्वैष अब हुँदैन भन्नु झूठमात्र हुनेछ ।
कुनै पनि राजनीतिक दलबीचको एकता वा विभाजनको सैद्धान्तिक आधार हुने गर्दछ । तर नेपालका शासक दलहरूलाई विभाजन र एकता हुन कुनै विशेष दिनको प्रतीक्षा आवश्यक हुने गर्दैन । यो राजनीतिक अनैतिकताको सङ्केत हो । कुनै दिन माओवादी केन्द्र र काङ्ग्रेसको सरकार बन्दा पनि यहाँ कसैले त्यसको राजनीतिक र वैचारिक आधारबारे बताउनु आवश्यक ठानिएन । एमाले र राप्रपाको सरकार बन्दा पनि संसदभित्रको अङ्कगणितबाहेक पुष्टि गर्ने कुनै आधार रहेन । फलतः आज राजनीतिमा कुनै अनुशासन र नैतिकताको आवश्यकता हुने मान्यताको खडेरी परेको छ ।
राजनीतिको अन्तिम लक्ष्य सत्ता प्राप्त हो । तर सत्ताप्राप्तिको लागि कुनै अनुशासन वा नैतिकताको पालना नगर्ने र मात्र सत्तालाई नै केन्द्रमा राखी काम गर्नु अराजनीति हो । यसलाई फोहोरी राजनीति भन्नुपर्छ । आज वामपन्थ एकताको नाममा फेरि एकपटक नेपालमा सत्ता राजनीतिको घिनलाग्दो नाटकको मञ्चन भइरहेको छ । यो गठबन्धनले देखाउने विकृतिले जनताबीच कम्युनिष्ट विचारप्रति बाँकी रहेको आस्थामा नै आक्रमण हुने पक्का छ र यो गठबन्धनका योजनाकारहरूको खास उद्देश्य पनि नेपालमा वाम र कम्युनिष्टहरूलाई बद्नाम गर्नु भएको कुरा बुझ्न नेपाली जनताले ढिलाइ गर्नुहुँदैन ।
२०७४ कार्तिक ७ गतेको ‘मजदुर’ दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *